भर्खरै :

भक्तपुर महोत्सव व्यवस्थापनको लागि संस्कृतिकर्मीहरूको भेला

भक्तपुर महोत्सव व्यवस्थापनको लागि संस्कृतिकर्मीहरूको भेला

भक्तपुर, १९ मङ्सिर । भक्तपुर महोत्सवमा प्रदर्शन हुने सांस्कृतिक गतिविधि व्यवस्थापनको लागि बुधबार भक्तपुर नगरपालिकाको आयोजनामा संस्कृतिकर्मीहरूको भेला कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महोत्सव व्यवस्थापनको लागि सरोकारवाला निकायहरूसँग नियमित छलफल र बैठकहरू हुँदै आएको बताउँदै भक्तपुरको जीवनशैली, खानपान, शैक्षिक गतिविधि, सांस्कृतिक गतिविधि, परम्परागत सीप र खेलकुदलगायत गतिविधि प्रदर्शन गर्ने उद्देश्यले भक्तपुर महोत्सवको आयोजना भएको बताउनुभयो ।
भक्तपुरको दिगो पर्यटन विकास र प्रवद्र्धनमा पनि महोत्सवले विशेष टेवा पु¥याउने उल्लेख गर्दै उहाँले पाँचदिने महोत्सवलाई उल्लासमय बनाउन सबैको साथ र सहयोगले मात्र सम्भव हुने बताउनुभयो ।
भक्तपुरका परिश्रमी जनताको अथक मेहनत र परिश्रमले भक्तपुरको विकास अगाडि बढेको हो भन्दै उहाँले यो महोत्सवले भक्तपुरबारे अध्ययन अनुसन्धान गर्ने अध्येताहरूको लागि राम्रो अवसर पनि हुने बताउनुभयो ।
सम्पदा पुनःनिर्माणमा भक्तपुर नपाले विदेशी सङ्घ संस्थाबाट कुनै सहयोग नलिएको प्रसङ्ग जोड्दै स्थानीय जनताकै साथ र सहयोगमा भक्तपुरको पुनःनिर्माण सम्पन्न भएको हो भन्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले लोप भइसकेका सम्पदाहरूको उत्खनन् गरी मौलिक स्वरूपमै पुनःनिर्माण गर्ने प्रयत्न गरिरहेको बताउँदै लोपोन्मुख सम्पदाहरूलाई संरक्षण गर्ने कार्यलाई पनि चालु राखेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवम् भक्तपुर महोत्सव सांस्कृतिक कार्यक्रम व्यवस्थापन समितिका संयोजक रवीन्द्र ज्याख्वले महोत्सवमा हुने सांस्कृतिक प्रदर्शनी व्यवस्थापन गर्ने विषयमा प्रस्ट पार्नुभयो । उहाँले सांस्कृतिक प्रस्तुतीअन्तर्गत १४८ वटा दर्ता भइसकेको जानकारी गराउनुभयो । महोत्सवकै अवसरमा २९ गते क्वाठण्डौ टोलमा खुला बाँसुरी प्रतियोगिता आयोजना हुने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर महोत्सव सचिवालय संयोजक गौतमप्रसाद लासिवाले भक्तपुरको अहिलेसम्मको तयारीबारे प्रस्ट पार्नुभयो । उक्त कार्यक्रममा समितिका सदस्य हेरा ख्याजुले पनि महोत्सवको आकर्षणबारे प्रस्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *