भर्खरै :

अनावश्यक ठाउँमा बजेट प्रयोग नगरियोस्

  • पुष २५, २०८१
  • विष्णुसुन्दर गोसाई, भक्तपुर ।
  • पाठक विचार
अनावश्यक ठाउँमा बजेट प्रयोग नगरियोस्

सरकारी बजेट कहीँ उपयोग नहुँदा फ्रिज हुने गर्छ भने कहीँ बजेट उपयोग गर्ने नाममा अनावश्यक ठाउँमा पनि प्रयोग हुने गर्छ । अनावश्यक ठाउँमा प्रयोग हुनु पनि दुरुपयोगजस्तै हो । हालै जिल्ला शिक्षा विकास तथा समन्वय एकाइको कम्पाउन्डभित्र उत्तरपुस्तिका परीक्षण हल भनेर एउटा ट्रस्ट निर्माण गरिएको छ । हल निर्माण झट्ट हेर्दा राम्रो भए पनि हाल समन्वय एकाइको सिङ्गो भवनमा २ जना कर्मचारीमात्र रहेको अवस्था छ । भवनका प्रायः सबै कोठाहरू खाली रहेको हुँदा उत्तरपुस्तिका परीक्षण गर्न ती कोठाहरू उपयोग गर्न नसकिने होइन । ट्रस्ट बनाउन प्रयोग भएको राज्यको उक्त रकम शिक्षाको अति आवश्यक ठाउँमा प्रयोग भएको सा¥है राम्रो हुने थियो ।
गत असोजको बाढीले डुबानमा परेका स्कूलहरूमा पुगेको क्षतिको कहीँ कतैबाट पूर्ति नहुँदा बाढी पीडित विद्यालय परिवारको मुहार अझै उज्यालिएको छैन । त्यस्तो रकम त्यस्ता क्षेत्रमा लगानी गरिएको भए पीडितको पीडामा ठुलो मल्हमपट्टी साबित हुने थियो । यो एउटा सानो उदाहरण मात्र हो ।
गत वर्ष चाँगुनारायण नगरपालिका वडा नं. ९ इथाचा टोलको मूल सडकमा ढल बिछ्याइयो । ढलको पाइप इथाचादेखि ब्रह्मायणीसम्म बिछ्याइए पनि पाइपको निकास कहीँ नहुँदा त्यो योजना सम्पन्न भए पनि सफल वा बजेट सदुपयोग भएको कसरी मान्न सकिन्छ ?
अझ पुरानो घाउ कोट्याउने हो भने करोडौँ बजेट जमिनमुनि गाडिएको अवस्था देख्न सकिन्छ । तत्कालीन खानेपानी तथा ढल निकास संस्थानअन्तर्गत हनुमानघाटदेखि सल्लाघारी भैल युसम्म हनुमन्ते खोलाको दक्षिण किनारमा ठुलो पाइप बिछ्याइएको थियो । राज्य कोषको उक्त करोडौँको त्यो योजना असफल साबित भएको छ । असफलताको निम्ति जिम्मेवार कोही देखिएन । विद्यार्थी फेल भए त्यसको जिम्मेवारी शिक्षकले लिनुपर्ने आवाज सर्वत्र सुनिन्छ । तर, त्यस्तो विकास निर्माण असफल हुँदा सम्बद्ध हाकिम इन्जिनियर जिम्मेवार हुनुपर्ने होइन र ? त्यसैले बजेट सिध्याउने वा उपयोग गर्ने नाममा अनावश्यक ठाउँमा बजेट लगानी गर्नु पनि दुरूपयोग सरह नै हो कि त्यहाँ कुनै न कुनै रूपमा आर्थिक चलखेल भएको हुनुपर्ने आशङ्का गर्नुपर्ने हुन्छ । नयाँ पत्रिकाले २४ पुसको अङ्कमा राज्यको ७–८ अर्ब लगानीमा बनेको कैलाली गेटाका भवनहरू प्रयोगमा नआएको समाचार प्रकाशित गरेको छ । विनाप्रयोगको अर्बौँ रूपैयाँ लगानीका जिम्मेवार को हो ? प्रश्न उठ्नु स्वाभाविक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *