यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
कुनै राजनीतिक दललाई चिन्ने र विश्वास गर्ने आधार त्यो दलको सिद्धान्त र विचार नै हो । कुन दल सही र गलत भनी छुट्याउने आधार पनि सिद्धान्त र विचार नै हो । कुन दलले कुन वर्गको प्रतिनिधित्व गरेको छ† त्यसैको आधारमा जनताले दललाई चिन्नुपर्छ र दललाई राम्ररी चिनेर मात्र दलमा लाग्नु उपयुक्त हुन्छ । जनतामा राजनीतिक चेतना र सांस्कृतिकस्तर नहुँदा देशका सबै दललाई चिन्न नसक्नु आफ्नो ठाउँमा छ । जनताले दलको सिद्धान्त र विचार नबुझ्दा र लहलहैको आधारमा निर्वाचनमा मतदान गर्दा कहिले को कहिले को जितिरहेको हामीले पाइरहेका छौँ । नेपालमा विभिन्न विचार र वर्गको प्रतिनिधित्व गर्ने अनेक राजनीतिक दलहरू छन् । सबैजसो ठुला दलले पालैपालो शासन गरिसकेका छन् । तर, कुनै पनि दलले बहुमत जनताको पक्षमा ऐन–कानुन बनाएनन् या काम गर्न सकेनन् । यसले सरकारको नेतृत्व गर्ने दलका नेताहरू श्रमजीवी जनताको पक्षमा छैनन् भन्ने थाहा हुन्छ ।
राणा शासनको अन्त्यपछि देशमा राजतन्त्रको शासन चल्यो । राजतन्त्रले ३० वर्षसम्म निरङ्कुश शासन चलायो । अहिले पनि देशमा राजावादी दलहरू छन् । मौलिक र राजनीतिक अधिकार दिन पछि हट्ने निरङ्कुश पञ्चायती व्यवस्थालाई मलजल गर्ने राजावादी दलहरू फेरि राजा फर्काउन चाहन्छन् । देशका प्रजातान्त्रिक शक्ति र वामपन्थी शक्तिले फालिसकेको राजतन्त्रलाई फर्काउने दल र दलका नेताहरू प्रजातान्त्रिक र प्रगतिशील हुने छैनन्; उनीहरूले जनतालाई अधिकार दिने छैनन् । दलप्रति विश्वास गर्ने आधार दुई–चार जना नेताको मिठा मिठा आकर्षक भाषण र गर्जन होइन । न त सानो र ठुलो नै सच्चाइको मापदण्ड हो । दल ठुलो भए सही र सानो भए गलत हुन्छ भन्ने मानसिकता सही होइन । नेका देशको ठुलो दल हो । तर, त्यो दलले श्रमजीवी जनताको प्रतिनिधित्व गर्दैन; गरिरहेको छैन । पुँजीपति, जमिनदारवर्गको सेवाको निम्ति खोलिएको नेकालाई श्रमजीवी जनताले किन सहयोग गर्ने ? किन त्यो पार्टीमा लाग्ने भन्ने विश्लेषण राजनीतिज्ञहरूले गरेका छन् । श्रमजीवीवर्गको हितमा काम नगर्ने, श्रमजीवीवर्गको विरोधमा ऐन, कानुन बनाउने दललाई नै श्रमजीवीवर्गले पक्षपोषण गर्नु आफ्नो खुट्टामा आफैले बञ्चरोले हान्नु सरह हो ।
एमाले दोस्रो ठुलो पार्टी हो । एमालेको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हो । मार्गनिर्देशक सिद्धान्तको आधारमा एमालेलाई कम्युनिस्ट भन्नुपर्छ । तर, एमालेले आफ्नो दर्शन, सिद्धान्त र विचारअनुसार राजनीति गरिरहेको छैन । सिद्धान्त र विचार एउटा व्यवहार अर्को गर्ने दल सच्चा दल हुँदैन । कम्युनिस्टको सिद्धान्त र विचार छोडेर पुँजीपतिवर्गको पक्षमा लाग्ने, वर्गीय शत्रुसँग मिल्ने दल सच्चा कम्युनिस्ट पार्टी हुँदैन । यसैले राजनीतिक विश्लेषकहरू एमालेलाई भाइकाङ्ग्रेस भन्छन् । नेकाको चाहनाअनुसार एमालेले एमसीसी सम्झौता र नागरिकता विधेयक पारित ग¥यो । त्यो दलले महाकाली सन्धि पारित ग¥यो । वर्गसङ्घर्ष गर्न नचाहने एमाले नक्कली कम्युनिस्ट भएको कार्यशैली र घटनाक्रमले पुस्टि हुन्छ । नेका र एमालेले पद र पैसाको निम्ति राजनीति गरिरहेका छन् । कम्युनिस्ट पार्टीको भजन गाएर संशोधनवादी र अवसरवादी बनेका दलहरू पनि यहाँ नभएका होइनन् ।
