‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
नेपाल–भारतमा खाइने दाल, भात, रोटी, तरकारी, मसला स्वास्थ्यको लागि कति महत्वपूर्ण हुन्छ भन्नेबारेमा ‘नेचर जर्नल’ मा सन् २०१९, सेप्टेम्बरमा एउटा लेख प्रकाशित भएको थियो । त्यस लेखमा अहिलेका पुस्ताहरूले खाने बर्गर, पिज्जाजस्ता ‘फास्ट फुड’ ले गर्दा कसरी मुटु, मधुमेह रोगका साथै वंशाणुगत रोग ल्याउन मद्दत गर्छ र दाल, भातजस्ता खानाले कसरी स्वास्थ्य रक्षा गर्छ भन्नेबारेमा प्रकाश पारिएको छ । तीनजना वैज्ञानिकले परम्परागत भारतीय खाना र पश्चिमा खानाका सम्बन्धमा दुई वर्षसम्म अनुसन्धान गरेर त्यसको परिणामस्वरूप उक्त लेख तयार गरेका थिए । यो अनुसन्धान रसियाका डा. आत्र्योम भरभ्योभ, इजरायलका डा. यास्का र भारतका तनय गुप्ताले गरेका थिए ।
उनीहरूको अनुसन्धानअनुसार जङ्कफुड (पत्रु खाना) खानाले वंशाणुगत रोग जस्तै– मोटोपन, मधुमेह, उच्च रक्तचाप आदिको समस्या बढ्ने हुन्छ ।
दाल–भातको मिश्रण गरेर खाँदा स्वास्थ्यमा हुने फाइदाका बारेमा विश्वका विभिन्न पोषणविद्ले पहिलेदेखि नै भन्दै आएका छन् । भातमा भएको एमिनोएसिड दालमा हुँदैन, दालमा भएको एमिनोएसिड भातमा हुँदैन । त्यसैले यी दुवैको मिश्रण गर्दा उत्तम भोजन बन्छ ।
हाम्रो भोजनको लागि चाहिने महत्वपूर्ण तत्व प्रोटिन नै विभिन्न एमिनोएसिडबाट बन्छ । हाम्रो शरीरका कोषहरू नै प्रोटिनबाट बनेका छन् । हुर्कने उमेरका बच्चा वा भर्खर बिरामीबाट उठेका बच्चालाई तङ्ग्रिन अनि गर्भवती, सुत्केरी आमालाई समेत प्रोटिनको जरुरत पर्छ । दाल–भात खाँदा यो सजिलै प्राप्त हुन्छ । साथै दाल र भात दुवैमा रेसादार तत्व हुन्छ । दालमा धेरै रेसा हुन्छ भने भातमा कम हुन्छ । यी दुवैको मिश्रणले कब्जियतबाट बचाउँछ ।
चामलको भातका साथै अन्य अन्नहरू जस्तै– कोदो, फापर, गहुँ आदिले पनि स्वास्थ्य राम्रो राख्छ । यी सबै हाम्रो परम्परागत खाना हुन् । बालबालिकालाई पनि जाउलो र खिचडी (अर्थात् दाल र भात मिसाएर पकाएको भोजन) दिने चलन छ । तर, यसको पौष्टिक महत्वका बारेमा भने त्यति ध्यान दिइएको हुँदैन ।
मानव शरीरमा हुने खर्बौँ कोषलाई लगातार ऊर्जा चाहिन्छ । यदि कोषहरू थाके भने हामी पनि थकित बन्छौँ । लगातार थाकिरहँदा र ऊर्जा कम हुँदा रोगसँग लड्ने शक्ति पनि कम हुँदै जान सक्छ । ऊर्जाका लागि खाना खान जरुरी छ । त्यसका लागि दाल, भात, तरकारी, रोटी, ताजा अचार, विभिन्न मसलाजस्ता हाम्रा परम्परागत खानाहरू उपयोगी छन् । यी खानाले हामीलाई स्वस्थ बनाएर चलायमान बनाउन शक्ति दिन्छ ।
आजकल पोषणको कुरा गर्दा ‘प्रोटिन, क्याल्सियम, आइरन, जिङ्क आदि क्याप्सुलको रूपमा दिए स्वास्थ्य राम्रो रहन्छ’ भन्ने भ्रामक प्रचार पनि भएको पाइन्छ । वास्तवमा यस्ता क्याप्सुलहरूले हाम्रो शरीर स्वस्थ राख्नेभन्दा पनि बढी पैसाको खती गराउँछ । हामीले प्राकृतिक खानाकै माध्यमबाट शरीरलाई चाहिने पौष्टिक तत्व लिनुपर्छ । यही हो हाम्रो परम्परागत ज्ञानको विशेषता, जसले भोजनलाई ‘क्याप्सुल’ मा बन्द गरेर होइन, सम्पूर्णरूपमा हेर्छ ।
अहिले नेपालका विभिन्न रेस्टुरेन्टमा ‘नेपाली थाल’ को चलन पनि आएको छ । थालमा भात खाने चलन त पुरानै हो । भारतमा पनि ‘गुजराती थाली’ प्रसिद्ध छ । यी थाल वा थालीमा हाम्रो भान्छामा पाक्ने दाल, तरकारी, अचार, दही, कढी, पापड सबै थोरै–थोरै मात्रामा तर पेट भरिने गरी दिइन्छ ।
‘नेपालको थाल’ मा त गुन्द्रुक, गोलभेँडा र टिमुरको अचार पनि हुन्छ । अर्थात् वैज्ञानिक भाषामा शरीरलाई चाहिने ‘सूक्ष्म पोषक तत्व’ ले भरिपूर्ण हुन्छ, खाँदा पनि पेट भरिन्छ र मनमा आनन्द हुन्छ ।
आनन्दपूर्ण तरिकाले खाएको खानाले राम्रोसँग खाना पोषण पनि हुन्छ । तनाव लिएर, झगडा गर्दै खाएको खाना पच्न गा¥हो हुन्छ, शरीरमा पोषण दिँदैन । त्यसैले होला, हाम्रा पुर्खाले खाना खाँदा आनन्द मनले खानुपर्छ, झगडा गर्नु र बोल्नुहुँदैन भन्थे । भारतकी प्रसिद्ध पोषणविद् रिजुता दिवाकर पनि भात, दाल, तरकारीले स्वास्थ्य राम्रो हुने बताउँछिन् ।
नेपालमा समय–समयमा केही ‘जानिफकार’ ले ‘भात र दाल’ सँगै नखानू, प्रोटिन खाएको चार घण्टापछि मात्रै कार्बोहाइड्रेड खानू भनेर सिकाउँछन् । यो त बिहान दालमात्रै खाएर ४ घण्टापछि भात खानू भनेको जस्तै भयो । कतिले एकचोटिमा एकै थरीको खाना खानुपर्छ अर्थात् एकचोटि भात मात्रै, अर्को चोटि रोटी मात्रै, अर्को चोटि तरकारी मात्रै । तर, यसरी भातमात्र खाँदा त एउटा त स्वाद हुँदैन, अर्को शरीरमा प्रोटिन पुग्दैन । अर्को भात र दाल मिसाएर खाँदाको त स्वाद नै उत्तम हुन्छ ।
केही प्राकृतिक चिकित्सकले भात–दाल, दाल–रोटी, कोदो–गुन्द्रुक–दाल वा चनाको झोल सँगै नै खानुपर्छ भन्छन् । तर, कतिपयले दाल खाँदा पेट ढुस्स हुन्छ, पचाउन गा¥हो हुन्छ, त्यसैले दाल नखानू भन्ने सल्लाह दिन्छन् । तर, दाललाई केही समय पानीमा भिजाएर वा विभिन्न गेडागुडीहरू टुसा उमारेर खाएमा त्यसबाट उत्पन्न हुने ‘ग्यास’ कम हुन्छ ।
यदि दाल पकाएपछि जिरा, हिङ, मेथी, जिम्बुले झान्यो भने अझ फाइदा गर्छ । नेपाली भान्छामा दाल झानेर खाने राम्रो चलन छ । अर्थात्, परम्परागत व्यवहार र ज्ञानले हामीलाई दाल र गेडागुडी खाँदा ग्यास कम गर्न के गर्ने भनेर सिकाएको छ ।
Leave a Reply