नेपालभाषा साहित्य तःमुंज्याको आयोजनामा न्हू दँ ¥याली सम्पन्न
- कार्तिक ६, २०८२
जब जब उसको औँला कसैलाई भारी हुन्छ
तब तब म सुन्छु
एउटा नयाँ युगको पदचाप ।
कुनै युग थियो,
सिंहदरबारमा सिंह गर्जिएपछि
रैतीहरू मौनताको धुनी बालेर चिसो रात काट्थे ।
दरबारभित्र तरबारमा धार लगाउँदा
रैतीका मनमा चोट लाग्थ्यो ।
एक दिन उसले त्यो युगलाई चुनौती दिँदै औँला उठायो ।
रन्थनिएको सिंहले आक्रोशको आगो ओकल्यो र भन्यो,
तँ नाथेले ममाथि औँला उठाउने
झार, तेरो औँला ।
सिंह आक्रोशको आगोले सिंहदरबार जल्यो र
जल्यो सिंहको सिंहासन ।
अर्को दिन
फ्रान्सका लुइस चौधौँकै शैलीमा
सिंहदरबारका डेरावाल बोल्यो,
राज्य भनेकै म हुँ ।
किसानको हस्तरेखामा भविष्यको नदी देखेका
उसलाई चित्त बुझेन र औँला उठायो ।
युगको क्यानभासमा ध्वाँसो पोतेर डेरावाल बोल्यो,
फुच्चे तेरो औँलाको के हैसियत ?
त्यसको भोलिपल्ट
भरभराउँदा मसाल बोकेका मानिसहरूले सिंहदरबार घेरे,
त्यो रात डेरावालले खुसुक्क अन्तै डेरा सर्यो ।
झूटा बहुमतको राजदण्ड बोकेकाहरूसामु
उसले औँला ठड्याइरह्यो,
उसको औँलामा रगत छ, त्यसकारण जिउँदो छ
उसको औँलामा आशा छ, त्यसकारण साहस छ
उसको औँलामा जिम्मेवारी छ, त्यसकारण निःस्वार्थ छ
त्यसकारण, उसको औँला ठडिरहन्छ ।
उसले औँला नठड्याएको दिन
मानिसका सपनालाई बादलले छेक्छ,
आशामा तुषारो लाग्छ ।
औँला भएका मानिसको कमी छैन यहाँ
तर, सबै औँला ठडिँदैनन् ।
धेरैका औँला सिंहदरबारको न्यानो गोजीमा
माटोका औँला जस्तै बसेका हुन्छन् ।
उनीहरूको औँलाको आकार
एउटा चुनावबाट अर्को चुनावसम्म हुन्छ ।
तर, उसको औँला
रगत मासुले बनेको मानिसको औँला हो
जसले एउटा युगदेखि अर्को युगको दुरी नाप्छ ।
संसारको साम्राज्यले झार्न नसकेको उसको औँला
महाशक्तिको बर्कतले बङ्ग्याउन नसकेको उसको औँला
श्रीपेचको रापले पगाल्न नसकेको उसको औँला
छ्वालीको कुर्सीमा बसेको
कोही बुख्याँचाले भन्दैमा बाङ्गिने हो र ?
जब जब उसको औँला कसैलाई भारी हुन्छ
तब तब म सुन्छु
एउटा नयाँ युगको पदचाप ।
Leave a Reply