भर्खरै :

खोटो विचारको समयमै खबरदारी गर्नु आवश्यक

नेपाल र नेपाली कामदारवर्गको हितमा निरन्तर सङ्घर्ष गर्ने पार्टी देशको निम्ति आवश्यक छ । आफूलाई देश र जनताको एक सच्चा राजनीतिक शक्तिको रूपमा परिचय दिने पार्टी देशको निम्ति आवश्यक छ । पार्टीको सिद्धान्त र विचारअनुसार इमानदारीपूर्वक राजनीति गर्ने, सिद्धान्त र विचार जनतामाझ पु¥याउने तथा सिद्धान्त र विचार छिनछिनमा फेरबदल नगर्ने पार्टी नेपाली जनतालाई खाँचो छ । सिङ्गो नेपाल र नेपाली जनताको स्वार्थ हेर्ने, दलगत र व्यक्तिगत स्वार्थ नखोज्ने दल जनताको निम्ति आवश्यक छ । देश र जनताभन्दा पार्टी ठुलो ठान्ने, देश र जनताको सेवाभन्दा दलगत र व्यक्तिगत स्वार्थ खोज्ने दल नेपाली जनताको निम्ति जरुरी छैन । नेपालको कम्युनिस्ट आन्दोलन अघि बढाउने र कम्युनिस्ट पार्टीलाई सही दिशातर्फ लाने पार्टी देशको लागि आवश्यकता हो ।
कुनै राजनीतिक दलको नाउँ कम्युनिस्ट हुँदैमा सच्चा कम्युनिस्ट पार्टी हुँदैन । माक्र्सवाद–लेनिनवादलाई देश, काल र परिस्थितिअनुसार लागु गर्न अघि बढेको कम्युनिस्ट पार्टीले मात्र कम्युनिस्ट आन्दोलन अघि बढाउँछ । कम्युनिस्ट भनिने दलले पाएको मतको आधारमा नेपालमा कम्युनिस्ट पार्टी बलियो या कम्युनिस्ट पार्टी प्रति राम्रो प्रभाव भएको देखिन्छ । बहुमत जनता कम्युनिस्ट पार्टीप्रति प्रतिबद्ध र आश्वस्त देखिन्छन् । त्यही भएर पुँजीपतिवर्गको स्वार्थ पूरा गर्न लागेका दलहरू पनि कम्युनिस्ट पार्टी भएर लागेका देखिन्छन् । नाउँ कम्युनिस्ट भए पनि व्यवहारमा पुँजीपतिवर्गको पक्षपोषण गर्ने दलका नेताहरूले देशमा झूटको राजनीति गरिरहेका छन् या उनीहरूले इमानदारीपूर्वक राजनीति गरिरहेका छैनन् । उनीहरूले पटकपटक सरकारको नेतृत्व गरे पनि कम्युनिस्टको सिद्धान्त र विचारअनुसार ऐन कानुन बनाएनन्; देश र जनताको हितमा काम गरेनन्; गर्न चाहेनन् । संशोधनवाद र वामपन्थी अवसरवादमा पतन भएका दलका ती नेता र मन्त्रीहरू के देशमा समाजवाद स्थापना गर्न लाग्लान् ? त्यस बाटोमा लाग्ने छाँटकाँट नेपाली जनताले देखेका छैनन् । यो समयले देखाएको यथार्थ हो ।
हरेक राजनीतिक दल एक राजनीतिक दर्शन, एक निश्चित आदर्श समाज निर्माण र वर्गीय आधारमा स्थापना गरिएको हुन्छ । त्यस दर्शन र सिद्धान्तको आधारमा नेता तथा कार्यकर्ताले राजनीति गरेका हुन्छन् र विभिन्न चेतनामूलक कार्यक्रम गरेका हुन्छन् । व्यापक जनता सचेत र सङ्गठित नभइकन यहाँ परिवर्तन सम्भव छैन । परिवर्तनबिना जनताले सुख, शान्ति पाउने छैनन् या जनताको जीवन सुनिश्चित हुनेछैन । तर, सत्तामा पुगेका राजनीतिक दलका नेताहरू न जनतालाई राजनीतिक र सैद्धान्तिकरूपले तयार गर्छन् न त व्यापक जनताको हितमा ऐन कानुन बनाउँछन् । सत्ताको निम्ति सिद्धान्त र विचारको ख्याल नगर्ने, देशघाती र जनघाती सन्धि सम्झौता पारित गर्ने दलका नेताहरूको कारण सरकारप्रति जनताको विश्वास गुम्दै गएको हो । देशका सबै कम्युनिस्ट भनिने दलहरूले नेमकिपाले झैँ सैद्धान्तिक, राजनीतिक र व्यावहारिरूपमा जनतालाई सचेत पार्दै आएका भए, इमानदारीपूर्वक राजनीति गरेका भए जनता सचेत र सङ्गठित हुन्थे र कम्युनिस्ट पार्टीप्रति जनताको विश्वास बढ्थ्यो ।
सत्ताको निम्ति राजनीति गरिरहेको हुँदा देशले विकास गर्न सकेन; विकास गर्न दिशानिर्देश गर्न सकेन । सत्तासीन दलका नेताहरू पद र पैसामा भुले; भागबन्डाको राजनीतिमा लागे । सत्तामा बस्न नै उनीहरूले कहिले पनि भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गरेनन्; भारतीय एकाधिकार पुँजीको विरोध गरेनन् । देशलाई पूर्णतः स्वाधीन बनाउन, सार्वभौम बनाउन र आत्मनिर्भर बनाउन अघि नसर्ने शासकहरूले जतिसुकै घाँती फुलाएर समृद्ध देश र सुखी नेपालीको नारा दिए पनि त्यो पूरा गर्न सक्ने छैनन् । हाल देशको अर्थतन्त्र सुदृढ नहुनु र जनताको जीवनस्तर नउठ्नुको कारण पनि त्यही हो ।
सिद्धान्ततः कम्युनिस्टहरू वर्गसङ्घर्षलाई विश्वास गर्छन् । वर्गसङ्घर्षबिना समाज परिवर्तन नहुने विश्वास कम्युनिस्टहरूको हो । समाज वर्गमा विभाजित हुने हुँदा वर्गसङ्घर्ष स्वाभाविक हो । पुँजीवादी निर्वाचनबाट देशमा आमूल परिवर्तन नहुने कम्युनिस्टहरूको भनाइ हो । कम्युनिस्ट भनिने दलका नेताहरूले सरकारको नेतृत्व गरे पनि यहाँ कुनै मौलिक परिवर्तन भएन । बरु, कम्युनिस्ट पार्टीले नेतृत्व गरेको देशमा कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारविपरीत गतिविधि भइरह्यो; कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टीकै बदनाम गर्ने काम भइरह्यो । अतः कुनै पनि कम्युनिस्ट पार्टी या अन्य दलको खोटो विचारको समयमै खबरदारी गर्नुपर्छ† सही दिशामा ल्याउने मार्ग कोर्नुपर्छ । यो काम नेमकिपाले गरिरहेको विश्लेषण राजनीतिज्ञहरूको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *