यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
कार्यकर्ताको काम तनमन लगाएर जनताको सेवा गर्नु हो । जनसमुदायमा रहेर जनताको दुःख सुख बुझेर भिज्नु हो । कार्यकर्ताहरू जनसमुदायप्रति जिम्मेवार हुनु हो । जुनसुकै दर्जाका कार्यकर्ताहरू जनताका सेवक हुन् । पार्टीको सिद्धान्त र विचार जनताको घर आँगनमा पु¥याउने काम कार्यकर्ताको हो । जनतालाई सुसूचित पार्ने, सांस्कृतिक स्तर उठाउने र सिद्धान्तनिष्ठ बनाउने काम कार्यकर्ताले गर्ने हुँदा कार्यकर्ताहरू जनताका आँखाका नानी सरहका हुन्छन् । पार्टीको सङ्गठन विस्तार गर्ने, परिवर्तनको निम्ति वातावरण तयार गर्ने, पार्टीको उद्देश्य जनतामाझ पु¥याउने, वर्ग शत्रुले गर्ने षड्यन्त्रप्रति सचेत पार्ने काममा कार्यकर्ताको महत्वपूर्ण हात हुन्छ । कम्युनिस्ट पार्टीका कार्यकर्ताहरू त झन् बढ्ता सक्रिय हुनुपर्छ; सक्रिय भएर अघि बढ्नुपर्छ । कार्यकर्ताहरू निष्क्रिय भएमा, जनतामाझ नपुगेमा जनता पछि पर्छ; समाज पछि पर्छ । समाज पछि परेमा विकास पछि पर्छ । विकास पछि परे जनताको जीवनस्तर माथि उठ्दैन । यसकारण, कार्यकर्ताहरू सक्रिय हुनुपर्छ; नम्र र विवेकी हुनुपर्छ; सजग हुनुपर्छ ।
कार्यकर्ताहरूमा आलोचनात्मक भावना हुनुपर्छ । आफ्ना काममा रहेका कमी र गल्तीहरू सच्याउने आँट हुनुपर्छ । आफ्नो गल्ती ढाकछोप गर्ने, सिद्धान्त र विचार बङ्ग्याउने, झूट फलाक्ने काम छोड्नुपर्छ । समस्यासँग जुध्ने, समस्या समाधान गर्न अघि सर्ने, आइपरेको चुनौतीको सामना गर्ने, आपतविपत् र सङ्कटमा साथ दिने काममा कार्यकर्ता निरन्तर खटिरहनुपर्छ । कार्यकर्ताहरू समाजमा देखिएका विकृति, विसङ्गति, अन्धविश्वास, कुरीति अन्त्य गर्नेतर्फ लाग्नुपर्छ । कार्यकर्ताहरू पार्टी अनुशासनमा बस्नुपर्छ; आर्थिक अनियमितताबाट जोगिनुपर्छ । समाजमा बदनाम हुने, आफ्नो चरित्रमा दाग लाग्ने कामबाट जहिल्यै अलग्ग हुनुपर्छ । आदर्शोन्मुख समाज स्थापना गर्न कार्यकर्ताहरूले उदाहरणीय काम गर्नुपर्छ ।
पार्टीका कार्यकर्ताहरू जनताको बुइँ चढेका शासकहरू होइनन् । उनीहरू श्रमजीवी जनतासँग निरन्तर र घनिष्ठ सम्पर्क राख्छन्; राखिरहेका हुन्छन् । समाजवादी व्यवस्थाको निम्ति यो आवश्यक छ । कार्यकर्ताहरू आफ्नो स्वार्थलाई प्राथमिकता राख्दैनन्; उनीहरू घमण्डी हुँदैनन् । उनीहरू आलस्य हुँदैनन् । उनीहरू जहिल्यै जागरूक हुन्छन्, उत्साही हुन्छन्, आँटिला र जाँगरिला हुन्छन् । उनीहरू निःस्वार्थपूर्वक देश र जनताको सेवामा जुट्छन् । उनीहरू वर्गीय राजनीति गर्छन्; वर्ग शत्रु र वर्ग मित्र चिनाउन अघि सर्छन् । यस्ता गुण र कार्यशैली प्रत्येक कार्यकर्तामा हुनुपर्छ । सच्चा कार्यकर्ताहरू दृढ अडानमा रहन्छन्; सिद्धान्त र विचार फेर्दैनन् । सिद्धान्त र विचारको आधारमा कार्यकर्ताहरू राजनीति गर्छन् । राजनीतिक दिशा सुनिश्चित भएका कार्यकर्ताहरू छिनछिनमा विचार फेर्दैनन् ।
विचारलाई व्यवहारमा परिणत गर्न कार्यकर्ताहरू हौसिनुपर्छ । विचारलाई व्यवहारमा परिणत गर्न कार्यकर्ता एकगठ हुनुपर्छ । कार्यकर्तालाई बेलाबखत समायोचित निर्देश गरिरहनुपर्ने हुन्छ; खुराक दिएर उत्साहित गरिरहनुपर्ने हुन्छ । कार्यकर्ताको स्तर उठाउन बेलाबखत मार्ग निर्देश गरिरहनुपर्ने हुन्छ । उनीहरूलाई अध्ययन गर्ने अवसर दिएर शिक्षित पार्नुपर्छ । कार्यकर्ताका कठिनाइ बुझ्नुपर्छ । आर्थिक सङ्कट पर्दा, बिरामी हुँदा या अरू आपतविपत् पर्दा हेरविचार गर्नुपर्छ; जति सक्दो उति सहयोग गर्नुपर्छ । कार्यकर्ता पुराना पनि हुन्छन्; नयाँ पनि हुन्छन् । अग्रज या पुराना कार्यकर्ताले नयाँ कार्यकर्तालाई बिगतको अनुभव बताउनुपर्छ । विगतमा भएका सङ्घर्ष या आन्दोलनको स्मरण नयाँ पुस्तामा गराउनुपर्छ । विगतको अनुभव नयाँ पुस्ताले पाएन या विगतको अनुभवबारे बताइएन भने नयाँ पुस्ताले बाटो भुल्न सक्छ । बाटो भुलेमा, बाटो बिग्रिएमा पछुताएर बस्नुपर्ने हुन्छ । जीवन नराम्रोसँग बिताउनुपर्र्ने हुन्छ या जीवनमा दाग लाग्छ ।
हाम्रो ध्यान पार्टी सदस्य नभएका कार्यकर्ताहरूमा पनि जानुपर्छ । पार्टीभन्दा बाहिर पनि धेरै सुयोग्य मानिस रहेका हुन्छन्, असल र देशभक्त नागरिक हुन्छन् । कम्युनिस्ट पार्टीका प्रत्येक कार्यकर्ताले यसबारे सोच्नुपर्छ, उनीहरूलाई पनि हृदयदेखि सहयोग गर्नुपर्छ; विश्वास गर्नुपर्छ । राष्ट्रको निर्माणमा, देश जोगाउने अभियानमा विदेशी थिचोमिचोको विरोधमा समेटिनुपर्छ; सँगसँगै अघि बढाउनुपर्छ या देश र समाजसँग भिज्ने र भिजाउने वातावरण तयार गर्नुपर्छ । यसरी देश र जनताप्रति समर्पित बनाउने काममा सरिक भएर अघि बढिरहेमा सच्चा कार्यकर्ताको कर्तव्य पूरा हुनेछ । यसकारण, कसले कति आफ्नो जिम्मेवारी पूरा गरिरहेको छ; हरेक कार्यकर्ताले आत्मसमीक्षा गर्नुपर्छ । पार्टी कार्यकर्ता भएर आफूले जिम्मेवारी पूरा गरिरहेको छ कि छैन, सिंहावलोकन गर्नुपर्छ । एउटा रूसी उखान छ, ‘बगिरहेको पानी बासी हुँदैन, ढोकाको कब्जा कीराले खाँदैन ।” कार्यकर्ता जनतामाझ निरन्तर पुगिरहे दिमाग खारिन्छ, जनतामाझ लोकप्रिय हुन्छ । विद्या, ज्ञान या सिद्धान्त र विचार जति बाँडिन्छ त्यति नै आफू निपुण हुन्छ । ‘व्यये कृते वर्धते’ भन्ने भनाइ नै छ । अर्थात् विद्या खर्च गर्दा झन् बढ्छ । कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरू अन्तर्राष्ट्रवादी हुन्छन्, देशभक्त हुन्छन् । देश भुल्ने, देशलाई घात गर्ने जनविरोधी, देशविरोधीहरू जनताका सच्चा कार्यकर्ता होइनन् ।
Leave a Reply