भर्खरै :

नूर अल–दिन हज्जाज : गाजाको मुक्तिमा समर्पित लेखक, शिक्षक र नाटककार

नूर अल–दिन हज्जाज : गाजाको मुक्तिमा समर्पित लेखक, शिक्षक र नाटककार

“मेरो सबैभन्दा ठुलो सपना मेरो देश शान्त, केटाकेटीहरू सूर्यभन्दा चम्किलो देखिने गरी मुस्कुराएको हेर्नु हो । बम खसालेका सबै ठाउँमा फूल रोप्ने सपना देख्छु, ध्वस्त भएका प्रत्येक पर्खालमा हाम्रो स्वतन्त्रताको खोजी गर्छु । युद्धले अन्ततः हामीलाई एक्लै छोड्नेछ र हामी हाम्रो जीवन एक पटक बाँच्नेछौँ ।
यी पङ्क्तिहरू प्यालेस्टिनी लेखक, शिक्षक, र नाटककार नूर अल–दिन हज्जाजको रङ्गभेदी शासनद्वारा क्रूरतापूर्वक आफ्नो जीवनको अन्त्य हुनुअघि संसारलाई अन्तिम सन्देशका अंशहरू हुन् ।
गाजामा इजरायलको लगभग पाँच महिनाको नरसंहार युद्धले दर्जनौँ प्यालेस्टिनी कवि, कलाकार र लेखकहरूको ज्यान लिएको छ । यसले घेरा हालिएको गाजापट्टीको सांस्कृतिक बनावटलाई नष्ट गरेको छ, हज्जाजजस्ता उदीयमान प्रतिभाहरूको जीवनै लुटिएको छ ।
उत्तरी गाजाका युवा लेखक हज्जाज डिसेम्बर ३, २०२४ का दिन मारिए जब अल–शुजैयास्थित उनको घरमाथि इजरायली सेनाले अन्धाधुन्ध हवाई बम आक्रमण ग¥यो ।
“म सङ्ख्या होइन र म मेरो मृत्युको समाचार पारित गर्न सहमत छैन । मलाई जीवन, खुसी, स्वतन्त्रता, बालबालिकाको हाँसो, समुद्र, कफी, लेखन, फेरोज, आनन्ददायी सबै कुरा मनपर्छ यद्यपि गाजामा यी सबै एक क्षणमा आकाशमा हराउन सक्छन् । “हज्जाजले आफ्नो इन्स्टाग्राम खातामा लेखेका थिए ।
गाजाको अल–अजहर विश्वविद्यालयबाट कम्प्युटर विज्ञानमा स्नातक उत्तीर्ण गरेका युवा प्यालेस्टिनी लेखकले तटीय क्षेत्रमा एक विद्यालयमा शिक्षकको रूपमा काम गरिरहेका थिए । दुःखद कुरा हज्जाजको जीवनमात्र अन्त्य भएको छैन, उनी पढेको विश्वविद्यालय र उनले पढाएको विद्यालय पनि ध्वस्त र सपाट गरिसकेको छ ।
हज्जाजका दिनहरू किताब र लेखनमा डुबेका थिए । उनको पहिलो उपन्यास ‘अपरिचित पुरुष र अनौठो महिला’ इजिप्टमा २०१९ मा प्रकाशित भएको थियो । २०२१ मा उनको दोस्रो उपन्यास विङ्स द्याट डन्ट फ्लाई (Wings that don’t fly) जोर्डनमा रिलिज भएको थियो, उनको दुवै पुस्तकको लागि आलोचनात्मक प्रशंसा प्राप्त भयो ।
२७ वर्षीय हज्जाज आफ्नो गृहनगरमा विभिन्न सांस्कृतिक गतिविधिमा सक्रिय सहभागी थिए । उनी ललितकलामा पनि रुचि राख्थे र थिएटरका लागि नाटक लेख्थे । २०२२ मा जब उनको पहिलो नाटक ‘द ग्रे ओन्स’ स्टेजमा प्रदर्शन गरिएको थियो, लेखकको उत्साह अनियन्त्रित थियो, उनका साथीहरू सम्झन्छन् ।
मृत्युको बादल मडारिँदै गर्दा, हज्जाज गुमनाम भएर मर्न चाहँदैनथे । उनी आफ्नो कामको लागि आफ्ना लेखहरूको लागि सम्झिन चाहन्थे । उनी छाप छोड्न चाहन्थे ।
“यसैले म अहिले लेख्दै छु, यो मेरो अन्तिम सन्देश हुन सक्छ जसले यसलाई स्वतन्त्र संसारमा पु¥याउँछ, हामी जीवनलाई माया गर्छौँ वा कम्तीमा हामीले कस्तो जीवन बाँच्न सकेका छौँ । गाजामा हाम्रा अगाडिका सबै मार्गहरू अवरुद्ध छन् र यसको सट्टा हामी केवल एक ट्वीट वा ब्रेकिङ न्युज स्टोरी मृत्युबाट टाढा छौँ,” उनले एक पटक लेखेका थिए ।
युवा प्यालेस्टिनी लेखक प्यालेस्टिनी लेखकको रूपमा चिनिन चाहन्थे । उनी आफ्नो रगत बगेको मातृभूमि र आफ्ना उत्पीडित जनताका नभनिएका कथाहरू सुनाउन चाहन्थे । उनी जनताको आवाज बन्न चाहन्थे ।
“मेरो नाम नूर अल–दिन हज्जाज हो, म प्यालेस्टिनी लेखक हुँ, म २७ वर्षको हुँ र मेरो धेरै सपना छ ।” हज्जाजले आफ्नो सोसल मिडिया ह्यान्डलमा लेखेका थिए ।
“मेरो सपनाहरूमध्ये एक मेरो किताब र मेरा लेखहरूसँगै संसार घुम्ने, मेरो कलमको पखेटा होस् ताकि कुनै पनि बिनाछापको राहदानी वा भिसा अस्वीकारले यसलाई रोक्न नसकोस् ।”
इजरायली शासनले आफ्नो कब्जा लागु गर्न प्यालेस्टिनीहरूको आन्दोलनलाई रोक्दै आएको छ, प्रवेशद्वार र बाहिर निस्कने बिन्दुहरू नियन्त्रण गर्दै, यतिसम्म कि क्षेत्रबाट कुनै पनि प्रस्थानलाई इजरायली स्वीकृति चाहिन्छ ।
यहुदीवादी शासनले प्यालेस्टिनीहरूलाई विदेश यात्रा गर्न प्रतिबन्ध लगाउन आफ्नो शक्ति प्रयोग गर्दछ । प्यालेस्टिनका मानिसहरूलाई गाजा, कब्जा गरिएको वेस्ट बैङ्क र पूर्वी अल–कुड्सबिचको यात्रा गर्न पनि प्रतिबन्ध लगाइएको छ । तर, गाजा विगत १६ वर्षदेखि इजरायलको घेराबन्दीमा रहेकाले यस तटीय पट्टीको अवस्था झन खराब छ । आफ्नो उमेरका धेरै मानिसहरू जस्तै, हज्जाजले विवाह र परिवार सुरू गर्ने सपना देखेका थिए ।
“मेरो अर्को सपना एउटा सानो परिवार होस्, म जस्तै देखिने एउटा सानो छोरा पाउनु र उसलाई काखमा राखेर सुत्ने बेलाको कथा सुनाउनु हो ।” उनले लेखेका थिए । आशावादी लेखकले मृत्युबाट बच्नको लागि एकपटक उत्तरी गाजास्थित आफ्नो घर त्यागेका थिए ।
दक्षिणमा मानिसहरूको निराशाजनक अवस्था देखेर, हज्जाज अल–शुजैया फर्के । आफ्ना साथीहरूलाई पठाइएका विभिन्न लिखित सन्देशहरूमा, हज्जाजले स्पष्टरूपमा उल्लेख गरेका थिए कि उनी इलाकाको दक्षिणी भागको सडकमा भन्दा उत्तरमा आफ्नो घर फर्कन चाहन्छन् ।
“म अल–शुजैयाको सानो टोलमा बस्छु, जुन गाजा सहरको पूर्वी किनारमा छ । हरेक रात, विस्फोटको आवाज निरन्तर छ, विभिन्न प्रकारका विस्फोटहरू, विभिन्न दिशाहरूबाट आइरहेका छन् र हाम्रो घर तथा हाम्रो हृदयलाई चकित पार्ने प्रत्येक विस्फोट भएपछि हामी एकअर्कालाई बलियोसँग समात्छौँ, थाहा छ कि कुनै पनि समय हामीमाथि विस्फोट हुनेछ । हामीले यो सुन्ने छैनौँ किनभने यसले हामीलाई पहिले नै उडाइसकेको हुनेछ ।” उनले इजरायली बमबारीको तीव्रता वर्णन गर्दै लेखेका थिए । नोभेम्बर २ मा लेखिएको नोटमा ती युवा शिक्षकले गाजा सहरको वरिपरि हिँड्दा आफूले देखेको विनाश वर्णन गरेका छन् ।
“आज म सहरको वरिपरि अलिकति घुम्न गएँ वा के बाँकी छ भनी हेर्न गएँ । मैले देखेँ कि कसरी यसका रङ्गहरू एउटै रङमा सङ्कुचित भएका छन् । यो खैरो रङ्ग कहाँबाट आयो ? यो खैरो रङ्ग जससित हामीलाई थाहा भएका सबै रङहरूमा आफूलाई लाद्ने शक्ति राख्छ । मैले ठुलो मात्रामा भग्नावशेष पार गरँे, सावधानीपूर्वक हिंड्ने प्रयास गरे, माइनफिल्डमा जस्तै, केटाकेटीहरूले सम्झनाहरूमा सपनाहरू स्केच गरेको हरेक ठाउँबाट बच्न ।” उनले लेखेका थिए ।
हज्जाजले गाजामा अक्टोबर ७ मा आफ्नो नरसंहार अभियान सुरू गरेदेखि गाजापट्टीमा झण्डै ३०,००० मानिसको ज्यान लिइसकेपछि मृत्युको भयावह अवस्थाको वर्णन गरेका थिए ।
“मैले कफनका पहाडहरूलाई ट्रकमा पृथ्वीको अन्तिम र एकमात्र सुरक्षित ठाउँमा लैजाँदै गरेको देखेँ । यहाँकुनै शवयात्रा हुँदैन, जस्तो अन्य स्थानमा सहिदहरूलाई काँधमा राखेर उनीहरूको अन्तिम शवस्थानमा लगिन्छ । गाजाका धेरै मानिसहरूलाई जस्तै, हज्जाजलाई आफ्ना प्रियजनहरू गुमाउने डर थियो । बिछोडको विचारलाई उनी घृणा गर्थे ।
“सायद बम खस्नुअघि उनीहरूले गरेको अन्तिम इच्छा हामी सबैले गर्ने हो । मर्ने हो भने सँगै मर्ने हो । अरूले बाँच्नुपर्ने जीवनमा उसको बाँकी जीवनको लागि शोक गर्दै हामी मृत्युलाई हामीमध्ये एकलाई एक्लै छोड्ने मौका दिन चाहँदैनौँ ।” उनले लेखेका थिए ।
इजरायली शासनद्वारा जारी विनाशको साक्षी हज्जाज अज्ञात र अपरिचित मर्ने विचारसित असहत थिए ।
“यो कुरा मेरो दिमागमा त्यो क्षण आयो जब सञ्चार र इन्टरनेट बन्द भयो । त्यससँगै हामी संसारबाट टाढा भयौँ र संसारले हाम्रो समाचार थाहा पाउन छाड्यो र बम विस्फोटको तीव्रता बढ्यो । हामी चिच्याउन सक्नेछैनौँ भनेर संसारलाई हाम्रो बारेमा केही थाहा नदिई चुपचाप मर्नेछैनौँ । न त हाम्रा क्षणहरू वा हाम्रा अन्तिम शब्दहरू दस्ताबेजीकरण गर्न सक्नेछौँ ।” युवा प्यालेस्टिनी लेखकले लेखेका थिए ।
हज्जाजको बाल्यकालका साथी अमजद अय्यादले नरसंहारकारी इजरायलको कब्जाले चकनाचुर भएका आफ्ना साथीका सपनाहरू वर्णन गर्दै एउटा सुन्दर स्तब्धतापूर्ण स्मृत्ति लेखेका छन् ।
“नूर, उसको नामको अर्थ नै सबै कुरामा उज्यालोजस्तै उनको बोली, उच्च संस्कृति र कुनै कुरामा सल्लाह तथा उनीकहाँ आउनेहरूलाई उनको मार्गदर्शन पनि उज्यालो थियो ।” उनले आफ्नो साथीलाई सम्झँदै लेखे ।
“अन्तिम पटक मैले उनीसँग कुरा गरेको थिएँ । उनले आफ्नो व्यक्तिगत इन्स्टाग्राम स्टोरी खातामा छोटो सन्देश पोस्ट गरेपछि … यसमा, उनले हाम्रो पीडा, हामीले भोगेको नरसंहारको बारेमा कुरा गरे, उनी सङ्ख्या होइनन् र उनी आफ्नो मृत्युको खबरलाई क्षणिक हुन दिन अस्वीकार गर्छन् र उसको केही सपनाहरूको बारेमा … तर आतङ्कवादी राज्य (इजरायल) नूर र ती इच्छा र सपनाहरूबिच खडा छ ।
अय्यादले भने कि उनको साथीको सहिदको मृत्यु भयो, तर उनले छोडेर गएका स्मृतिहरू हृदयविदारक छन् ।
“आजको उज्यालो बितिसकेको छ र उनका सपना र आकाङ्क्षाहरू उनीसँगै यसको अनन्त पखेटाहरूद्वारा आकाशमा उडिसकेका छन् । हामीलाई पछाडि छोडेर उनी सहिद भएर बिते । उनलाई चिन्ने सबैले यस बिछोडको क्षणमा पीडा र वेदना अनुभव गर्नेछन् ।”

– प्रेस टीभी अनलाइनबाट
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *