भर्खरै :

उद्योगी–व्यापारीहरू देशभक्त हुनु जरूरी

उद्योगी–व्यापारीहरू देशभक्त हुनु जरूरी

भक्तपुर, २४ पुस । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद पे्रम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर उद्योग वाणिज्य सङ्घको ३७ औँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भयो ।
सभामा सांसद सुवालले भन्नुभयो, “बहुदलीय व्यवस्थामा बहुमत प्राप्त दलको सरकार हुने हुँदा त्यो दल सत्ता पक्ष हुन्छ । नेपाल मजदुर किसान पार्टी सुरूदेखि नै प्रखर प्रतिपक्षी अर्थात् जनताको पक्षमा रहंदै आएको हो । जनता भन्नाले मजदुर, किसान, विद्यार्थी, महिला, शिक्षक, कर्मचारी, प्राध्यापकलगायत देशभक्त उद्योगी–व्यापारी पर्छन् । सबैको समस्या समाधान गराउन सडक र संसदमा नेमकिपाले आवाज राख्दै सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । उद्योगी व्यापारीहरूले केही सुझाव यहाँ राख्नुभएको छ । सुझाव लिखितरूपमा प्राप्त भए संसद् र समितिमार्फत सरकारको ध्यानाकर्षण गराउने छौँ ।”
“देश र जनताको सेवा गर्ने क्षेत्र उद्योग–व्यापार पनि हो । उद्योगी–व्यापारी देश र जनताप्रति जवाफदेही हुनु आवश्यक छ भने संविधान र ऐन–नियमानुसार अगाडि बढ्नु उपयुक्त हुनेछ । उद्योगी–व्यापारीले मानिसको जीवनमा नोक्सान नहुने गरी काम गनुपर्ने विषय सन् २०११ मै राष्ट्र सङ्घीय सिद्धान्तमा उल्लेख गरिएको थियो”, सांसद सुवालले थ प्नुभयो ।
उहाँले भन्नुभयो, “भूगर्वशास्त्रीका अनुसार काठमाडौँ उपत्यकामा प्रदूषण बढ्दो छ । यहाँको भूमि अन्यत्रबाट माटो ओसारेर थुपारिएको जस्तो कमजोर छ, खँदिलो र बलियो छैन । यो जमिनले भारी संरचना थेग्न सक्दैन, कुनै पनि बेला भासिने खतरा हुन्छ । काठमाडौँ उपत्यका भूकम्पीय जोखिम क्षेत्र पनि हो । यसकारण, ७५३ वटा स्थानीय तहमा सहर विकास गरी देशको सन्तुलित विकास गर्नु जरूरी छ । बसाइँसराइ जिल्लाभित्र मात्र गर्न पाउने कानुनी बन्दोबस्त जरूरी छ । भौतिक शास्त्रीका अनुसार सिमेन्टको घर भवनमा २० वर्षपछि सिमेन्ट ग्यास रोडोन उत्पन्न हुने र यसले मानिसलाई क्यान्सर रोगसमेत लाग्नेछ । यसबारे पनि उद्योगी–व्यापारीहरू सचेत हुनु आवश्यक छ ।”
सांसद सुवालले भन्नुभयो, “संविधानको धारा ४४ मा उपभोक्ताले क्षतिपूर्ति पाउने व्यवस्था छ भने धारा ५१ (घ) मा स्वदेशी लगानीलाई प्राथमिकतामा राख्ने र व्यापारिक स्वच्छता कायम गर्ने उल्लेख छ ।”
उहाँले भन्नुभयो, “उद्योगी–व्यापारी साथीहरूले यी सबै कानुनी व्यवस्थालाई पालना गरेर देश र जनताप्रति जवाफदेही हुनु जरूरी छ । रूसमा सन् १९१७ मा क्रान्ति भएपछि त्यहाँको नेतृत्वले १८–२० वर्षमा देशलाई संसारको दोस्रो अर्थतन्त्रमा पु¥यायो । नेपालमा बहुदल र गणतन्त्र आएको ३५ वर्ष भयो । देशको सीमा सुरक्षा भएको छैन । लिम्पियाधुरा नेपालको नक्सामा छ तर भारतको कब्जामा छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ९९९ बिघा जमिन भारतको कब्जामा पारिएको पनि ३५ वर्ष नै भयो ।”
“सरकारहरूले नेपालको प्राकृतिक स्रोत–साधनपछि मानवीय स्रोत विदेशमा पठाएको अर्को देशघात हो । देशभक्त उद्योगी–व्यापारीहरू नेपालको प्राकृतिक स्रोत–साधन काठ, गिट्टी, ढुङ्गा, बालुवा, माटो, जलविद्युत् नेपालीलाई नपुगे पनि विदेश निकासी गर्ने काममा र नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनी सञ्चालक बनेको देशघाती काम नै हो”, सांसद सुवालले भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालको जलविद्युत् उत्पादनमा निजी क्षेत्रको सहभागिता बढ्दो छ तर पानी नभएको जलविद्युत् ५०० भन्दा बढी भएको र त्यस्ता कतिपय जलविद्युत्ले शेयर बिक्री गरी जनताको सम्पत्ति हात पारी रातारात अर्बपति बनेको सार्वजनिक भइरहेको छ । काठमाडौँ थँवहीको सरकारी कमलपोखरी बगैँचा मासेर बनाइएको पन्ध्र तलाको छाया कम्प्लेक्स व्यापारिक भवनको पनि आइपीओ शेयर जारी हुने र त्यसमा जनतालाई फसाउने बाहिरियो । सहकारी संस्थाको नाममा जनताको बचत ५ खर्ब बढी ठगियो भने निजी बैङ्कहरू कतिपयले विदेशमा सम्पत्ति राखेको र जनतालाई ठगी गरेको सार्वजनिक भइरहेको छ । यस्ता गलत कामको देशभक्त उद्योगी–व्यापारीहरूले समयमै विरोध गर्नु जरूरी छ । नदीनाला भारतलाई दिएर ६०० मेगावाट बढी बिजुली महँगोमा भारतबाट ल्याएर नेपालमा लोडसेडिङ हटाएको दाबी गर्नु अर्को देशघात नै हो ।
“सरकारले विदेशी पुँजीलाई बोलाइरहेको छ । तर, विदेशी पुँजीसँगै विदेशी सुरक्षाकर्मी र सेना पनि आउनेछन् । देशभित्रै ठुलो पुँजीले सानो पुँजीलाई खाने र विदेशी पुँजीले देशको पुँजीलाई खानेतर्फ देशभक्त उद्योगी–व्यापारी सचेत हुनु आवश्यक छ । धेरै धनसम्पत्ति हुँदैमा कोही पनि ठुलो हुने होइन । देशभक्त उद्योगी–व्यापारी मिलेर ठुलो परिमाणमा गुणस्तरीय वस्तु उत्पादनमा लाग्नु जरुरी छ । व्यक्तिगत स्वार्थमा केन्द्रित हुँदा नेपाली उद्योगी–व्यापारी कमजोर हुनेछ”, सांसद सुवालले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “सरकारले भक्तपुर नगरपालिकाबाट सञ्चालन हुने ख्वप विश्वविद्यालयको विधेयक संसद्मा पारित गर्न बिलम्ब गरेको १४ वर्ष भयो । संविधान जारी भइसकेपछि यो विधेयक पारित गर्न शिक्षा मन्त्रालयबाट संसद्मा दर्ता भई सांसदहरूलाई वितरणसमेत भइसकेको थियो । अहिले स्थानीय तहले विश्वविद्यालय चलाउन पाउने कि नपाउने प्रश्न गरिएको छ । संविधान र ऐन संसद्ले बनाएको हो । अवरोध हटाउने काम पनि संसद्कै हो । भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय देश विदेशका विद्यार्थीलाई उत्पादन श्रमसँग जोडिएको शिक्षा दिन सञ्चालन गर्न लागेको हो । कूलपति, रजिस्टार, रेक्टर र अन्य पद भागबन्डा गरी विश्वविद्यालयलाई ध्वस्त बनाउन नहुने हाम्रो मत हो । विश्वविद्यालयमा सरकारमा भएका दलकै विद्यार्थीले तालाबन्दी गर्नु नेपाली विद्यार्थीलाई भारत पठाउनु किन होइन ? भक्तपुर नगरपालिकाका कलेजहरूमा ७७ जिल्लाका ४३ हजार विद्यार्थीले उच्च शिक्षा अध्ययनको अवसर पाए ।”
“उद्योगी–व्यापारीहरू देशभक्त हुनु जरुरी छ । द्वन्द्व, नाकाबन्दी, सैनिक तैनाथी, युद्धले संसारमा धेरै जनधनको नोक्सान भयो । यसकारण, उद्योगी–व्यापारीले युद्धको विरोध गर्नु जरुरी छ । अमेरिकी रक्षा मन्त्रीले युक्रेन र इजरायलमा हतियार बिक्री गरेर अमेरिकी हतियार उद्योगीहरूलाई यसपालि नाफा बढेको बताएको सार्वजनिक भयो । अर्काको देश ध्वस्त पारेर नरसंहार गरेर नाफा कमाउनु कुनै पनि दृष्टिमा न्यायोचित होइन,” सांसद सुवालले उल्लेख गर्नुभयो ।
“ब्रिक्सले २–३ सय वर्षयता सम्पूर्ण आर्थिक लाभ उत्तरतर्फका विकसित देशतर्फ भइरहेको हुँदा दक्षिणतर्फका विकासोन्मुख देशलगायत विश्वको दिगो विकास गर्ने लक्ष्य लिएको छ । ब्रिक्सले बीआरआइ युद्धको विकल्प राजनीतिक वार्ता र कूटनीतिक पहल हुन सक्ने स्पष्ट गरेको छ । ब्रिक्सले विश्वमा आफ्नै देशको मुद्रामा व्यापार गर्न पाउनुपर्ने र डलरमा व्यापार किन गर्नुपर्ने प्रश्न उठाएको छ । हतियार व्यापारी पोस्ने र पश्चिमी प्रभुत्व कायम गर्ने अमेरिकी नीतिबारे उद्योगी–व्यापारीहरू सचेत हुनु आवश्यक छ । यसको अर्थ अमेरिकी न्यायप्रेमी जनता नेपालका न्यायप्रेमी जनताको मित्र नै हुनेछ” उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुरलाई सफा, स्वच्छ, सांस्कृतिक नगर, पर्यटकीय गन्तव्यस्थल बनाउने हामी सबैको साझा सपना हो । भक्तपुर नगरपालिकाले पर्यटक सेवा शुल्क यही काममा उपयोग गर्दै आएको छ । यसमा भ्रम पाल्नु हुँदैन ।”
“उद्योगी–व्यापारीको नेतृत्व पनि उदाहरणीय हुनु आवश्यक छ । संसद्वादी दलहरूमा जस्तो पैसा खर्च गरेर नेतृत्वमा पुग्ने गलत सोच त्याग्नु जरुरी छ । नेतृत्व पालैपालो मुख्य होइन, दक्ष, अनुशासन, निःस्वार्थ हुनु मुख्य हो । यही विषयलाई आत्मसात गरेर सङ्घ र महासङ्घ अघि बढ्ने विश्वाससहित शुभकामना दिन चाहन्छु”, सांसद सुवालले भन्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सांस्कृतिक सम्पदा संरक्षण र घरेलु तथा कुटीर उद्योग प्रवद्र्धनको लागि मङ्सिरको अन्त्यतिर भक्तपुर महोत्सव, २०८१ आयोजना गरिएको बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख ईश्वरबहादुर थापाले मूल्यवृद्धि अचाक्ली भएको तर्फ सबैको ध्यानाकर्षण गराउनुभयो ।
प्रमुख जिल्ला अधिकारी भक्तपुरका गोपालप्रसाद अर्यालले नवप्रवद्र्धनसहित नयाँ पुस्तालाई आकर्षित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले आफ्नो पुर्खा भक्तपुरबाट पोखरा गएको उल्लेख गर्दै जन्मदर बढ्दो, युवा वैदेशिक रोजगारीमा बढ्दो र बिजुलीसमेत अभाव हुँदा उद्योग–व्यापार क्षमताको ३०–४० प्रतिशत मात्र सञ्चालन भइरहेको उल्लेख गर्नुभयो ।
सरकारी आयको २० प्रतिशत राजस्वमा भारत, बङ्गलादेश निर्भर रहेको, श्रीलङ्का ७–८ प्रतिशत मात्र निर्भर रहेको उल्लेख श्रेष्ठले नेपालको आयातमुखी अर्थतन्त्रलाई स्थानीय सीप र कृषिसँग जोडेर आत्मनिर्भर बनाउनुपर्ने औँल्याउनुभयो ।
काठमाडौँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश श्रेष्ठले भक्तपुर देशको सानो जिल्ला तर देशको राम्रो जिल्ला भएको उल्लेख गर्दै जनतासँग उठाएको कर के के विकासमा लगाइयो संसद् र सरकारले जनतालाई बताउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुरका प्रमुख उद्योगी व्यापारीहरू पारदर्शी हुनु जरुरी छ ।”
भक्तपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद ताम्राकारले भक्तपुर बास बस्ने पर्यटकलाई भक्तपुर नगरपालिकाले पर्यटक शुल्क छुट दिनु उपयुक्त हुने बताउनुभयो ।
सङ्घका अध्यक्ष रोशनीमैयाँ धौबन्जारको सभापतित्वमा भएको उक्त कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपाने र सञ्चालक महासचिव नवीन प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *