भर्खरै :

भक्तपुर महोत्सव : भक्तपुरवासीहरूको साझा महोत्सवको रूपमा विकास गर्न सफल

भक्तपुर महोत्सव : भक्तपुरवासीहरूको साझा महोत्सवको रूपमा विकास गर्न सफल

भक्तपुर, ११ पुस । भक्तपुर नगरपालिका वडा नं. ४ को आयोजनामा मङ्सिर २८ गतेदेखि पुस २ गते सम्पन्न भक्तपुर महोत्सव भव्य र सभ्यरूपमा सम्पन्न गर्न योगदान गर्नुहुने संस्कृतिकर्मी, दाफा भजन, स्थानीय महिला समुदाय, टीम क्लव, स्वयम्सेवकलगायत प्रत्यक्ष तथा परोक्षरूपमा सहयोग गर्ने सम्पूर्णमा धन्यवादज्ञापन कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर महोत्सव भक्तपुरवासीहरूको साझा महोत्सवको रूपमा विकास गर्न सफल भएको बताउँदै महोत्सवमा भक्तपुरवासीहरूले आ–आफ्ना परम्परागत सीप, मौलिक विषयहरू प्रदर्शनी गर्नुका साथै जनताहरू स्वयमस्फूर्तरूपमा परिचालित भएकोमा सम्पूर्णमा धन्यवादज्ञापन गर्नुभयो ।
महोत्सवमा २०० ठाउँमा विभिन्न गतिविधि र प्रदर्शनीहरू हुनु आफैमा गौरवको विषय भएको बताउँदै उहाँले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भक्तपुर महोत्सवको आयोजना गरिएको बताउनुभयो ।
पर्यटन प्रवद्र्धनमा बाह्य पर्यटनमा मात्र भर पर्न नहुने बताउँदै उहाँले कोभिडको समयमा विदेशी पर्यटकहरू नेपाल नआउँदा देशको अर्थतन्त्रमा प्रत्यक्ष असर पु¥याएको अनुभव सुनाउनुभयो ।
भक्तपुर महोत्सव २०८१ मा करिब ७ लाख २० हजार पर्यटकहरूले भक्तपुर भ्रमण गरेको अनुमान रहेको बताउँदै उहाँले महोत्सवले भक्तपुर के हो र यहाँका विशेषताहरू प्रदर्शन गर्ने महत्वपूर्ण अवसरको रूपमा रहेको बताउनुभयो ।
महोत्सव अवधिभर पार्किङ व्यवस्थापन, नगरको सरसफाइ सन्तोषजनक रहेको बताउँदै भक्तपुर महोत्सव जनताको अपार सहयोगले सफल भएको हो भन्नुभयो ।
भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले महोत्सव अवधिभर जिम्मेवारी लिएर प्रदर्शनी गर्ने सम्पूर्ण संस्कृतिकर्मी, दाफा भजन, स्थानीय महिला समुदाय, टीम क्लब, स्वयम्सेवकलगायतमा धन्यवादज्ञापन गर्नुभयो ।
उक्त कार्यक्रममा भनपा वडा नं. ४ का वडा सदस्य विष्णुकेशरी दुवाल, कृष्णसुन्दर प्रजापति, पूर्वजनप्रतिनिधि पशुपति प्रजापति र कृष्णलक्ष्मी दुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *