यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
चरित्र वा आचरण बिग्रेको, अनुशासन उल्लङ्घन गर्ने दुश्चरित्रको व्यक्ति भ्रष्ट हुन्छ । नियम वा कानुनविरुद्ध नैतिक पतन हुने काम गरी घुस खाई पक्षपातपूर्ण निर्णय र व्यवहार गर्ने काम, भ्रष्ट मनसाय वा घुसखोरीको काम गर्ने व्यक्ति भ्रष्टाचारी हो । देशमा प्रशासकीय क्षेत्र या अन्य कुनै क्षेत्रबाट भ्रष्टाचार, ढिलासुस्ती, घुसखोरी आदि निवारण गर्ने उद्देश्यले गठन भएको भ्रष्टाचार निवारण आयोग छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि भ्रष्टाचार अन्त्य गर्नकै निम्ति खोलिएको संस्था हो । सरकारी नेताहरू देशमा भ्रष्टाचार गर्न नदिने र नगर्ने खोक्छन् । तर, भ्रष्टाचार रोकेको छैन । घुस खाने र ढिलासुस्ती गर्ने काम त नानीदेखिको बानीजस्तै भइसकेको छ । स्थानीय तहदेखि केन्द्रसम्म धेरैथोरै भ्रष्टाचार भइरहेको हुन्छ । सरकारले भ्रष्टाचार मात्र नियन्त्रण गर्नसक्यो भने देश र जनताले ठुलो राहत पाउने छन् ।
भ्रष्टाचारले शासक दलका नेता कार्यकर्ताहरूमा मात्र होइन देशको छविमै दाग लागेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले त नेपाललाई बढी भ्रष्टाचार हुने देशको सूचीमा राखेको छ । पहिले सानो सानो रकमको मात्र भ्रष्टाचार हुन्थ्यो भने अहिले करोड र अर्बको भ्रष्टाचार गर्ने भनेको सामान्य भइसकेको छ । आज सोमबार विभिन्न देशमा अन्तर्राष्ट्रिय भ्रष्टाचार दिवस मनाइँदै छ । हरेक देशका शासकहरूले भ्रष्टाचारविरोधी दिवस मनाउँछन् तर भ्रष्टाचार अन्त्य गर्ने अभियान छेड्दैनन् । हरेक शासकहरूलाई देशमा भ्रष्टाचार भइरहेको थाहा हुन्छ तर भ्रष्टाचार अन्त्य गर्नेतर्फ निरन्तर लागेको देखिँदैन । कसैले ऐन कानुन पालना नगरी आफूखुसी काम गर्नु पनि भ्रष्टाचार हो । आचरण भ्रष्ट हुनु भ्रष्टाचार हो । घुस खाएपछि, आर्थिक अनियमितता गरेपछि मात्र भ्रष्टाचार हुन्छ भन्ने होइन । मङ्सिर २३ गते ‘नयाँ पत्रिका’ मा ‘स्थानीय तहका प्रतिनिधि संस्था राज्यको स्वीकृतिबिना नै दाताबाट ल्याउँछन् पैसा’ शीर्षकको समाचार छापियो ।
कुनै पनि सामाजिक सङ्घसंस्थाले दातृ निकायबाट अनिवार्य स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था छ । नगरपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घले राज्यको कुनै पनि निकायबाट स्वीकृति नै नलिई दातृ निकायबाट आर्थिक सहयोग लिएर खर्च गरिरहेको सो समाचारमा उल्लेख छ । यस्तो कार्यलाई सही भन्ने कि नभन्ने ? भ्रष्टाचारविरोधी दिवस एक दिन मनाएर भ्रष्टाचार अन्त्य हुँदैन । भ्रष्टाचारविरोधी दिवसको अवसरमा एक वक्तव्य प्रकाशित गरेर भ्रष्टाचार नियन्त्रण हुँदैन । भ्रष्टाचार र अनियमिततासम्बन्धी कति मुद्दाका प्रकरणहरूको फैसला भएको छैन । कारबाहीको नाउँमा अभियुक्तहरूलाई थुनेका छन् तर कारबाहीको प्रक्रियामा गएको देखिँदैन ।
सरकारले भ्रष्टाचारीहरूलाई कारबाही गर्दै जानुपर्ने हो । भ्रष्टाचारको आरोप लागेका अभियुक्तहरूमाथि छानबिन गर्दै जानुपर्ने हो । भ्रष्टाचारीहरूलाई कहिले पनि प्रोत्साहित गर्नु हुँदैन । सजाय दिनुपर्ने भ्रष्टाचारीहरूलाई पार्टीमा भित्याएपछि, उनीहरूसँग चन्दा लिएपछि सरकार भ्रष्टाचार अन्त्य गर्न किन अघि सर्छ ? देशमा भ्रष्टाचार भइरहेको बयान गरेर साध्य छैन । भ्रष्टाचार देशभरि फैलिएको छ । भ्रष्टाचारी, कालाबजारी, अनियमितता, घुस खाने, ढिलासुस्ती गर्ने कामको जालो जताततै पुगेको छ । यो हुनुका अनेक कारणमा शासकहरू इमानदार नहुनु हो† राजनीति गर्नु नै पद र पैसाको निम्ति हो भन्ने ठान्नु हो । शासन गर्ने र पार्टी चलाउने नेताहरू स्वच्छ छविको नहुँदा पार्टीभित्रका नेताहरूमात्र होइन सरकारको नेतृत्व तहमा पुगेका नेताहरू पनि भ्रष्टाचारको दलदलमा फसे । पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाउनु नै उनीहरूले राजनीति गर्नुको धर्म सम्झे । यही कारण भ्रष्टाचारले ठाउँ पायो† सिंहदरबारभित्रको भ्रष्टाचार स्थानीय तहसम्म पुग्यो ।
भ्रष्टाचारले देशै गन्हाइसकेको छ । भ्रष्टाचारले गन्हाइएको देशलाई सफा गर्ने काम सरकारले गरेन । भ्रष्टाचार गर्नु या भ्रष्टाचारीहरू बढ्नु भनेको देशको छविमा दाग लाग्नु हो । शासकहरूले इमानदार नेता, मन्त्री, सांसद, जनप्रतिनिधि, कार्यकर्ता, उच्चपदस्थ व्यक्ति र कर्मचारीहरूलाई तयार गर्ने काम गरेनन् । अनि देशमा कसरी भ्रष्टाचार अन्त्य हुन्छ ? शासकहरूले भ्रष्टाचार अन्त्य गर्ने अभियान छेड्नुपर्छ । भ्रष्टाचारी सबैलाई कडा कारबाही गर्नुपर्छ । भ्रष्टाचारीहरूलाई पार्टीमा भित्याउने काम रोक्नुपर्छ, भ्रष्टाचारीहरूसँग चन्दा लिने, पदमा राख्ने काम रोक्नुपर्छ । सत्तासीन दल तथा अन्य मातहतका सबै व्यक्तिहरूलाई इमानदारीपूर्वक काम गर्न प्रशिक्षित गर्नुपर्छ । यस्तो अभियान गाउँदेखि केन्द्रसम्म भए भ्रष्टाचार स्वाभाविक रूपमा कम हुन्छ या नियन्त्रण हुन्छ । अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसले शासकहरूमा यस्तै सन्देश प्रवाह गर्न सके भ्रष्टाचारविरोधी दिवसको सार हुनेछ ।
Leave a Reply