भर्खरै :

एकदिन सिद्धिनेछन्

एकदिन सिद्धिनेछन्

आदेशपालक दास र लासले बोल्दै बोल्दैन
स्वतन्त्र र स्वाभिमानी त दास हुँदै हुँदैन
जतिसुकै दबाउन खोजे पनि जनताको आवाज
निरङ्कुश देशद्रोहीको हुँकारले कहिल्यै दब्दै दब्दैन ।

अन्धकारमै रमाउने प्राणीहरूलाई उज्यालो मन पर्दैन
फोहोरमै सल्बलाउने फोहोरीहरूलाई सफासुग्घर मन पर्दैन
समाजवादी मुखौटोमा मातृभूमिको बलात्कार गर्ने राक्षसलाई
न्यायप्रेमी जनताको स्वतन्त्र र देशभक्त आवाज पच्दै पच्दैन ।

हिजो राणा र पञ्चायतले पनि चलाएकै हो निरङ्कुशतन्त्र
जालझेल गर्दै उनले पनि देखाएकै हो बहुमतको दम्भतन्त्र
पिसिएका, दबिएका लाखौँ जनताको अजय सङ्घर्षले
गाडिदियो चिहानमा हुकुमी र दमनकारी निरङ्कुशतन्त्र ।

कतिन्जेल नाच्छौ तिमीहरू एक भई मालिकको इसारामा
घात गर्दै मातृभूमिमाथि बच्छौ कति मालिकको पहरामा
धिक्कार्नेछ कपुतलाई बलिदानीपूर्ण सहिदहरूको इतिहासले
पश्चतापूर्ण हुनेछ लेण्डुपको झैँ देशद्रोहीको मृत्यु बेसहारामा ।

माओले भन्नुभएझैँ अल्पमतमै होस् तर सत्यको बाटो नछोड
समुन्द्रको छालझैँ अगाडि बढ तर सिद्धान्तनिष्ठता नतोड
सार्वभौम जनतालाई शिक्षित र सङ्गठित पार्दै
लाखौँ देशभक्त जनताको आवाज बनेर प्रेम सुवालज्यू
देशघाती र देशद्रोही विदेशीको दलालहरूलाई नछोड ।

हुकुमी राणातन्त्र सिद्धियो, पञ्चायती निरङ्कुशतन्त्र सिद्धियो
नव निरङ्कुश गणतान्त्रिक पञ्चायतवादीहरू सिद्धिनेछन्
समाजवादको नाउँमा देशलाई विखण्डन गर्न देशभित्र घुसेका
देशद्रोही र देशघाती विदेशीका दलाल शासकहरू
देशभक्त जनताको देशभक्तिपूर्ण सङ्घर्षले सिद्धिनेछन् ।

विकासको नाउँमा विनाश गर्ने देशघातीहरूबाट
देशको अस्तित्व जोगिन्छ कि जोगिँदैन ?
नेपाली भएर बाँच्न नेपाल नामको देश रहन्छ कि रहँदैन ?
प्रजातान्त्रभित्र जनताले बोल्न पाउँछ कि पाउँदैन ?
यी यावत हुन् देशभक्त न्यायप्रेमी जनताको सवाल
सिद्धान्तमा हिमालझैँ अटल, व्यवहारमा चट्टानझैँ मजबुत,
निर्भीक, निडर अनि इमानदारीताको प्रतिमूर्ति प्रेम सुवाल
लाखौँ देशभक्त जनताको तर्फबाट सलाम छ प्रेम सुवाल
लाल सलाम प्रेम सुवाल, देशभक्त सपुत प्रेम सुवाल ।
(सिंहदरबारभित्रको दृश्य हेरेपछि)

Leave a Reply

Your email address will not be published. Required fields are marked *