भर्खरै :

जाडो मौसममा बालबालिकाको ख्याल

जाडो मौसममा बालबालिकाको ख्याल

बालबालिकाको उमेरलाई संवेदनशील उमेर मानिन्छ । वयस्कहरूको तुलनामा उनीहरूलाई कुनै पनि रोगले छिट्टै नै समाती हाल्छ । अझ चिसो मौसमका कारण अधिकांश बालबालिकाहरू प्रायः जाडोमा बढी बिरामी पर्छन् । यो संवेदनशीलतालाई मध्यनजर गर्दै हामीले जाडोमा अझ उनीहरूको उचित ख्याल राख्नुपर्दछ ।
बालबालिकाहरू कुनै पनि कामको निम्ति सदैव आफ्ना अभिभावकहरूप्रति आश्रित रहने गर्दछ । जाडो महिनामा उनीहरूलाई विशेष स्याहार सुसारको आवश्यकता पर्ने हुँदा यस समयमा उनीहरूलाई हाम्रो अझ धेरै स्याहार सुसारको आवश्यकता पर्दछ ।
हामीले अहिले सुपका नाममा धेरै पैसा हालेर तयारी सुप किनेर ल्याउँछौँ । त्यसमा के के हालिएको छ, त्यो हामीलाई थाहा हुँदैन । गहत जो ऊर्जायुक्त, पोषणयुक्त तथा विभिन्न सुक्ष्म पोषक तत्वयुक्त हुन्छ यसको दाल बनाएर, जुनसुकै खाद्य वस्तुमा मिलाएर खाए पनि गहतले जाडोमा धेरै नै फाइदा हुन्छ ।
बालबालिकालाई विशेषगरी कोदोको सुप, फापरको सुप, गुन्द्रुक, भटमास, आलुको सुपजस्तो तातो झोलिलो तथा दाल, भात, तरकारी र रोगसँग लड्न सक्ने प्रतिरोध क्षमता भएका भिटामिन ‘सी’ युक्त खानेकुरा खाने गर्नुपर्छ । यसमा कागती, अमला, गुन्द्रुकजस्ता खानेकुरा खाने गर्नुपर्छ । जुन सजिलै घरमै उपलब्ध पनि हुन्छ ।
अर्को कुरा जाडो मौसममा चिसो नलागोस् भनेर घरभित्र दाउरा, मकल, ग्याँस बालेर बस्दा हावा आउने–जाने ठाउँ नहुँदा आगोबाट निस्किएको कार्बनमोनोअक्साइडका कारण निधन पनि हुने गरेको छ । त्यसकारण, यस्ता कुरामा सजग रहेर मात्र आगो बाल्नुपर्छ ।
बालबालिकालाई जाडोमा जोगाउनका लागि विशेषगरी तातो, न्यानो कपडा पनि लगाइदिने गर्नुपर्छ । किनकि, उनीहरूको शरीरको तापक्रम चिसोले चाँडै घट्ने हुन्छ ।
बालबालिकामा चिसो मौसमका कारण कुनै पनि किसिमका शारीरिक समस्याहरू देखा नपरोस् भन्नका निमित्त हामीले उनीहरूले लगाउने कपडादेखि खाने खानाहरूमा समेत विशेष ध्यान दिन आवश्यक पर्दछ । यसको निमित्त शरीर न्यायो भइराखोस् भन्नको निमित्त उनीहरूलाई तातो खानाहरू मात्र खान दिनुपर्दछ । यस्तै घ्यु, चाकु तथा तिलले शरीरमा ऊर्जा प्रदान गर्ने भएकोले आफ्ना बालबालिकाको खानामा यस्ता आहाराहरूको समावेश अनिवार्यरूपमा गराउनुपर्दछ ।
स्वस्थकर खानेकुरा खाने बानी बसाउनका लागि भान्साको काममा उमेरअनुसार उनीहरूले सक्ने काममा बालबालिकालाई सहभागी गराउनुपर्छ । त्यसो गर्दा बालबालिकालाई आफ्नो मेहनत परेको छ भनेर खान मन लाग्छ । त्यसैले बालबालिकालाई पनि भान्साको काममा सहभागी गराउनुपर्छ भनिएको हो । स्कूलका शिक्षकहरूले पनि विद्यार्थीहरूलाई स्वस्थकर खानेकुरा खान प्रेरित गर्नुपर्छ ।
बालबालिकालाई तातोपानी र बेसार, अदुवा, ज्वानो मिश्रित सुप खुवाउनुपर्दछ । आवश्यक भिटामिन ‘डि’ घामबाटै मिल्ने भएकोले साना बालबालिकालार्ई घाममा राखेर तेल लगाइदिने र खेल्न दिनुपर्दछ । केही अभिभावकले आफ्नो बालबालिकालाई चिसो नहोस् भन्नको निमित्त आवश्यकभन्दा बढी कपडा शरीर नै गुम्सिने गरी लगाइदिने गरेको पनि पाइएको छ । तर, शरीरलाई तातो बनाउने नाममा ज्यान नै गुम्सिने गरी कपडा लगाई दिनुपर्छ भन्ने मान्यता बिल्कुल गलत हो । तर, यस समयमा बालबालिकालाई सकेसम्म भोटो लगाइदिन एकदमै उपयुक्त मानिन्छ । आफ्ना बालबालिकामा घ्यार–घ्यार हुने तथा ज्वरो आउनेजस्ता समस्या देखापरेको खण्डमा स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्छ ।
उनीहरूलाई चिसो नलागोस् भन्नेमा ध्यान दिनुपर्छ । त्यसका लागि विशेषगरी उनीहरूको टाउको र खुट्टालाई न्यायो बनाइ राख्नुपर्दछ । यस्तै, रुघाखोकी लागेको समयमा बालबालिकालार्ई मह र अदुवाको रसले पनि फाइदा गर्ने भएकोले उक्त घरेलु औषधिको पनि प्रयोग गर्न सकिन्छ ।
यदि बालबालिकामा कुनै पनि समस्या लगाताररूपमा देखापरेको छ भने त्यस्तो अवस्थामा कुनै पनि औषधिको सेवन गराउनुपूर्व सम्बन्धित चिकित्सकसँग परामर्श लिनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *