भर्खरै :

बिकुवा थिङ्क ट्याङ्क

बिकुवा थिङ्क ट्याङ्क

आफ्नो परम्परागत रैथाने सीप, ज्ञान र प्रविधिमा आधारित मुलुकको अर्थतन्त्र बनाउने कार्यक्रम तय नगर्ने मुलुकको भविष्य अफगानिस्तानको आजको हैसियतको हुने निश्चित छ । ती मुलुकहरूमा शिक्षित भनिएका र विदेशमा गएर विज्ञ कहलिएकाहरूलाई समेत सङ्गठित माफिया र बिचौलियाहरूले आफ्नो बृहत् सञ्जालमा लिने र उनीहरूको निजी स्वार्थपूर्तिमा टेको दिएर मुलुकलाई विदेशी उत्पादन र प्रविधि बिक्री गर्ने एकलौटी बजारका रूपमा विकास गर्ने ठेक्का दिने गर्छन् । यो संयन्त्रमा मुलुकको प्रधानमन्त्रीसम्म बनिसकेका नेतादेखि समाजमा ठुला समाजसेवीको आवरणमा रहेका मानिसहरूसमेत भूमिगत छन् ।
त्यस्ता देशहरूमा अनुसन्धानमा आधारित इनोभेटिभ परियोजना र कार्यक्रमहरू सञ्चालन हुनै नसक्ने गरी कानुन बनाएर नै थला पारिएको हुन्छ । मुलुकका पढेलेखेका भनिएकाहरूबाट पैसा र पदको लोभमा आफ्नो नैतिकता र इमान बिक्री गर्न तयार हुने विद्वत्तम वर्गमध्ये सबैभन्दा धूर्त मानवलाई छानीछानी नीति नियम निर्माण गर्ने, परिमार्जन गर्ने र कार्यान्वयनको निर्णय गर्ने स्थानमा आसीन गरिन्छ । सयौँ वर्षको नियमित अभ्यासअनुरूप राज्य व्यवस्थापनको सानो सानो छिद्रसम्म पुग्न सफल भएको माफियातन्त्रका सदस्यहरू निर्मित माफिया सुपर क्लस्टर यति शक्तिशाली देखिन्छ कि सानोतिनो लेख, आग्रह र वा अप्रेसनले होइन मुलुकको कुनै मन्त्री र क्याबिनेट स्तरकै निर्णयबाट समेत मुलुकको हित हुने दिशामा निर्णय गरिएछ भने पनि त्यो योजनाले मूर्तरूप लिनुभन्दा निकै पहिले सजिलै तुहाइदिन उक्त ग्रायन्ड डिजाइन समेत भेटिन्छ ।
संसारमा मुख्यतः दुई प्रकारका अनुसन्धानहरू हुन्छन् । एउटामा कुनै पनि विषयवस्तुमा खोज गरिन्छ । तर, त्यसको निष्कर्ष केमा सदुपयोग गर्ने भन्ने सोचाइ राखिन्न । त्यो एकेडेमी वा सैद्धान्तिक प्रकृतिको अनुसन्धान हो । त्यो काम विश्वविद्यालयहरूले गर्छन् । अर्को कुनै पहिचान गरिएको समस्या सुल्झाउने उद्देश्यले गरिने व्यावहारिक अनुसन्धान हुन्छ । व्यावहारिक प्रकृतिको अनुसन्धानहरू हाताहाती प्रतिफल दिने गरी व्यावसायिकीकरण गर्न सकिने ठुलो सम्भावनाहरू बोकेका हुन्छन् । त्यो निजी क्षेत्रले गर्छ ।
निजी क्षेत्रलाई हाताहाती प्रतिफल दिने व्यावहारिक अनुसन्धान सञ्चालन गर्न र अनुसन्धानबाट प्राप्त इनोभेटिभ आइडिया वा सोलुसनलाई व्यावसायिकीकरण गर्न सघाउन मुलुकभित्र निजी क्षेत्रको आइडिया इन्कुबेसन र कमर्सियलाइजेसन केन्द्रहरू व्यवस्था गर्न सरकारले अहम् भूमिका खेल्नु जरुरी हुन्छ । आइडिया इन्कुबेटर र कमर्सियलाइजेसन केन्द्रहरू मुलुकमा इनोभेसनको कल्चर विकास गर्न र इनोभेसन गतिविधिहरू सञ्चालन गर्नका लागि अनिवार्य रहेका बडी अफ नलेज बेस संस्थाहरू हुन् ।
हिजोआज सामाजिक सञ्जालको तीव्र विकासले आफूले चासो राख्ने क्षेत्रमा संसारभरि के के भइरहेको छ भन्ने कुरा संसारभरका मानिसहरूले तुरुन्तै थाहा पाउन सम्भव बनेको छ । सामाजिक सञ्जालको विकासले सबैजसो राज्यको ढुकुटी प्रायः सङ्गठित माफियाहरूको नाफाका रूपमा थुप्रिन पुग्ने मुलुकहरूमा मूलतः ३ वटा अवसर उपलब्ध गराएको छ ।
पहिलो अवसरमा अन्तर्राष्ट्रिय दलाल पुँजीपतिवर्गले दिने कमिसनबाट सञ्चालित ठुला मिडिया हाउसहरू आफू कार्यरत देशमा उक्त मुलुकलाई अन्तर्राष्ट्रिय दलाल पुँजीपतिवर्गको एकाधिकार बजार बनाउन सहयोग हुने गरी सम्प्रेषण गरिने नियोजित खबर, लेख, रिपोर्ट तथा अन्य सन्दर्भ सामग्रीमा सर्वसाधारण मानिसको विश्वास छैन ।
ती सबै आफ्नै मालिकको निर्देशनमा स्रोतवाला र स्रोतवालीको नाममा आउने फगत जनता उल्लु बनाउने खोसेल्टा रहेको चेतना जनताबिच प्रस्ट बनेको छ । मुलुकले आफ्नो हितका लागि कस्तो शिक्षा, प्रविधि र नीतिगत सुधार अवलम्बन गर्नुपर्छ भन्ने सम्बन्धमा प्रायोजित पात्रमार्फत त्यस्ता मिडियाहरूमा तामझामसहित छापिने लेख र सूचना मुलुकभित्र कौडीको मूल्यमा समेत नबिक्ने परिस्थिति निर्माण भएको छ ।
चुस्त रकम वा अन्य लाभ लिएर कुनै अमुक नेता वा गिरोहको अमुक स्वार्थ पूरा गर्न त्यस्ता मिडियाहरूमा छापिने सनसनीपूर्ण समाचारले एउटा यू–ट्युबर र टिकटकको पोस्ट जति पनि जनप्रतिक्रिया नपाउने स्थिति बन्नु अत्यन्त सकारात्मक परिस्थितिको निर्माण हुनु हो ।
मुलुकका लागि विषाक्त रहेको नियोजित भ्रमयुक्त विचार सम्प्रेषण गरी त्यो बापत अन्तर्राष्ट्रिय दलाल पुँजीपतिवर्गले दिने कमिसनबाट सञ्चालित ठुला मिडिया हाउसहरू आज जनताको सम्पर्कबाट पनि निकै टाढा पुगिरहेको प्रमाणको रूपमा उनीहरूले गर्ने राजनीतिक र अन्य प्रक्षेपणहरू लिन सकिन्छ । उनीहरू जसका विरुद्ध लेख्ने गर्छन्, तिनै जनअनुमोदित बन्छन् । उनीहरू जसको तारिफ गर्छन्, तिनीहरू जनताबिच बदनाम पात्र हुने गर्छन् । तिनीहरू जसको बदनाम गरी समाचार लेख्छन्, तिनीहरू जनताबाट प्रायः परिपूजित भेटिन्छन् । यो परिस्थिति मुलुकको उन्नतिको लागि राम्रो अवसर हो ।
दोस्रो अवसरमा अन्तर्राष्ट्रिय दलाल पुँजीपतिवर्गले आफ्नो स्वार्थसिद्धिका लागि दशकौँ लगाएर निर्माण गरेको र आफ्नो स्वार्थ साँध्न उपयोगमा ल्याउने गरेका भूमिगत गिरोहका नेता तथा सामाजिक कार्यकर्ताहरूको समेत समाजमा पकडशून्य रहनु हो । उनीहरूको हालको हैसियत नैतिकता र इमान बिक्रीमा राखेर सडकमा निक्लिएका विद्वत्तम् वर्गलाई आफ्ना मालिकको स्वार्थअनुरूप खुरुखुरु काम गरिदिने राजनीतिक तथा नीतिगत निर्णयबाट सम्भव हुने पदमा आसीन गरी आफ्नो आय निश्चित पार्नुमा मात्र सीमित देखिन्छ ।
निश्चित अमुक पार्टीका टाउके नेता, लाउके नेता वा युवा नेता भनी चर्चित ती महाशयहरूमाथि जनतामा स्तरमा फिटिक्कै न कुनै श्रद्धा, न कुनै आशा वा भरोसा नै देखिन्छ । आशा, भरोसा र विश्वास सबै गुमेका नेताहरू जनताको मस्तिष्कमा टोले गुन्डाको हैसियतको भेटिन्छन् । त्यो टोले गुन्डा, जसलाई मनमा रिस उठेमात्र केही न केही गरी जनतालाई दुःख दिने गर्छ । मात्र त्यो अनिष्ट आइनलागोस् भनी सकेसम्म तर्केर हिँड्ने, झुक्किएर भेट भए ‘नमस्कार हजुर’ भनिदिन्छन् जनता । तर पनि चुनावी माहौलमा जो छाने पनि देश र जनताको होइन, आफै बन्न आएका जोगी देखिँदा कुनै एउटा छानिन पुग्ने परिस्थितिबिच मुलुकभर रहेको राजनीतिक पार्टीको अघोषित गुन्डागर्दीमा पुरानै पार्टीका कुनै न कुनै पुरानै अनुहार छानिने गर्छन् ।
तेस्रो अवसरमा, मक्किएको दलाल पुँजीपतिवर्ग सञ्चालित मिडिया, तथाकथित बडे नेता तथा समाजसेवी तथा तिनैको दौराको फेरो समातेर उच्च पद धारण गरेका तथाकथित विज्ञ वा योजनाविद्हरू समेत सन्दर्भविहीन बनेका छन् । सामाजिक सञ्जालमार्फत बाहिरिएका सन्देशहरू मुलुकमा खराब प्रवृत्तिका व्यक्ति र समूहको सन्देश पु¥याउने शक्तिशाली यन्त्र बन्न सकेको छ ।
कोही मन्त्री भएको थियो रे भनी सुन्यो भने एक सर्वसाधारणको मनमा त्यो कि भ्रष्टाचारी होला, कि अपहरणकारी होला, नभए पक्कै भूमिगत गिरोहको मान्छे होला भन्ने भावना उब्जिहाल्छ । राजनीतिक नियुक्ति लिएको विद्वान् रे भनिदियो भने यिनी कुन विदेशी ग्राफियाका एजेन्ट होलान् वा कुनै आन्तरिक माफियाकै कारिन्दा परे कि नभए पक्कै पाउमा चुस्त दाम चढाएर पद उछिड्याए भन्ने अनुमान सुरु हुन्छ । जनस्तरको ती अनुमानहरू ९० प्रतिशतमाथि नै यथार्थमा सही रहने प्रायः सबै भुक्तभोगीहरूलाई थाहा छ ।
हुन पनि मुलुकभित्र सर्वसाधारणको मनमा चल्ने तरिकाहरूबाहेक अन्य तरिकाबाट मुलुकको उच्च पदमा पुग्नै नसकिने गरी माखेसाइलाहरू बुनिएका छन् । विगतका अनुभवहरूले गाउँदेखि प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रपतिको कार्यालयसम्म त्यस्ता माखेसाइलाहरूको बलिष्ठ उपस्थिति रहेको प्रस्ट गर्छ । धन्न सामाजिक सञ्जालहरूको आशीर्वादबाट तथाकथित विज्ञहरू, योजनाविद् भनिएकाहरू, मुलुकको मुख्य नीति नियम र वित्तनीति बनाउने स्थानमा पुगेकाहरू सबैको यथार्थ जनतामा पुग्न पाएको छ । भ्रष्ट नियतका माफियाका ती कारिन्दाहरूउपर जनविश्वास नरहेकाले तिनीहरू स्वयम् तिनकै लगानीकर्ताका रूपमा रहेका माफियाहरूका लागि निकै लामो समयको विशाल लगानीको प्रतिफल दिन नसक्ने एउटा बैला गाईको बाच्छी बन्न पुगेका छन् । भालुको कम्पटमा परिवर्तन भएका छन् ।
यसमा दशकौँदेखि गरिब मुलुकलाई आफ्नो एकाधिकार बजार बनाएर कमाइरहेकाहरू अनभिज्ञ पक्कै छैनन् । भएका परम्परागत माफिया संयन्त्रको उपयोगिता सकिँदै गर्दा अफगानिस्तानमा जे भयो, अन्यत्रसमेत त्यही मोडल लागु गर्न माफियातन्त्र लागिपरेको ती मुलुकमा हुँदै गरेका गतिविधिहरूबाट अनुभूति गर्न सकिन्छ । त्यसका प्रस्ट देखिने केही आधारहरू तल व्याख्या गरिएको छ ।
विश्वमा गरिब रहेका मुलुकलाई सम्भ्रान्त गर्ने आइडिया इन्कुबेसन र कमर्सियलाइजेसनजस्ता तरिकाहरू माफियाहरूको चङ्गुलमा फसेका मुलुकहरूमा उपयोगमा ल्याउन दिइँदैन । त्यस्ता मुलुकहरूमा उक्त प्रकारका अग्रगामी मोडलहरू भित्रिनुअघि जनस्तरमा नै त्यसबारे निराशा पैदा गरी सदाका लागि मार्ग बन्द गर्ने प्रपञ्चहरू चल्ने गर्छ । त्यसअन्तर्गत नयाँ बोतलमा पुरानै रक्सी पस्केसरि माफियाहरूको पकडमा रहेको सरकारी, गैरसरकारी र निजी प्रकृतिका पुरानै संरचना र पुरानै कार्यक्रमलाई नयाँ इनोभेसनका नाम दिइएर सञ्चालन गरिन्छ ।
माफियाहरूले चलाएको मुलुकलाई विदेशी सामानको एकाधिकार बनाउने मिति सकिएका तालिम र अभिमुखीकरणजस्ता व्यक्तिमा रहेको इनोभेटिभ विचारको समेत हत्या गरिदिने कार्यक्रमहरूलाई आइडिया इन्कुबेसन र कमर्सियलाइजेसनअन्तर्गतको इनोभेटिभ कार्यक्रम भनी प्रचार गरिन्छ । मुलुकको सम्भावित उद्यमीमा आइडिया इन्कुबेसन र कमर्सियलाइजेसन भन्ने कुरा पनि पुरानै पाराको गफास्टक कुरा रहेछ भन्ने गहिरो छाप कमर्सियलाइज हुन्छ । आइडिया इन्कुबेसन र कमर्सियलाइजेसनजस्ता कुराहरू अन्यत्र चले पनि यो मुलुकमा चल्दैन, नियतवश नै पुरानो जे छ, त्यही सर्वोत्तम छ भन्ने सामाजिक अवधारणा विकास गर्न सम्पूर्ण शक्ति खर्च गरिन्छ ।
हिजोआज विश्वमा प्रमाणित नै भएको यथार्थ के हो भने आजको युनिभर्सिटी मोडेलमा व्यावहारिक अनुसन्धानअन्तर्गत प्राज्ञहरूले अब्बल भनी दाबी गर्ने पब्लिक प्रात्ेट पार्टनर सीप मोडलमै कुनै व्यावहारिक रिसर्च गरियो भने पनि त्यसको लगभग एक हजार डलर मूल्य बराबरको व्यावहारिक अनुसन्धानका निष्कर्षलाई व्यावसायिकीकरण गर्न एकदेखि १० मिलियन डलरसम्म लाग्छ ।
तैपनि, त्यो व्यावसायिकीकरणले लगानी उठाउने निश्चित गर्दैन । त्यसलाई आजको उच्च विकसित मुलुकको परिवर्तनशील बजार प्रणालीले समेत धान्न सक्दैन । त्यो कसैका लागि पनि व्यावहारिक हुँदैन । माफियातन्त्रले निलेको गरिब मुलुकहरूमा त झन् त्यो कल्पनाको समेत विषय हुन सक्दैन । ती मुलुकका माफियातन्त्रले यो कुरा राम्ररी बुझेको प्रतीत हुन्छ ।
समयको तीव्रगतिसँगै केही अमुक गरिब मुलुकहरूमा मक्किँदै गएको माफिया संयन्त्र आफ्नो सम्पूर्ण शक्ति इनोभेसनका नाममा पुरानै १५० वर्षको बडी अफ नलेज बोकेको, अमुक मुलुकलाई सम्पूर्ण रूपमा सय वर्षदेखि विदेशी एकाधिकार बजार बनाएको कन्टेन्ट र ज्ञानलाई पुनः नयाँ विश्वविद्यालयको नाममा प्रदेश र नगरपालिका स्तरसम्म पु¥याएर कम्तीमा अर्को २ सय वर्ष आफै लुटिखाने मुलुक बनाउने प्रयत्नमा लागि परेको भेटिन्छ । टोलटोलका केही अमुक टोले गुन्डाहरूसमेत विश्वविद्यालय बनाउने भन्दै दगुरेका भेटिन्छन् । एउटा सामान्य माध्यमिक विद्यालय सञ्चालन हुने पूर्वाधार र बजेट नभएका संरचनाहरूलाई विश्वविद्यालय बनाउने घोषणा दैनिक भइरहेका देखिन्छन् ।
विश्वबाट परम्परागत पब्लिक प्रात्ेट पार्टनरसिप मोडल नकाम बनेर को–क्रिएसन मोडलबाट प्रतिस्थापन हुँदै गर्दा सरकार परिवर्तन हुनेबित्तिकै हिजोआज विदेशी प्रभुहरूको चन्दा व्यवस्थापन गर्न खटिएका अमुक मुलुकका महाशयहरूलाई सरकारको उच्च तहमा विराजमान हुने चिट्ठा परेको देखिन्छ । ती महाशयहरू जसको निगाहले आफूलाई चिट्ठा परेको हो, उसैलाई खुसी पार्न मिति सकिएको परम्परागत पब्लिक प्रात्ेट पार्टनरसिप मोडल सरकारको क्रान्तिकारी नीति भनी ल्याउन दिनरात मरेर लागेका छन् ।
संसारका विकसित मुलुकका उद्यमहरूले सहजै मुनाफा कमाई तत्कालै परिवर्तित बजारको माग पूर्ति गर्न सक्षम इनोभेटिभ कम्पनीमा परिवर्तन सफल गराएको को–क्रिएसन मोडल नेपालमा भित्रिनसमेत नदिएर आफ्नो सम्पूर्ण बलबुता तिनै परम्परागत माफियातन्त्रको सेवामा सुम्पिन लागिरहेको देखिन्छ ।
केही अमुक मुलुक त्यस्तो बने, जसको सरकारी संयन्त्रले मिलाएर निकालेको हिसाबमा समेत कुल आयात कम्तीमा ७३ प्रतिशत र निर्यात धेरैमा ७ प्रतिशतमा सीमित छ । त्यो भनेको आफ्नो उत्पादन भन्ने केही नभएको मुलुक आफ्नो मातृभूमिलाई अर्काको एकलौटी पेवा बन्न दिएर आफ्नो युवाहरूको श्रम बिक्री गरेर बिनासङ्कोच माफियातन्त्रलाई आफ्नो सर्वस्व बुझाइएको छ । तर पनि त्यहाँ तिनैका मुलुक समृद्धि गर्ने नारा बिक्ने गर्छन्, जसले मुलुक कङ्गाल बनाए । मुलुकको निर्णय क्षमता प्रभुको पाउमा थमाए । प्रभुको आदेशमा मुलुक रणभूमिमा परिवर्तन गरी हजारौँ हजार निर्दोष गरिब जनताको रगतको होली खेले ।
एउटा मुलुक जुन प्राकृतिक स्रोत, जडीबुटी, परम्परागत ज्ञान र प्रविधि तथा परम्परागत धार्मिक सहिष्णुतामा अत्यन्त धनी क्षेत्र छ । त्यो मुलुकको जडिबुटी क्षेत्रमा अत्यन्त धनी भूभाग मुलुकै सबैभन्दा पिछडिएको भूभागको रूपमा चर्चित छ । त्यो मुलुकको योजनाविद्, लामो समय मुलुकमा नेता भई बसेका नेताहरूलगायत माफियातन्त्रका हरेक कनिष्ठ सदस्य समेतलाई के थाहा छ भने सरकारको अत्यन्त प्रतिकूल नियम कानुन, निरन्तरको असहयोगका बाबजुद तयार भएका जडिबुटीका कच्चा पदार्थको त्यो मुलुकबाट यदि १ रूपैयाँमा बाहिर जान्छ भने त्यो बडी अफ नलेज–एड अर्थात् भेलुएड भएर सामान्य प्रशोधन र केही आधुनिक फर्मुलेसनपश्चात् उपभोग्य पदार्थका रूपमा १५०० रूपैयाँमा सोही मुलुकमै पुनः फर्कन्छ । मुलुकवासीहरू त्यसको उपयोगबाट आफ्नो जीवनयापन गर्न बाध्य छन् ।
त्यहाँको हर्बल निर्यात र हर्बल निर्मित उपभोग्य वस्तुको आयातको चक्रभित्र हर्बल प्रशोधन र फर्मुलेसनको ५ प्रकारको ज्ञान र प्रविधिको अभावको खाडल छ । जसको राज्यले खोजी गरी व्यवस्था गर्न सक्दा मुलुकको उत्पादनले मुलुककै उद्यमीलाई मूलकको आफ्नै आयात प्रतिस्थापन गर्न सक्षम गर्न सक्छ । सो गर्न सक्दा १ रूपैयाँमा बेच्दादेखि १५०० रूपैयाँमा भित्याउने चक्र बिचमा कम्तीमा ७ प्रकृतिका स्वरोजगार व्यवसाय सिर्जना हुन जान्छ । मुलुकका उपभोक्ताले हालको भन्दा ६० प्रतिशत सस्तोमा उपभोग्य वस्तु प्राप्त गर्न सम्भव बन्छ । रैथाने हर्बल तथा औषधी र हिलिङ पदार्थमा मुलुक आत्मनिर्भर बन्छ । रैथाने सीप र प्रविधिको सदुपयोगबाट मुलुक सुहाउँदो दिगो उद्यमशीलताको विकास हुन्छ ।
त्यो अमुक मुलुकको विकासका लागि अत्यावश्यक रहेको ५ प्रकारको ज्ञान र प्रविधिको अभावको खाडल पुर्ने र मुलुकबासीको हर्बल उद्यमशीलताको क्षमता निर्माणका लागि अर्थात् उनीहरूलाई हर्बल प्रशोधनमा सक्षम गर्नका लागि, प्रशोधनपश्चात् आउने तत्वलाई मुलुकले हाल आयात गरिहेकै उपभोग्य वस्तुमा परिवर्तन गर्नका लागि, मुलुकमै आयातित भई बिकिरहेका उक्त हर्बल निर्मित वस्तुको मुलुकभित्र नै निर्माण गर्नका लागि सक्षम बनाउन को–क्रिएसन केन्द्रहरूको जरुरी हुने गर्छ । उक्त मुलुकको माफिया नियन्त्रित प्रशासनयन्त्र सक्षम को–क्रिएसन केन्द्रहरूको स्थापना गर्ने कुरो सुन्यो भने एकाएक झसङ्ग हुन्छ । मानौँ, उसको अघि ६ रेक्टरको भूकम्प गइरहेको छ । उसको कर्कलो बारी फाँडिदै छ । त्यसो किन हुन्छ ? उत्तर घामजत्तिकै छर्लङ्ग छ ।
५ प्रकारको ज्ञान र प्रविधिको अभावको खाडल पूर्ति गर्न सक्दा मुलुकमा कम्तीमा ७ प्रकारका स्थायी प्रकृतिका स्वरोजगारीको अवसर निर्माण हुन्छ । सो हुन नसक्दा ती सबै सातै तहमा रहेको ज्ञान र प्रविधिको भड्खालोले पैदा गरेको बजार विदेशी आयातले पूर्ति गर्नुपर्ने हुन्छ । जुन तिनै माफियाहरूको कमाइको मुख्यस्रोत हुँदै आएको छ । माफिया बजारमा लिप्त माफियाहरूलाई उक्त भ¥याङको हरेक खुड्किलोमा कमाउनु छ । दशकौँ दशकदेखिको ‘लगानी एक – कमाइ हजार’ को लुटतन्त्र नियमित राख्नु छ । कमाई अमुक गरिब मुलुकको, खर्च र जीवनपद्धति जर्मनी, अमेरिका र बेलायतलाई आफ्नो सम्पूर्ण शाखा सन्तानसम्म विस्तार गर्नु छ ।
अमुक मुलुकका नेताहरूलाई माफियाको सेवा गरी चुनाव जित्न र मात्र १–२ पटक मन्त्री बनेर जीवनभरि ऐसआरामको जिन्दगी काट्न पुग्ने पैसाको जोहो गर्नु छ । कर्मचारी र पेसेवर कार्यकर्तालाई नेताको सेवा गरी कमाउन वा प्रमोसन हुनु छ । तानतुन पारी सात पुस्ता पुग्ने गरी खाएको घुसबापतको कालो धन सेतो बनाउनु छ । त्यसमा जीवनभरि कानुनी कारबाही सुरु नै हुन नसक्ने गरी कानुनमै व्यवस्था गरी रोकावट ल्याउनु छ । रोक्नु छ । आफू बच्नु छ । ठुलाहरू त गिरोहकै सदस्य रहे । छोटामोटा पत्रकारहरूलाई समेत बिचमा चाखे र खोचे थापी आएको रकमले दुई दिन भए पनि आलिशानले जीवन चलाउनु छ । तै चुप, मै चुपको वातावरण तयार गर्नुछ ।
बाँकी रह्यो, ती अमुक मुलुकका विशेष प्रकारका प्रवास निवासीका कुरा । ती प्रवासीहरूमा पहिलेजस्तो अमुक मुलुकसँग जोडिएर कमाउने भाँडोको रूपमा रहेको मानव तस्करी छोटेमोटेहरूको पेसा बनेको छ । अमुक मुलुकमा रहेका बिचौलियाहरूको संयन्त्रकै एक हिस्सा बनेका विशेष दर्जाका प्रवासीहरूमा अमुक मुलुकका माफियाहरूको कमाइको कालो धन विदेशी बैङ्कसम्म पु¥याउन सहयोगी बनी बिचमा आउने कमिसनले मोटाउनु छ । तिनै ग्याङमा रहेका अर्काथरी प्रवासीलाई विदेश पु¥याइएको तिनै कालो धनलाई विदेशी लगानीका नाममा अपसोर मुलुक पु¥याएर फेरि नेपाल लगी कालोलाई सेतो बनाएर बिचमा कुस्त कमाउनु छ ।
अमुक मुलुकमै लगी त्यहाँको नेता र उच्च प्रशासकसँगको साँठगाँठमा उच्च मुनाफा हुने क्षेत्रमा लगाउनु छ । भएको नाफामा करछली गर्नु छ । हरेक पाइलापाइलामा कमाउनु छ । अमुक देशकै कालो धन व्यवस्थापन गरी आउने आम्दानीले विदेशमा व्यवसाय गरी चुस्त धन कमाएको प्रवासी महाजन जो मातृभूमिको मायाले ओतप्रोत बनेर अमुक मुलुकको सेवामा दिनरात लागेको भन्ने भ्रम छर्दै एकै खेपमा धनी, ज्ञानी, समाजसेवीका रूपमा चर्चित हुनु छ ।
यो कतै नलेखिएको कथा, कसैले नभन्ने कथा तपाईंको आफ्नै मुलुकको कथासँग मिल्छ भने तपाईँ ढुक्क हुनुस् । तपाईँका आफ्ना भन्नेहरू तपाईँका मुलुकका धमिरा बनिरहेका छन् । त्यस्तो धमिरा जसले बाहिरबाट पनि खान्छ, भित्रबाट पनि खान्छ । त्यति बेलासम्म खान्छ जति बेलासम्म त्यो मातृभूमिरूपी काठको ठुटो सकिएर ढल्दैन । जुन दिन ढल्दछ, ती धमिराहरू नजिकैको अर्को रूखमा सल्कन्छन् ।
धमिरा धमिरा नै हो । उसलाई खान पाए, चुस्न पाए पुग्यो । तपाईँको भने आफ्नै मातृभूमि दिनदहाडै सकिँदै छ । मुलुकको दुर्भाग्य नै भन्नुपर्छ, ती अमुक मुलुक आफ्नै दर्दनाक अवस्थाबाट मुक्त हुनका लागि आफ्नै मुलुकमा सक्रिय पढेलेखेका भनिएका, बुद्धिजीवी भनी प्रचारित र थिङ्क ट्याङ्क समेत गनिएका बिकुवा भुइँफुट्टा वर्गको हातको शासनको डाडु, पन्यू, नपढेका, गँवार, अज्ञानी भनिएका अङ्ग्रेजी नबुझ्ने मात्र मुलुकको माया भएका जनतामा नपुग्दा सम्भव नहुने निश्चितप्रायः बनेको छ । त्यसका लागि नयाँ राजनीतिक व्यवस्थाको टड्कारो आवश्यकता देखिन्छ ।

स्रोत : नेपाली रैथाने जडीबुटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *