भर्खरै :

जनप्रतिनिधिहरू इमानदार र निःस्वार्थी हुनुपर्छ

स्थानीय तहमा लामो समयदेखि रिक्त रहेका जनप्रतिनिधिहरू पूर्ति भएका छन् । मङ्सिर १६ गते भएको उपनिर्वाचनमा जनप्रतिनिधिहरू निर्वाचित भएपछि अब जनताका दैनिकी काम कारबाहीहरू सहजसँग हुने विश्वास लिइएको छ । नगरपालिका र गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरूले इमानदारीपूर्वक काम गर्ने जनताको विश्वास हो । जनप्रतिनिधि देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्न, विकासको निम्ति छुट्याइएको रकम पूर्णतः लागु गर्न, पद दुरूपयोग गरी अकुत सम्पत्ति कमाउनेतर्फ नलाग्ने विश्वास पनि जनताको हो । निर्वाचनमा जनतामाझ गरेका प्रतिबद्धता लागु गर्न जनप्रतिनिधिहरू कम्मर कसेर लाग्नुपर्छ । कसैलाई पनि काखा र पाखा नगरी नगरपालिका र गाउँपालिकाको नियमभित्र रहेर काम गर्ने दायित्व हरेक जनप्रतिनिधिहरूको हो । आ–आफ्नो स्थानीय तहमा उदाहरणीय काम गर्न सके जनताको विश्वास अझ बढ्नेमा शङ्का छैन ।
जनप्रतिनिधिहरूले आ–आफ्नो नगर र गाउँपालिकाका वडाहरूमा विकास योजनाका कार्यहरू उपभोक्ता समितिमार्फत गरे काम गुणस्तरीय हुन्छ, जनताको अपनत्व हुन्छ, आर्थिक सहयोग र जनश्रमदानका साथै थोरै रकममा धेरै काम हुने विश्वास छ । उपभोक्ता समितिबाट बसेर होस् या नबसी काम गर्ने व्यक्तिहरू इमानदार हुनुपर्छ । पहिले विभिन्न जिल्लाका नपा र गाउँपालिकाहरूमा उपभोक्ता समितिमार्फत काम गर्दा विकासको रकम चुहेको, अनियमितता भएको, पैसा बाँडीचुँडी लिएको जस्ता खबर प्रकाशमा आएको थियो । विकासको रकममा आँखा गाड्ने या पाइला पाइलामा पैसाको निम्ति काम गर्ने व्यक्तिहरूको कारण उपभोक्ता समितितर्फ सरकारको विश्वास गुमेको कुरा पनि प्रकाशमा आएको थियो । तर, सबै नगरपालिका र गाउँपालिकाका वडाहरूमा भ्रष्टाचार, अनियमितता या चुहावट हुन्छ भन्ने कुरा होइन । यसतर्फ जनप्रतिनिधिहरू गम्भीर हुनुपर्ने देखिन्छ । उपभोक्ता समितिमा बसेर काम गर्ने व्यक्तिहरूलाई प्रशिक्षित गर्नुपर्ने देखिन्छ ।
हरेक विकासको काम ठेक्कामा दिँदा स्थानीय जनताले काम नपाउन सक्छ । ठेक्का फाइदाको निम्ति लिने भएकोले कति काम कमसल हुन्छ । ठेक्कामा गरिएको काममा जनश्रमदान हुँदैन; आर्थिक सहयोग हुँदैन । विकासको निम्ति छुट्याइएको रकम सबै प्रयोग हुँदैन । यसकारण, स्थानीय तहले गर्ने काम ठेकेदारलाई नदिई उपभोक्ता समितिमार्फत काम गराउनु जाती नै हुनेछ । सत्तासीन दलका नेता, मन्त्री र सांसदहरूले पैसाको भरमा राजनीति गरेको कारण जनतामा पनि त्यहीँ रोग सरेको हो । निर्वाचनमा पैसा र सामान बाँड्ने, भोज खुवाउने, अन्य लोभलालच देखाएर मत लिने कार्य गरिएको कारण नगर र गाउँका वडामा काम गर्ने शासक दलका कार्यकर्ता र सर्वसाधारण जनताको मन बिग्रिएको हो; बिनापैसा मत नहाल्ने बानी परेको हो । निर्वाचनमा पैसा बाँड्नु र पैसाको आधारमा मतदान गर्नु दुवै गलत हो ।
जनप्रतिनिधिहरू इमानदार र निःस्वार्थी हुनुपर्छ । घूस खाने, ढिलासुस्ती गर्ने, पक्षपात गर्ने जनप्रतिनिधिहरूप्रति जनताको विश्वास हुँदैन । नगरपालिका, गाउँपालिका र वडाहरूमा आएको जनताको समस्या सल्लाह गरेर समाधान गरे, विकास कार्य गर्न र गराउन जनसमुदायसँग छलफल गरिए काममा सहज हुन्छ र काम गर्न सजिलो हुन्छ । अतः जनप्रतिनिधिहरू देश र समाजप्रति समर्पित र जिम्मेवार हुनुपर्छ । जनप्रतिनिधिहरू जनताको दुःखसुख बुझ्न जनतामाझ पुग्नुपर्छ; गाउँ र नगरको समस्या बुझ्न फिल्डमा जानुपर्ने हुन्छ । नपा र गाउँपालिकाको प्रमुख समस्यालाई प्राथमिकता दिएर काम गर्नुपर्ने हुन्छ । वडामा बिजुली, खानेपानी, सडक, स्कूल, स्वास्थ्य केन्द्र आदिको व्यवस्था छ कि छैन बुझेर निकास खोज्नुपर्ने हुन्छ ।
हरेक जनप्रतिनिधिले आफ्नो दायित्व भुल्नु हुँदैन । जाँड रक्सी खाएर हो हल्ला गर्ने, आपराधिक काममा फस्ने जनप्रतिनिधिहरू सच्चा जनप्रतिनिधि हुँदैनन् । उच्छृङ्खल र उत्ताउला गतिविधिमा सरिक हुने, अमानवीय व्यवहार गर्ने जनप्रतिनिधिहरू जनताका सेवक कसरी हुन्छन् ? जनप्रतिनिधि जनताको सेवा गर्न हो; जनताको सेवामा अघि बढ्न हो । जनताको सेवामा सरिक नहुने, जनतालाई टेरपुच्छर नगर्ने जनप्रतिनिधिहरू जनताका सच्चा सेवक हुनसक्दैनन् । असल, इमानदार, निःस्वार्थी जनप्रतिनिधिले जनताको समस्या बुझेर काम गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *