भर्खरै :

कामदार जनताका लागि समाजवाद अपरिहार्य

कामदार जनताका लागि समाजवाद अपरिहार्य

भक्तपुर, २१ पुस । नेपाल क्रान्तिकारी महिला सङ्घ चाँगुनारायण नगर समितिको आयोजनामा विश्व सर्वहारावर्गका नेताद्वय स्तालिन र माओ त्सेतुङको जन्मदिवसको अवसरमा शुक्रबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले समाजवादी व्यवस्थामा मात्र योग्यताअनुसारको काम, कामअनुसारको ज्याला पाउने, उद्योगहरू सामाजिकीकरण हुने, शिक्षा र स्वास्थ्य निःशुल्क हुने, ज्येष्ठ नागरिकहरूको लागि आदर निकेतनको बन्दोबस्त हुने, बालबालिकाको लागि बाल उद्यान र शिशुशालाको बन्दोबस्त हुने भएकोले समाजवादी व्यवस्था अपरिहार्य भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “चीन समाजवादी बन्दोबस्त भएको देश भएकोले शिक्षा, प्रविधि र आर्थिक विकास तीव्ररुपमा भएको हो, चिनियाँ जनता अशिक्षित, अज्ञानी र गरिबीबाट मुक्त हुन सफल भएको छ ।”
विद्यार्थीहरूलाई १०–१५ लाखमा एमबीबीएस पढाउने उद्देश्यले ख्वप विश्वविद्यालयको स्थापनाको माग गरेको तर हालसम्म सरकारले स्वीकृति नदिएको हुँदा जनताका छोराछोरीहरूले सस्तो र सुलभ तवरबाट एमबीबीएस अध्ययन गर्न नपाएको उहाँले बताउनुभयो ।
नेमकिपा चाँगुनारायण नगर समितिका अध्यक्ष एवम् भक्तपुर जिल्ला उपाध्यक्ष न्हुछेँभक्त फोजुले चिनियाँ जनक्रान्ति सफल पार्न, समाजवाद दिगो पार्न, चीनको विकास तीव्र बनाउन अध्यक्ष माओले गर्नुभएका योगदानबारे बताउनुभयो ।
अध्यक्ष फोजुले स्तालिन सिद्धान्तमा सम्झौता नगर्ने, सिद्धान्तनिष्ठ, कुशल सङ्गठनकर्ता, निडर, अध्ययनशील व्यक्तित्व हुनुहुन्थ्यो भन्नुभयो ।
प्रतिक्रियावादी सङ्घसंस्थामा पसेर देश र जनताको सेवा गर्न सकिन्छ भन्ने लेनिनवादी सिद्धान्तअनुरुप नेमकिपाले स्थानीय तह, प्रदेश र सङ्घमा भाग लिई देश र जनताको सेवा गर्दै आइरहेको उहाँले बताउनुभयो ।
नेमकिपा जिल्ला सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य गीता काफ्लेले माओको जीवनी र वाग्मती प्रदेशमा नेमकिपाको तर्फबाट देश र जनताको हितमा उठाएका विषयहरूमाथि बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष सानु लागेजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा कमला भारती र कविता कासुलाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *