उद्देश्य प्राप्तिको लागि निरन्तर विद्यार्थीहरूले मेहनत जरुरी
- जेष्ठ १, २०८३
कम्युनिस्ट पार्टीको उद्देश्य समाजवादी क्रान्ति हो । समाजवादी क्रान्ति गर्न समाजका हरेक क्षेत्र र समुदायका कामदार जनतालाई सैद्धान्तिक र राजनीतिकरूपले सचेत र सङ्गठित गर्नु आवश्यक छ । अनेकौँ राजनीति र आर्थिक सङ्घर्षको अनुभवबाट कामदारवर्गका जनता सुसूचित हुन्छ । क्रान्तिको निम्ति भौतिक र मानसिकरूपले तयार गर्नु आवश्यक छ । क्रान्तिको निम्ति कहिले शान्तिपूर्ण त कहिले सशस्त्र सङ्घर्ष गर्नुपर्ने हुन्छ । कहिले कानुनी या गैरकानुनी सङ्घर्ष गर्नुपर्ने हुन्छ । माक्र्सवाद र लेनिनवादको अर्थ अन्तर्राष्ट्रिय मजदुर र कम्युनिस्ट आन्दोलनको सैद्धान्तिक, व्यवहारिक अनुभव र शिक्षा हो । नेमकिपा पनि समाजवादी क्रान्तिको पक्षमा छ । समाजवादी क्रान्तिको पूर्वाधार तयार गर्न नेमकिपा समाजवादी प्रचार अभियानमा छ ।
कम्युनिस्ट पार्टीले सैद्धान्तिकरूपमा भूमण्डलीकरण र निजीकरणको विरोध गर्छ । विदेशी पुँजीको थिचोमिचो र एकाधिकारको विरोध पनि कम्युनिस्ट पार्टीले गर्छ । यसले साम्राज्यवादी र विस्तारवादी नीतिको विरोध गर्छ । समृद्ध देश र सुखी नेपाली बनाउन देशलाई आत्मनिर्भर बनाउनुपर्छ । तर, शासकहरू देशलाई आत्मनिर्भर बनाउने बाटोमा लागेका छैनन् । आफ्नो देशमा उपलब्ध नभएको सस्तो र असल वस्तु छिमेकी वा विदेशबाट आयात गर्नु स्वाभाविक हो । विदेशीको सहयोग र अनुदान पाएर देश कहिल्यै आत्मनिर्भर हुनेछैन । एकातिर जनताको आवश्यकताअनुसार आधारभूत आवश्यकता पूर्ति गर्नुपर्छ भने अर्काेतिर उत्पादित वस्तु गाउँ–ठाउँसम्म पु¥याउने व्यवस्था हुनुपर्छ; पु¥याउन सडक, केबुलकार र रेलको व्यवस्था गर्नुपर्छ ।
देशको शिक्षाले देश र जनताको आवश्यकता पूरा गर्न सकेको छैन । शिक्षालाई उत्पादन श्रमसँग मिलाउन सकेको छैन । दुर्गम र विकट क्षेत्रको कुरा छोडौँ, सुगम र सहर बस्तीमा नै सरकारले नर्स र चिकित्सकहरू पु¥याउन सकेको छैन । आवश्यकताअनुसार औषधि हुँदैन । निःशुल्क स्वास्थ्योपचार जनताको अधिकार भए पनि स्वास्थ्य क्षेत्रमा परेको पुँजीवादी प्रभाव र निजीकरणले सरकारी मूल्य र मान्यतामा खिया लागेको छ । सन्तुलित विकासको निम्ति जिल्लाका विभिन्न नगर र स्थानहरूमा उद्योगधन्दाको विकास गर्नुपर्छ । देश र जनताको हितलाई प्राथमिकता दिने र विदेशी पुँजीका दलालहरूलाई जनतासामु उदाङ्ग्याउने काम गर्नुपर्छ । सत्तासीन दलका नेता, मन्त्री, सांसद र कार्यकर्ताहरूलाई भ्रष्ट पार्ने, भ्रष्ट पार्न उचाल्ने दलालहरूलाई जनतामाझ उदाङ्ग्याउनुपर्छ ।
