भर्खरै :

पद र पैसामा भुल्दा आपराधिक क्रियाकलाप बढ्दो

सुन्दर, शान्त भनिएको यो देशमा भ्रष्टाचार, अनियमितता मात्र होइन आपराधिक क्रियाकलाप पनि बढ्दो छ । हत्या, हिंसा, बलात्कार, बेचबिखन, अपहरण, शारीरिक र मानसिक यातनाका घटनाहरू बारम्बार दोहोरिरहेका छन् । आपराधिक घटनामा दलका नेता, मन्त्री र सांसदहरू मुछिएको पाइएको छ । भारतको संसद्मा धेरै अपराधीहरू रहेको जानकारी प्रकाशमा आएकै हो । यस्तै रोग नेपालमा पनि सरेको छ । नेपालको संसद्मा पनि सांसद र मन्त्रीसमेत आपराधिक कार्यमा फसेको खबर सञ्चारमाध्यममा आइरहेको छ । सत्तासीन दलका नेताहरू देशविरोधी, जनघाती र देश र जनताको अहितमा सन्धि सम्झौता गर्न पछि परेनन् । कति सांसदहरू पदको दुरूपयोग गरी ठेक्कापट्टामा लागे र अकुत सम्पत्ति जोड्न पुगे भने कति सांसदहरू व्यापार व्यवसाय गर्न त कति सांसदहरू राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा व्यस्त छन् । कति सांसदहरू हत्या हिंसामा फसे । यसरी आपराधिक क्रियाकलापमा फसेका केही सांसदहरूको नाम मङ्सिर २८ गते प्रकाशित ‘नयाँ पत्रिका’ मा छापिएको छ ।
‘गम्भीर अपराधमा प्रदेशका सांसद’ शीर्षकको सो समाचारमा बहालवाला सांसदमाथि हत्या, हिंसा प्रयास, कीर्ते, भ्रष्टाचारदेखि मानव तस्करीसम्मका अभियोगको प्रसङ्ग उल्लेख गरिएको छ । समाचारमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव गुरुङ ज्यान मार्ने उद्योगमा डिल्ली बजार कारागारमा कैद भुक्तान गर्दै छन् । उनी पटकपटक मन्त्रीसमेत भएका थिए । लुम्बिनी प्रदेशका काङ्ग्रेस सांसद बादशाहको नेपालगञ्जकी निर्मला कुर्मीको अपहरण र हत्या अभियोगमा अनुसन्धान चलिरहेको छ । रुकुम पूर्व (ख) बाट निर्वाचित नेकाका सांसद धनबहादुर केसी पुरानो कीर्ते मुद्दामा पक्राउमा परेका छन् । लुम्बिनी प्रदेशका एमाले सांसद रेखा शर्मामाथि फौजदारी कसुरमा अनुसन्धान भइरहेको छ ।
राप्रपाबाट निर्वाचित लुम्बिनी प्रदेशका जानकीप्रसाद यादव साझेदारी वनमा रुख कटानमा भएको भ्रष्टाचारको अभियोगमा मुद्दा खेपेका सांसद हुन् । अनिरुद्धप्रसाद सिंहले कर्तव्य ज्यान र डाँका मुद्दा खेपिरहेका छन् । उनी सप्तरी ४ ‘ख’ बाट मधेश प्रदेशसभामा निर्वाचित स्वतन्त्र सांसद हुन् । यी घटनाले नेपालका कति सांसदहरू व्यक्तिगत स्वार्थ पूरा गर्न मात्र होइन आपराधिक क्रियाकलापमा संलग्न रहेको थाहा हुन्छ । देश र जनताको हितमा ऐन कानुन बनाउन, विकास गर्न र गराउन भूमिका खेल्नुपर्ने जिम्मेवार सांसदहरू नै आपराधिक काममा लागेपछि देशमा कसरी सुशासन हुन्छ ? यसरी नै विगतमा पनि धेरै मन्त्री र सांसदहरू भ्रष्टाचार, अनियमितता र आपराधिक क्रियाकलापमा फसेका थिए । यो देश र जनताको लागि राम्रो खबर होइन ।
आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई राजनीतिक दलले उम्मेदवार बन्न सिफारिस ग¥यो । ती नै व्यक्तिहरूबाट पार्टीमा चन्दा पाउने भएकोले पनि तिनीहरूको दबाबमा ठुला दल या शासकहरू उम्मेदवार बनाउन बाध्य हुन्छन् । हत्या, हिंसा, भ्रष्टाचार र अनियमितता गर्ने व्यक्तिलाई सांसदजस्तो गरिमामय पदमा निर्वाचित गराउन सिफारिस गर्ने दलहरू किन असल नागरिक या कार्यकर्तालाई स्थान दिँदैनन् ? देशलाई भ्रष्टाचार, अनियमिता र आपराधिक क्रियाकलापमुक्त गर्न सरकार लाग्नुपर्ने हो । तर, ती नै व्यक्तिहरूलाई सत्तासीन दलका नेताहरूले काखीमा च्यापेर राखेका हुन्छन्; उनीहरू नै पार्टीको लागि असल ठान्छन्; उनीहरूसँग चन्दा असुल्छन् ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको कम्पनीले नेपाल स्काउटलाई पाँच करोड, १९ लाख २७ हजार आठ सय ५१ रूपैयाँ २९ पैसा बाँकी रहेको खबर मङ्सिर २८ गतेको ‘नागरिक’ दैनिकमा छापियो । उक्त कम्पनीले नेपाल स्काउटको भवन र जग्गा भोगचलन गरेबापत सो रकम भुक्तान गर्न बाँकी भएको हो । सरकार सर्वसाधारणसँग कर उठाउँछ† समयमा नतिरे जरिवाना गर्छ । तर, मन्त्रीहरू तिर्नुपर्ने बहाल कर तिर्दैनन् । उनीहरू सकेसम्म गुपचुप राखेर कर नतिरी अकुत सम्पत्ति जोड्न चाहन्छन् । सत्तासीन दलका नेताहरूले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई अति सस्तोमा, अझ सित्तैमा सरकारी भवन तथा कार्यालय प्रदान गरेर कमाउने माध्यम बनाइरहेका छन् । यस्ता उदाहरणहरू बग्रेल्ती छन् । सरकारले दललाई सार्वजनिक जग्गा प्रदान गरेर कतिले पार्टी कार्यालय चलाइरहेको छ । ठुला दलका नेताहरूले विगतमा निर्वाचनमा पार्टीले पाएको मतको आधारमा देशको राजस्वबाट पैसा असुल्ने या लिने कुरो उठाएका थिए । गाडी सुविधा लिएर चलाउन नपाउँदै बेचिएको कुरा त उहिलेको भयो । स्वास्थ्य उपचार खर्चको नाउँमा लाखौँ करोडौँ रकम पनि मन्त्री र सांसदहरूले असुलेका थिए । कहिले विदेश शयरको नाउँमा त कहिले उपचारको नाउँमा पैसा असुलेर ढुकुटी रित्याउने काम शासक दलहरूले गरे ।
पुँजीवादी दलका नेताहरू पद र पैसामा भुले । इज्जत, आस्था र विश्वासको मतलबै नराखी पदको दुरूपयोग गरेर जसरी भए पनि अकुत सम्पत्ति कमाउने र भवन ठड्याउने काममा यिनीहरूको ध्यान गयो । यस्ता काण्डमा नेका, एमाले, माओवादी केन्द्रका नेता, मन्त्री र सांसदहरू फसेका छन् । अनि ती नै दलका नेताहरू ठुलठुलो स्वरमा सुशासनको कुरा फलाक्छन्; भ्रष्टाचार गर्न नदिने र नगर्ने वाचा खान्छन् । सरकारको नेतृत्व गर्ने दलका नेताहरूको मन, विचार, कार्य स्वच्छ, असल नभएसम्म देशमा आपराधिक घटना घटिरहने छ । स्वच्छ, सुरक्षित र सुशासनको निम्ति आपराधिक क्रियाकलाप रोक्नुपर्छ† अपराधमा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्नुपर्छ । पार्टी छोड्ला, पार्टीको विरोध गर्ला भनेर दलले अपराधीलाई पार्टीमा भित्याउने होइन, दण्ड दिने हो† दण्ड दिएर सत्मार्गमा ल्याउने हो । अनि मात्र देशमा सुशासन हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *