(वागीश्वरी कलेजले हालै विश्वविद्यालय अनुदान आयोगबाट क्यूएए प्राप्त गरेको सन्दर्भमा कलेजका प्राचार्य धनकुमार श्रेष्ठसित ‘मजदुर’ दैनिकका प्रतिनिधिले गरेको कुराकानी – सं.)
- सर्वप्रथम वागीश्वरी कलेजले लामो समयदेखि अपेक्षा गरेको क्यूएए प्राप्त गरेकोमा यहाँलगायत कलेज परिवारलाई हार्दिक बधाई छ ।
– धन्यवाद !
- क्यूएएको अर्थ के हो र यो मान्यता कसले प्रदान गर्छ ?
क्यूएएको पूरा रूप ‘Quality Assurance and Accreditation’ हो । यसलाई नेपालीमा ‘गुणस्तर सुनिश्चितता तथा प्रत्यायन’ भनिन्छ । यो देशभित्र सञ्चालित उच्च शैक्षिक संस्थाहरूलाई मूल्याङ्कन गर्ने एक व्यवस्थित र महत्वपूर्ण प्रक्रिया हो जसले ती संस्थाहरू शिक्षा क्षेत्रमा गुणस्तरका न्यूनतम मापदण्ड पूरा गरी सञ्चालित छन् भन्ने सुनिश्चितता गर्दछ । यसले संस्थाको शैक्षिक, भौतिक, प्रशासनिक र व्यवस्थापन गुणस्तरीय छ भन्ने सुनिश्चित गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार शिक्षा प्रणालीलाई प्रतिस्पर्धी, विश्वसनीय र प्रभावकारी बनाउने लक्ष्य राखेको हुन्छ ।
सानोठिमी, भक्तपुरमा अवस्थित विश्वविद्यालय अनुदान आयोग (University Grants Commission, Nepal) ले क्यूएए प्राप्त गर्न इच्छुक उच्च शैक्षिक संस्थाहरू (विश्वविद्यालय/कलेज/क्याम्पसहरू) ले आयोगले तोकेको मापदण्ड पूरा गरेपछि र त्यस्ता संस्थाहरूको विभिन्न चरणमा अनुगमन मूल्याङ्कन गरिसकेपछि क्यूएए (गुणस्तर सुनिश्चितता तथा प्रत्यायन) प्रमाणपत्र प्रदान गर्ने गर्दछ ।
- कलेजका लागि क्यूएएको मान्यता किन आवश्यक भयो ? यसको उपयोगिता वा महत्व के के छन् ?
नेपालमा सन् १९९० को दशकदेखि नै विभिन्न उच्च शैक्षिक संस्था (विश्वविद्यालय तथा कलेज/क्याम्पस) हरूको उल्लेख्य मात्रामा स्थापना हुने क्रमले गति लिन थालेदेखि नै उच्च शिक्षामा एकरूपता कायम गर्न र संस्थाले प्रदान गर्ने शिक्षा राष्ट्रिय अन्तर्राष्ट्रियरूपमा व्यवस्थित, प्रतिस्पर्धी, विश्वसनीय र गुणस्तरीय छ भनी सुनिश्चित गर्न क्यूएएको आवश्यकता र महत्व बढ्दै गएको देखिन्छ । यही वा अन्य थुप्रै कारणहरूले गर्दा पनि वागीश्वरी कलेजलाई क्यूएएको महत्व, उपयोगिता र आवश्यकता भएको हो । जस्तै :
क) कुनै पनि कलेज/क्याम्पसले सम्बन्धित विश्वविद्यालय विशेषतः त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहमा (BBA, BBM, BIT, BCA, BSC CSIT, BASW) तथा स्नातकोत्तर तहमा (MBA, MIT, MBM, etc..) जस्ता प्राविधिक तथा व्यावसायिक धारका थप कार्यक्रमहरू सञ्चालनको लागि सम्बन्धन लिनुपर्दा उक्त संस्थाले क्यूएए अनिवार्यरूपमा प्राप्त गरेको हुनुपर्ने प्रावधान राखिएको छ । क्यूएएबिना थप शैक्षिक कार्यक्रमको सम्बन्धन नपाइने प्रावधानले गर्दा पनि कलेजलाई यसको आवश्यकता भएको हो ।
ख) राष्ट्रिय उच्च शिक्षा नीति २०७६ मा समेत क्यूएएको महत्व र आवश्यकतामाथि जोड दिँदै यसलाई अनिवार्य प्रावधानको विकास गर्ने नीतिको कारणले पनि यसको आवश्यकता बढेको हो ।
ग) नेपालको १६ औँ राष्ट्रिय योजनामा समेत उच्च शिक्षा सुधार कार्यक्रमअन्तर्गत विश्वविद्यालय अनुदान आयोगबाट लगातार तीनपटक (१५ वर्ष) सम्म गुणस्तर सुनिश्चितता तथा प्रत्यायनकृत प्रमाणपत्र प्राप्त गर्ने कलेज÷क्याम्पसहरूलाई सूचकको आधारमा शैक्षिक उपाधि प्रदान गर्ने संस्थाको रूपमा सञ्चालनको लागि स्वीकृति प्रदान गर्ने उल्लेख छ । वागीश्वरी कलेजले पनि सोहीअनुसार कार्य गर्ने महत्वाकाङ्क्षा राखेको हुँदा क्यूएए लिएको हो ।
घ) कलेजले आफूले प्रदान गर्ने शैक्षिक सेवा र सुविधाहरूलाई सर्वदा गुणस्तरीय, प्रतिस्पर्धी र उत्कृष्ट बनाइराख्न र मान्यता प्राप्त संस्था, समुदाय, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक र अन्य थुप्रै सरोकारवालाहरूको दरिलो विश्वास र साथ प्राप्त गर्न क्यूएए लिनुपरेको हो ।
ङ) क्यूएए प्राप्त कलेज÷क्याम्पसहरूलाई देश विदेशका विभिन्न प्रतिष्ठित उच्च शैक्षिक संस्थाहरूसँग अध्ययन, अनुसन्धान गर्न सहज हुने हुँदा कलेजले यसको आवश्यकता ठानेको हो ।
- क्यूएए प्राप्तिका लागि प्रक्रिया के कस्तो छ ? वागीश्वरी कलेजले त्यो प्रक्रिया कसरी पूरा ग¥यो ? वागीश्वरीको क्यूएए प्राप्तिमा क–कसको के कस्तो योगदान रह्यो ?
कुनै पनि कलेजले क्यूएए प्राप्तिका लागि विश्वविद्यालय अनुदान आयोगले निर्धारण गरेका प्रक्रिया र प्रावधानहरूलार्ई पूरा गर्नुपर्ने हुन्छ, जसअन्तर्गत आशय पत्र (Letter of Intent) प्राप्त गर्ने, स्वअध्ययन प्रतिवेदन (Self Study Report) तयार पारी पेस गर्नुपर्ने, सो प्रतिवेदनको क्रमबद्ध समीक्षापश्चात् समकक्षी परीक्षण टोली (Peer Review Team) को गठन हुने, विभिन्न चरणमा विभिन्न विज्ञहरूसहितको समकक्षी टोलीबाट परीक्षण, अनुगमन भ्रमण हुने, सो भ्रमणबाट प्राप्त सुझावहरूलाई सम्बोधन गरी प्रतिवेदन शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्मा पेस गरेपश्चात् समकक्षी टोलीको सिफारिसमा आयोगले निर्णय गरी क्यूएए प्रदान गर्ने गरिन्छ ।
यसका अतिरिक्त धेरै मात्रामा आन्तरिक तयारी गर्नुपर्ने हुन्छ । कलेजमा आन्तरिक गुणस्तर सुनिश्चितता एकाइ, स्वअध्ययन टोली र अन्य विभिन्न एकाइहरू/समितिहरू गठन गर्नुपर्ने हुन्छ । साथै सम्बन्धित सरोकारवालाहरूसँग क्यूएएको महत्व र आवश्यकताबारे छलफल गर्दै स्वअध्ययन फाराममा उल्लिखित आठ ओटा खण्ड र १२० ओटा महत्वपूर्ण सूचकअनुसारका कार्य र आवश्यक दस्ताबेजहरू तयार पार्नुपर्ने हुन्छ ।
संस्थाको समग्र शैक्षिक, प्रशासनिक र भौतिक पक्षहरूको गुणस्तरीय व्यवस्थापन, पाठ्यक्रम, शिक्षण सिकाइ विधि, अनुसन्धान, नवप्रवर्तन, शैक्षिक व्यवस्थापन पक्ष, सुस्वास्थ्य, सरसफाइ, जनशक्ति आदिमा गुणस्तरीय सुधार गर्नुपर्दछ ।
वागीश्वरी कलेजले यी सबै प्रक्रियाहरू पूरा गरेपछि मात्र क्यूएए प्राप्त गरेको हो । क्यूएए प्राप्त गर्ने क्रममा कलेज सभा र कलेज व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक, कर्मचारीहरू, वागीश्वरी मावि, वागीश्वरी कलेज अफ म्यानेजमेन्ट, हाल अध्ययनरत विद्यार्थीहरू, पूर्वविद्यार्थीहरू, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू, छिमेकी कलेज तथा विद्यालयका प्रिन्सिपलहरू, अभिभावक, समाजका अग्रज अगुवाहरू, विश्वविद्यालय अनुदान आयोगका पूर्व र वर्तमान कर्मचारी साथीहरू, क्यूएए सचिवालयका पूर्व र वर्तमान पदाधिकारी तथा कर्मचारी साथीहरू, समकक्षी परीक्षण टोली संयोजक तथा सदस्यहरू र अन्य थुप्रै शुभेच्छुक महानुभावहरूले प्रत्यक्ष र अप्रत्यक्षरूपमा अमूल्य सहयोग र योगदान दिनुभएको छ ।
- वागीश्वरी कलेजमा हाल कुन कुन विषयमा अध्यापन भइरहेको छ र क्यूएए प्राप्तिपछि के कस्ता नयाँ विषय अध्यापनको सम्भावना देख्नुहुन्छ ?
वि.सं. २०६४ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालित यस कलेजमा हाल स्नातक तह (Bachelor Level) का दुई ओटा बीए र बीबीएस र स्नातकोत्तर तह (Master Level) का दुई ओटा एमए समाजशास्त्र र एमबीएसका शैक्षिक कार्यक्रमहरू सञ्चालित छ । बीएमा विद्यार्थीको चाहना र समयको मागअनुसारका Social work, Sociology, Rural Development, Mass Communication and Journalism, Major English, Major Nepali, Major Economics, Major Political Science लगायतका विषयहरूको अध्यापन भइरहेको छ ।
नयाँ विषयहरू कलेज व्यवस्थापन समितिले जे जे विषय आवश्यक ठान्छ त्यसैमा भर पर्दछ । विषयहरू धेरै छन् ।
- क्यूएए प्राप्तिपछिका कलेजसामु रहेका चुनौतीहरू के के देख्नुहुन्छ ? वागीश्वरी कलेजले ती चुनौती कसरी समाधान गर्दै जाने छ ?
उच्च शिक्षामा संलग्न जोकोहीको लागि क्यूएए उपाधि प्राप्त हुनु एउटा महत्वपूर्ण उपलब्धि हो । क्यूएए प्राप्त कलेजबाट सम्बन्धित विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोगबाट मान्यता प्राप्त राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घ संस्था, कलेज व्यवस्थापन समिति, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, समुदाय र अन्य थुप्रै सरोकारवालाहरूले धेरै अपेक्षाहरू राखेका हुन्छन् ।
भक्तपुर जिल्लामै क्यूएए प्राप्त पहिलो सामुदायिक कलेज हुन सफल यस वागीश्वरी कलेजबाट पनि उहाँहरूले थुप्रै अपेक्षा राखेको हुनुपर्दछ । उहाँहरूको अपेक्षाअनुसार सफलतापूर्वक कार्य गर्न सकिएन भने हामीले प्राप्त गरेको यो उपलब्धि खेर जानेछ । तसर्थ, यो हाम्रो लागि ठुलो चुनौती हो । क्यूएएको मूल्य, मान्यता र मापदण्डअनुसार कलेजको गुणस्तरलाई निरन्तर अभिवृद्धि गर्दै जानुपर्ने अर्को चुनौती छ । यसका साथै शैक्षिक, भौतिक, प्रशासनिक, संशाधन व्यवस्थापन, अनुसन्धान, नवप्रवर्तनलगायत विभिन्न पक्षहरूसँग सम्बन्धित अन्य थुप्रै चुनौतीहरू पनि छन् ।
ती सबै चुनौतीहरूलाई सामूहिक भावनाका साथ कलेज व्यवस्थापन समिति, कलेज सभा, शिक्षक, स्टाफ र समुदायका शुभेच्छुक साथीहरूको सामूहिक प्रयासबाट समाधान गर्न सकिन्छ भन्ने मेरो दृढ विश्वास हो ।
- क्यूएए प्राप्तिपछि विद्यार्थी र अभिभावकहरूका के कति शैक्षिक अपेक्षा वागीश्वरी कलेजले पूरा गर्न सक्ने यहाँ देख्नुहुन्छ ?
वागीश्वरी कलेजको सफलताको अनेकौँ आधारमध्ये अभिभावक र विद्यार्थीहरूको साथ, सहयोग र विश्वास प्रमुख हो । कलेजलाई क्यूएए प्राप्त गर्न उहाँहरूले निकै सहयोग गर्नुभएको छ । तसर्थ, उहाँहरूको अपेक्षाअनुसार कार्य गर्दै अगाडि बढ्नु कलेजको जिम्मेवारी पनि हो । त्यसैले, कलेजले उहाँहरूको विविध अपेक्षाहरूलाई क्रमिकरूपमा पूरा गर्न योजनाबद्ध ढङ्गले अघि बढ्नेछ ।
त्यसो त क्यूएए प्राप्त गर्नु अघि पनि वागीश्वरी कलेजले स्थापनाको सत्र वर्षभित्र ३ (तीन) पटक नेपाल टपको नतिजा ल्याएको गौरवपूर्ण इतिहास हामीसँग छ । जस्तै सर्वाधिक उत्तीर्ण प्रतिशत बढाएको आधारमा विश्वविद्यालय अनुदान आयोगबाट रु. ७६ लाख प्राप्त भएको थियो भने सङ्गीता बुद्धाचार्यले देशका सामुदायिक कलेजहरूमा नेपाल टप नतिजा ल्याएकी थिइन् भने बबिता ग्वाछाले बीबीएसमा नेपाल टप गरेकी थिइन् । यस्ता गौरवलाई आगामी दिनमा पनि कायम गर्न हाम्रो प्रयास रहने नै छ ।
- क्यूएए प्राप्तिका लागि प्रतिक्षामा रहेका अन्य कलेजहरूले सुझाव मागेको खण्डमा के तपाईँ भन्नुहुन्छ ?
क्यूएए कुनै पनि शैक्षिक संस्थाको गुणस्तर सुधारका लागि अपनाइने एउटा महत्वपूर्ण प्रक्रिया हो । उक्त प्रक्रियामा कलेजहरूलाई लानुपर्छ भन्ने मेरो अनुरोध छ ।
- अन्त्यमा भन्नुपर्ने कुनै थप कुरा छ कि ?
वागीश्वरी कलेजलाई यो अवस्थासम्म पु¥याउन योगदान पु¥याउनुहुने सम्पूर्ण सरोकारवाला महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । साथै क्यूएएसम्बन्धी केही जानकारी सम्प्रेषण गर्न सहयोग गर्नुभएकोमा ‘मजदुर’ दैनिकलाई कलेजको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
Leave a Reply