पुँजीवादी विचारविरुद्ध सङ्घर्ष गर्नु आवश्यक
- कार्तिक २४, २०८२

काठमाडौँ, १८ मङ्सिर । राजनीतिक दल दर्शन र वर्ग आधारमा गठन र सञ्चालन हुुनुपर्ने हो । तर, संसद्वादी दलहरूमा यो प्रतिबद्धता यसपटकको स्थानीय तहको उपनिर्वाचनमा पनि देखिएन ।
मोरङ जिल्लाको ग्रामथान गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझी निर्वाचित भयो । माझी गत भदौमा माओवादी केन्द्र प्रवेश गरेका थिए । यस अगाडि २०७४ सालको स्थानीय तहको निर्वाचनमा फोरम लोकतान्त्रिकबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । फोरम पार्टी नेकामा एकीकरण भयो । २०७९ सालको स्थानीय चुनावमा माझीले नेकाबाट उम्मेदवारी पाएनन् । माझीलाई दल फेरिरहने आरोप छ । हुन त संसद्वादी दलहरू नेका–एमाले–माओवादीमा फूलको माला र टीका लगाएर पार्टी प्रवेश गराउने भइरहेको छ । उनीहरूको कुनै दर्शन र वर्ग आधारमा पार्टी चल्दैन ।
संसद्वादी दलहरूको व्यवहारले उनीहरूको दर्शन पुँजीवादी र वर्ग आधार शोषक वर्ग भएको पुष्टि हुन्छ । यसकारण, यी दलहरूलाई शोषित वर्गले मत दिनु भष्मासुरलाई वरदानजस्तै हो । कामदारवर्गका जनता राजनीतिकरूपमा सचेत र सङ्गठित नहुँदा एउटा संसद्वादी दलको विकल्प अर्काे संसद्वादी दललाई मत हाल्ने भइरहेको छ । यसले शासन सञ्चालनमा तात्विक फरक पर्दैन ।
संसद्वादी दलहरूले स्थानीय तहको यो उपनिर्वाचनमा पनि पैसा र सामान बाँड्ने, भोज खुवाउने चालु राखेको सार्वजनिक भयो ।
एउटा राजनीतिक पार्टीले सदस्यता दिनुपूर्व परीक्षण गर्नु जरुरी हुन्छ । संसद्वादी दलहरूमा कतिपय शोषकहरू एकै पटक केन्द्रीय सदस्यसमेत भइरहेका छन् । संसद्वादी दलहरू अनुशासित बनाउन जनताले उम्मेदवारको पृष्ठभूमि पनि अध्ययन गर्नु आवश्यक छ ।
कतिपय देशमा सरकारी कर्मचारी भइसकेकाहरू निर्वाचनमा उठ्न नपाउने व्यवस्था छ । नेपालमा तोकिएको भन्दा बढी सम्पत्ति भएकाहरू निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था गर्नु जरुरी छ । हालै सम्पन्न अमेरिकी राष्ट्रपतिको चुनावमा खर्ब डलरपति एलन मस्कको सहयोगमा अर्ब डलरपति ट्रम्पको आरोहणले सामान्य जनताको अधिकार अतिक्रमण हुने सङ्केत देखाएको छ ।
Leave a Reply