भर्खरै :

विक्रमशील महाविहारको ऐतिहासिकता

विक्रमशील महाविहारको ऐतिहासिकता

थँ बहिल (ठमेल), विक्रमशील महाविहारमा जीर्णाेद्वार गर्ने क्रममा धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वको भौतिक संरचनाहरू भेट्टियो
काठमाडौँ महानगरपालिका, वडा नम्बर २६ मा नेपालको नै एक प्राचीन बौद्धविहार रहेको छ । यस विहारलाई थँ बहिल, विक्रमशील महाविहार धर्मधातु विहार, राजविहार, भगवान् वहाल आदिले पनि चिनिन्छ । यस विहार कति वर्ष पुरानो भन्ने लिखित दस्तावेजहरू तथा अभिलेखहरू पाइएको छैन । तापनि, यस विहार परिसरमा विभिन्न लिच्छविकालीन मूर्ति, चैत्य, स्तुपा (विहारको दक्षिणपट्टिको चोकमा विभिन्न मुद्रामा रहेको बुद्धको मूर्ति, विहारको पूर्वपट्टिको सडक पारीको तीनवटा स्तुपाहरू, विहारको आँगन चोकमा रहेको चैत्य आदि) हरू पाइएको कारणले गर्दा यस विहार लिच्छविकालीन बिहार हो भन्ने अनुमान गर्न सकिन्छ ।
लिखित प्रमाणको आधारमा भन्ने हो भने यस विहारमा रहेको प्रज्ञापारमिता नेपाल संवत् ३४४ मा लेखिएको यस ग्रन्थको पुष्पिका वाक्यमा उल्लेख गरिएको छ । यस विहारमा पूर्व मल्लकालदेखिको ताडपत्रहरू तथा मल्लकालीन शिलापत्रहरू पाइएको छ ।
भारतका बौद्ध विद्वान् पण्डित अतिशा तिब्बत जाने क्रममा एघारौँ शताब्दीको पूर्वाद्र्वताका यस विहारमा बसेर गएका थिए भन्ने कुराको उल्लेख इतिहासविद् डाक्टर रमेश ढुङ्गेलले लेख्नुभएको लेख ‘आचार्य दीपङ्कर (श्रीज्ञान) को नेपाल यात्रा ः एक नयाँ अध्ययन’ मा गरिएको छ । १३ औँ शताब्दीको पूर्वाद्र्वताका तिब्बतका प्रसिद्ध विद्वान् भिक्षु धर्मस्वामी नेपालमा आठ साल बसे । यसै दौरान उनी स्वयम्भू र थम विहार (थँ बहिल) बसेका थिए भन्ने कुरा रुक्मिणी वन्त प्रधानको विक्रमशील महाविहार एक परिचयमा उल्लेख गरिएको छ ।
धर्मस्वामीले वर्णन गरेअनुसार “त्यहाँ (थँ बहिल) एउटा स्तूप थियो, जसमा हरेक साँझ एउटा ज्योति देखाप¥यो जसलाई अतिशाले देखे र त्यो के हो भनेर सबैलाई सोधे तर उनीहरूलाई थाहा भएन । कश्यप बुद्धले मण्डला बनाएपछिको यो रङ्गीन धुलो हुनुपर्छ, भनेर एक वृद्ध महिलाले मात्र टिप्पणी गरिन् । स्तूपको अगाडि शाक्य मुनिको स्वर्ण प्रतिमा छ । यसलाई भगवान अभयदान भनिन्छ ।” यस वर्णनबारे जर्ज रोरिचको ‘वायोग्राफी अफ धर्मस्वामी’ मा उल्लेख गरिएको छ । धर्मस्वामीको वर्णनअनुसार त्यस स्तूप अतिशा आउनुभन्दा अघि नै बनिसकेको देखिन्छ ।
हाल यस विहार जीर्णाेद्वार गर्ने क्रममा यस विहारको मूलचोकमा धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वको भौतिक संरचना (चैत्य, स्तुप आदि) हरू फेला परेको छ । मूलचोकमा सिंह सार्थवाहको मूर्ति भनिने सुनौलो मूर्ति रहेको छ । हाल भेटिएको स्तूप ठिक त्यस सुनौलो मूर्ति पछाडि रहेको छ । हेर्दा निकै प्राचीन देखिन्छ । अतिशाले देख्ने गरेको यही स्तूप हुनसक्दछ । यस स्तूपको साथै प्राप्त सबै भौतिक संरचानाहरूको अध्ययन–अनुसन्धान हुनु आवश्यक छ ।
यसले यस विहारको धर्म, संस्कृति,परम्परा तथा प्राचीनताको प्रामाणिक इतिहास अध्ययन गर्न सहयोग गर्दछ । यस्तो अध्ययन–अनुसन्धानले ठमेलको विहारको मात्र नभई, नेपालको नै प्राचीन प्रामाणिक इतिहास अध्ययन गर्न सहयोग पु¥याउँदछ । यसमा सरोकारवाला निकायहरूको ध्यान जानु अत्यन्त आवश्यक देखिएको छ पुरातात्विक महत्वको वस्तुहरूको संरक्षण तथा अध्ययन–अनुसन्धान गर्ने निकाए पूरातत्व विभाग साथै नेपालका सम्पूर्ण विद्वान् इतिहासविद्रूको ध्यान यतातिर जानु आवश्यक देखिएको छ ।

जीर्णाेद्वार गर्ने क्रममा विहारको मूलचोकमा प्राचीन देखिने पुरातात्विक महत्वका भौतिक संरचनाहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *