हिमाल–पहाड–तराई बुझ्ने सरकारमा पुगेकै छैन
- चैत्र ६, २०८१
भक्तपुर, ४ माघ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा भूकम्प दिवसको अवसर पारेर भूकम्प इन्जिनियरिङको चौथो राष्ट्रिय सम्मेलन शुक्रबार एक कार्यक्रमबिच उद्घाटन भयो । सम्मेलनको उद्घाटन नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले गर्नुभयो ।
उहाँले अगाडि भन्नुभयो, “बसाइँसराइको कारण हिमाली क्षेत्रका २६ जिल्लामा बस्ती निकै घटेको छ । शान्ति र समृद्धिको लागि गरिबी उन्मूलन जरुरी छ । गरिबी उन्मूलनको लागि आर्थिक सामाजिकीकरण र सन्तुलित विकास हुनुपर्छ । ७५३ ओटै पालिकाले आ–आफ्नो क्षेत्रमा आवास योजना विकास गरे पनि सन्तुलित विकास हुनेछ ।”
देशको सन्तुलित विकासको लागि भौतिक संरचना निर्माण भूकम्पीय जोखिम न्यून हुने प्रविधिसहित हुनु आवश्यक रहेको बताउँदै उहाँले गत वर्षमा भएको पहिरो र डुबानले सडक, पुल, भवनलगायतका संरचनामा क्षति पु¥यायो, यसको कारण गुणस्तरीय निर्माण नहुनु पनि हो भन्नुभयो ।
“सरकारको अमानतमा १८ जनाको सहभागितामा उपभोक्ता समितिमार्फत बनेका संरचनाहरू गुणस्तरीय हुने हो । सरकारमा गएकाहरू ठेकेदार र सह–ठेकेदारमार्फत संरचना बनाउन लगाउँछन् । बजेटको ३० प्रतिशतमा निर्माण हुने संरचना कसरी बलियो हुन्छ ? सरकार वा जनताको उपभोक्ता समितिभन्दा ठेकेदार बलियो हुने निर्माण दीगो हुने छैन ।”, उहाँले अगाडि भन्नुभयो ।
भूगर्भशास्त्रीहरूले काठमाडौँ उपत्यकाको माटो अन्यत्रबाट माटोओसारेर थुपारिएको जस्तो कमजोर छ, बलियो र खँदिलो छैन, यहाँको माटोले भारी संरचना ठेग्न सक्दैन भनिरहेको औँल्याउँदै सांसद सुवालले भन्नुभयो, “भोलि यहाँको संरचना भाँसिने सम्भावना छ । त्यसबेला दोषी को हुने हो ? प्रधानमन्त्री र मन्त्रीहरूलाई यो संवेदनशील विषय थाहा नहुन सक्छ । प्राविधिक र प्राध्यापकहरूले थप अध्ययन गरी यथार्थ लेखिदिनु भन्नु जनप्रतिनिधिको जिम्मेवारीअनुसार सरकारको ध्यानाकर्षण गराउन संसद् र समितिमा राख्नेछौँ ।”
उहाँले अगाडि भन्नुभयो, “गुणस्तरीय संरचना निर्माणको लागि बालुवा, गिटी, सिमेन्ट, डन्डी, ढुङ्गा पनि गुणस्तरीय हुनु जरुरी छ । सरकारले जनतालाई गुणस्तरीय निर्माण सामग्री सुपथ मोलमा सहजरूपमा उपलब्ध गराउनु आवश्यक छ । इन्जिनियरिङ कलेजहरूले निर्माण सामग्रीको गुणस्तर परीक्षण गरी जनतालाई सहयोग गर्नु उपयुक्त हुनेछ । सिक्टा सिँचाइ आयोजनामा अरबौँ रुपैयाँको संरचना बगाइएपछि माटोमा दोष लगाई ठेकेदारलाई उन्मुक्ति दिइयो । सरकार सिङ्गै ठुला ठेकेदारको कब्जामा परेको भुक्तभोगीहरू बताउन्छन् ।”
भवनशास्त्रीहरूले कङ्क्रिटको जङ्गल स्वास्थ्यको लागि हानिकारक हुने र घाम र हावा नछिर्ने कङ्क्रिटको कोठा २० वर्षपछि क्यान्सर रोगको स्रोत हुने बताएको उल्लेख गर्दै उहाँले यसबारे पनि इन्जिनियरहरूले अध्ययन गर्नु उपयुक्त हुने सुझाव दिनुभयो ।
भूकम्पीय जोखिम न्यूनीकरणको लागि जग पनि बलियो हुनुपर्नेजस्तै विश्वविद्यालयको शिक्षा गुणस्तरीय बनाउन विद्यालय शिक्षा पनि गुणस्तरीय बनाउनु आवश्यक भएकोमा जोड दिँदै उहाँले चीनमा विश्वविद्यालय र कलेजका प्राध्यापकहरू विद्यालय पुगेर विद्यार्थीहरूको शैक्षिक स्तर परीक्षण गर्ने व्यवस्था भएको जानकारी आएको छ† यी संवेदनशील विषयमा हामी सबै सचेत हुनु जरुरी छ भन्नुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले अध्ययन अनुसन्धानलाई अगाडि बढाउँदै वैज्ञानिक शिक्षामा जोड दिँदै आएका बताउनुभयो । यी कलेजहरूले राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मेलनहरू आयोजना गरी भूकम्पबाट हुने जनधनको क्षति न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो ।
भक्तपुर नपाले ख्वप विश्वविद्यालय सञ्चालनको लागि सम्पूर्ण पूर्वाधारहरू तयार गरिसक्दा पनि सरकारले विश्वविद्यालय सञ्चालन स्वीकृति दिन ढिलाइ गरिरहेको बताउँदै उहाँले सस्तो र गुण्स्तरीय शिक्षामा जोड दिँदै आएको भक्तपुर नगरपालिका विश्वविद्यालय सञ्चालन गर्न प्रस्ताव गर्ने नेपालकै पहिलो नगरपालिका भएको बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले कलेजले आयोजना गरेको राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मेलन गरी समाजको मात्र नभई सिङ्गो देशकै गरिमा बढाउने कार्य गर्दै आएको बताउनुभयो । विनाशकारी भूकम्पपश्चात् यी कलेजहरूले भक्तपुरको पुनःनिर्माण कार्यमा धेरै योगदान पु¥याएको उल्लेख गर्दै उहाँले भूकम्प विनास सँगसँगै नयाँ नयाँ कुरा सिक्ने अवसर पनि भएको बताउनुभयो ।
विश्वविद्यालय अनुदान आयोगका कार्यक्रम अफिसर दिनेश प्रजापतिले आयोगले शैक्षिक क्षेत्रको विकास र उन्नयनमा गरिरहेको क्रियाकलापहरूबारे अवगत गराउँदै भूकम्पको हिसाबले नेपाल अति संवेदनशील देश भएको र विपद्को प्रभावकारी समाधान विकास गर्न सम्मेलन उपयुक्त माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो ।
Leave a Reply