एमसीसी सम्झौता गर्ने र नागरिकता विधेयक पारित गर्ने अर्को दल माओवादी केन्द्र हो । यो सत्ता पाएमा जुनसुकै दलसँग मिल्ने, सिद्धान्त र विचारको अडान नभएको पार्टी हो । सरकारको नेतृत्व पाएमा सिद्धान्त र विचार बन्धक राख्न पछि नपर्ने माओवादी केन्द्र क्रान्तिकारी विचार छोडेको संसद्वादी पार्टी हो । सत्ता गठबन्धनको आधारमा कहिले नेका ठीक त कहिले एमाले ठीक ठान्ने माओवादीले अहिले नेका र एमालेको धुरन्धर विरोध गरिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिले सत्तामा नजाने उद्घोष गरिरहेका छन् । सम्भवतः अहिलेको एमाले नेतृत्वको सरकार बदलेमा माओवादी केन्द्र सत्तामा जान पछि पर्दैन । माओवादी केन्द्र अडान नभएको र द्वैधचरित्रको पार्टी हो । त्यस्तो दलमा कम्युनिस्टप्रति आस्था र विश्वास राख्ने कार्यकर्ता र जनता किन लागेका हुन् ? विचारणीय छ ।
यसरी नै देशमा सङ्कीर्ण सोचका क्षेत्रीय पार्टीहरू छन्; जातीय राजनीति गर्ने दलहरू छन् । दलको सिद्धान्त र विचारअनुसार इमानदारी र निःस्वार्थपूर्वक राजनीति गर्ने दलहरू पनि छन् । समाजवादी प्रचार अभियानमा सक्रियतापूर्वक लागेका कम्युनिस्टहरू पनि छन् । कम्युनिस्ट आन्दोलनको बाटोमा देखिएको खोटो विचारको खण्डन गर्दै कम्युनिस्ट आन्दोलनलाई सही बाटोमा लागिरहेको दल नेमकिपा पनि छ । अरू कम्युनिस्ट पार्टीलाई बाटो देखाउने नेमकिपा नेपालको कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनमा प्रकाशस्तम्भको रूपमा उभेको छ । जनताको भरपर्दो र विश्वासिलो दलको रूपमा नेमकिपा उभेको छ । जनताको आस्था र विश्वास नेमकिपाप्रति छ । अतः जनताले कुन दलले कुन वर्गको प्रतिनिधित्व गरिरहेको छ, सिद्धान्त र विचारअनुसार राजनीति गरिरहेको छ कि छैन ? सबै बुझ्नुपर्छ र बुझेर राजनीतिमा सक्रिय हुनुपर्छ ।
शासकहरूले नेपाल र नेपाली जनताको मर्का नबुझ्दा देशलाई चम्काउन सकेनन् । पद र पैसामा भुलेर जिम्मेवारी निर्वाह नगर्दा देश सङ्कटमै फसिरह्यो । शासकहरू देशभन्दा दलगत र व्यक्तिगत स्वार्थमा अल्झिएको कारण देशले प्रगति गर्न सकेन । सरकारले आफ्नो जिम्मेवारी पूरा गर्न सकेन । कुनै पनि विषयमा सरकारको अग्रसरता र तदारूकता देखिएन । सरकारको काम देश बनाउने र जनताको जीवनस्तर बढाउने पनि हो । हरेक सरकारले देश र जनताको स्वार्थलाई केन्द्रबिन्दुमा राखेर काम गरे देश विकासको उचाइमा पुग्छ । त्यसको निम्ति असल राजनीति गर्ने असल दलको असल राजनीतिक नेतृत्वको खाँचो छ ।
Leave a Reply