आफ्नो सिद्धान्त र आदर्श छोडेर देश र जनताविरोधी काम गर्ने, समाजमा आर्थिक, सामाजिक एवम् सांस्कृतिक अराजकता बढाउने कार्यको हामीले निन्दा गर्नैपर्छ । सरकारको नेतृत्व गरिरहेका दलका नेताहरूले अपराधी, भ्रष्टाचारी र कामचोरहरूको पक्ष लिएर न्यायपालिकालाई अप्ठ्यारोमा पार्ने काम भइरहेको अनुभव स्वयम् कानुनविद्हरूले अथ्र्याउँदै आएको यथार्थ हो । प्रजातन्त्र र समाजवादमा विश्वास गर्ने भनिएका दलभित्रै प्रजातन्त्र र समाजवाद खोज्नुपर्ने आवश्यकता राजनीतिक विश्लेषकहरूले गर्न थालेका छन् । सार्वजनिक कारखाना तथा उद्योगधन्दा निजीकरण गर्ने, निजीकरण गर्न जोड दिने र त्यसको पछि पछि लाग्ने दलको कारण देशको अर्थतन्त्र कमजोर हुँदै गएकोमा शङ्का छैन । यही कारण देशमा भ्रष्टाचार, अनियमितताले ठाउँ पाएको हो ।
शिक्षा क्षेत्रमा देखिएको स्तरहीनता र असमानता, स्वास्थ्य सेवामा देखिएको अराजकता, अकर्मण्यता र जिम्मेवारीहिनताले सबै ठाउँ अस्तव्यस्तझैँ हुन थालेको छ या व्यवस्थित हुन सकिरहेको छैन । सत्तासीन दलका नेताहरूको स्पष्ट दृष्टिकोण र अडान नहुँदा, राजनीतिलाई कमाउधन्दा बनाउँदा र पद र पैसाको राजनीति गर्दा सर्वसाधारण जनतामा समेत गलत सन्देश पुगेको छ । यही कारण निर्वाचनमा सर्वसाधारण जनता मत हाल्न पैसा माग्छन्; सामान माग्छन् या कुनै सेवा सुविधा पाएपछि आफ्नो मत हाल्छन् । यो शासक या ठुला दलका नेता, मन्त्री, सांसद र कार्यकर्ताहरूकै कारण भएको हो । जनताको स्वच्छ भावना र विचार भाँड्ने, बिगार्ने या मनस्थिति बिगार्ने काममा शासकहरू नै दोषी छन् । हरेक राजनीतिक दलको एक न एक वर्ग आधार र राजनीतिक दर्शन, विचार हुन्छ भन्ने थाहा हुँदाहुँदै ती दर्शन र विचारलाई बन्धक राखेर अघि बढेपछि देशको राजनीति कसरी सही ढङ्गले अघि बढ्छ ? राजनीति बिगार्ने, राजनीतिप्रति वितृष्णा फैलाउने र जनतामाझ गलत सन्देश पु¥याउने काममा शासकहरू लागेकाले जनतामा निराशा बढेको हो ।
यो क्रम सरकारको नेतृत्व पटकपटक फेरिए पनि चलिरह्यो । एउटा सरकार असफल भएपछि अर्काे नयाँ बन्ने सरकारले विगतको कमी कमजोरी हटाएर शिक्षा लिई अघि बढ्नुपर्ने हो । ठुला दलहरू खालि सरकारको नेतृत्व गर्नकै निम्ति, सरकारमा सामेल भएर सेवा सुविधा लिनकै निम्ति राजनीतिमा लागेको कारण ती शासकहरू नेपाल र नेपाली जनताको अहित र विदेशीको हित हुने काममा लागे । यो नेपाल र नेपालीको निम्ति दुर्भाग्यको विषय हो । सरकारको नेतृत्व गर्ने र सरकारमा सामेल भएका दलका नेताहरूको ध्यान नपुग्दा, समयमै विचार नपु¥याउँदा र दूरदर्शी नहुँदा आज देशले दुर्गति भोगिरहेको हो । देशको यो स्थितिलाई ढाकछोप गर्न प्रम ओलीले ‘देश धेरै हिसाबले अगाडि लम्किँदै छ’ भनी फुके । ‘समृद्ध नेपाल सुखी नेपाली’ को लक्ष्य हासिल गर्ने काम सरकारले खोकेर होइन व्यवहारमा गरेर देखाउनुपर्छ ।
Leave a Reply