राजनीतिक पार्टी भीड होइन सिद्धान्त र विचारले दीक्षित सङ्गठित शक्ति हो
- कार्तिक २१, २०८२

भक्तपुर, १९ मङ्सिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छँे (रोहित) ले शिक्षकहरूले विद्यार्थीहरूलाई साक्षर बनाएर मात्र नपुग्ने बरु देशको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिकलगायत विषयमा जानकार बनाउनुपर्ने बताउनुभएको छ ।
बुधबार चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीस्थित देवी माविको ५६ औँ वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिको रूपमा मन्तव्य व्यक्त गर्दै अध्यक्ष बिजुक्छेँले शिक्षालाई व्यापारको वस्तु बनाउन दिन नहुने बताउनुभयो ।
उहाँले भक्तपुरलाई शिक्षा र स्वास्थ्यको केन्द्रसँगै भ्रष्टाचाररहित जिल्लाको नमुना बनाउने सोच नेमकिपाले राखेको तर विपक्षीहरूले अनेक तरहले त्यसमा बाधा हालेको बताउनुभयो ।
विद्यालयको विकाससँगै विद्यालयको बजेट ठुलो रकमको हुने र त्यहाँ अनियमितता र भ्रष्टाचारको नियत आउनसक्नेतर्फ सबैजना सचेत र सजग रहनुपर्नेमा जोड दिँदै उहाँले मित्रको रूपमा अगाडि आउने लोभीलालचीहरूको सुझावदेखि सजग हुनुपर्ने बताउनुभयो ।
उहाँले भवन र पूर्वाधार निर्माणमात्र विद्यालयको विकास नहुने बरु शिक्षकहरूलाई योग्य बनाउनमा लगानी गर्नुपर्ने बताउँदै शिक्षकहरू योग्य भएनन् भने शैक्षिक गुणस्तर कायम नहुने औँल्याउनुभयो ।
समारोहमा चानपा वडा नं. ९ का वडाध्यक्ष गणेश त्यातले समाजको वास्तविक विकासका लागि शिक्षाको विकास अनिवार्य रहेको बताउँदै चानपाको शैक्षिक विकासमा देवी माविको पनि उल्लेखनीय योगदान रहेको बताउनुभयो ।
उहाँले शैक्षिक गुणस्तर वृद्धि गर्न स्थानीय सरकारसँगै शिक्षक, अभिभावक र विद्यार्थीहरूको पनि समान भूमिका रहने बताउनुभयो ।
सार्वजनिक परीक्षा समिति भक्तपुरका अध्यक्ष एवं शारदा माविका प्रअ रोशनराज तुईतुईले सार्वजनिक विद्यालयको उन्नति र प्रगतिमा स्थानीय समुदायको साथ र सहयोग महत्वपूर्ण हुने बताउँदै देवी माविको उन्नति र प्रगति त्यसको उदाहरण हो भन्नुभयो ।
चानपाका कार्यपालिका सदस्य एवं चानपा वडा नं. ९ का महिला वडा सदस्य कमला गिरी भारतीले सबैका निम्ति शिक्षा भन्ने नारा दिँदा पनि राज्यले शिक्षालाई पूर्णतया निःशुल्क गर्न नसकेको बताउँदै समाजवादी व्यवस्थामा मात्र शिक्षा पूर्णतया निःशुल्क हुने र समस्या समाधान हुने बताउनुभयो ।
उहाँले छोरा र छोरी कसैमाथि पनि विभेद नगरिकन शिक्षाको अवसर प्रदान गर्नुपर्ने बताउनुभयो ।
विद्यालयका निवर्तमान प्रधानाध्यापक राजाराम छुकांले अनेक सङ्घर्षको फलस्वरूप देवी मावि पराले झुपडीबाट थालनी भएर आजको प्रगतिसम्म आइपुग्न सफल भएको अनुभव बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं स्थानीय समाजसेवी कृष्णराम बासुकलाको सभापतित्वमा सम्पन्न समारोहमा विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर थुयाजूले प्रगति प्रतिवेदन पेस गर्नुभयो भने सहायक प्रअ राजेन्द्र साखकर्मी, शिक्षक राजन कपाली र घनश्याम खड्काले पनि बोल्नुभयो ।
समारोहमा प्रमुख अतिथि अध्यक्ष बिजुक्छेँले विद्यालयमा २५ वर्षसम्म शिक्षण गरेका शिक्षक र कर्मचारीहरूलाई स्वर्णपदकसहित दीर्घ सेवा, २० वर्ष र १० वर्ष शिक्षण गरिसकेका शिक्षकहरूलाई कदरपत्रसाथ सम्मान गर्नुभएको थियो । कार्यक्रममा विद्यालयबाट २०७९ र २०८० को एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याई उत्तीर्ण विद्यार्थीहरूलाई पदक, पुरस्कार र मायाको चिनो प्रदान गरिएको थियो भने कक्षागत रूपमा उत्कृष्ट र विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।
Leave a Reply