भर्खरै :

उपनिर्वाचनमा आचारसंहिताको खुला उल्लङ्घन

उपनिर्वाचनमा आचारसंहिताको खुला उल्लङ्घन

मङ्सिर १६ गते रिक्त रहेका ठाउँहरूमा उपनिर्वाचन भएको थियो । निर्वाचनको सिलसिलामा निर्वाचन क्षेत्रमा निर्वाचन आचारसंहिताविपरीत नेपाली काङ्ग्रेस, एमाले, माओवादीलगायतका संसदीय पार्टीहरूले चुनाव चिह्न भएका ठुलठुला झन्डा, ब्यानर, पोस्टर सार्वजनिक स्थल र घरहरूमा राखेर प्रचार प्रसार गरेको पाइयो ।
निर्वाचनको दिन मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका वडा नं. १२ मा २०७९ को निर्वाचनमा वडा अध्यक्ष एकजना माओवादी र ४ जना सदस्य एमालेका निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा नेपाली काङ्ग्रेसभन्दा २० मत र एमालेभन्दा ४७ मतले माओवादी अध्यक्ष जितेका थिए । अध्यक्ष जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि उक्त पद रिक्त रहेको थियो ।
रिक्त पदमा निर्वाचनको बेलामा नेपाली काङ्ग्रेस, एमाले, माओवादी पार्टीले निर्वाचन आचारसंहिताविपरीत प्रचार प्रसार गरे र निर्वाचनको दिन मतदान केन्द्र नजिक मतदाताहरूलाई मासु–भात, जाँड–रक्सी ख्वाएर मतदानमा प्रभावित पारे ।
निर्वाचन प्रचार प्रसारको नाममा टोल टोल र गाउँ गाउँमा मतदाता प्रभावित पार्न झूटा आश्वासन र युवा पुस्ताहरूलाई पैसा बाँडेर भ्रष्ट पारेको देखिन्छ । यसले गर्दा देश प्रगतिभन्दा दुर्गतितर्फ जानेछ ।
जबसम्म निर्वाचनलाई इमानदारीपूर्वक देश र जनतालाई सेवा गर्ने भावना ती पार्टीहरूले प्रेरित गर्दैनन् तबसम्म निर्वाचन झूटाजस्तै हुनेछ । संसद्वादी दल सम्झेर स्थानीय युवाहरूले घोषणापत्रको आधारमा चुनाव लडेको पार्टीसँग पनि पैसा मागेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *