भर्खरै :

जनताको प्रजातन्त्र समाजवादी क्रान्तिको पहिलो खुड्किलो

जनताको प्रजातन्त्र पुँजीवाद होइन । यो मजदुर र किसानको नेतृत्वमा प्रगतिशील बुद्धिजीवी र राष्ट्रिय पुँजीपतिवर्गको प्रतिनिधित्व भएको राज्य व्यवस्था हो । जनताको प्रजातन्त्र समाजवादी क्रान्तिको पहिलो खुड्किलो हो । राष्ट्रिय पुँजीपतिवर्गले विदेशी पुँजीको स्थान लिई औद्योगिक प्रगतिमा योगदान गर्नेछ । यसले प्रतिगामी तथा विदेशी पुँजीको थिचोमिचोबाट नयाँ समाज र देशलाई जोगाउँछ । नेपालको वर्तमान प्रजातन्त्र र गणतन्त्र पुँजीवादी प्रजातन्त्र र पुँजीवादी गणतन्त्र हो । यो पुँजीपतिवर्गको सरकार हो । पुँजीवादी सरकारले पुँजीपतिवर्गको सेवा गर्छ । ‘बहुदलीय जनवाद’ भने पनि त्यो पुँजीवादी प्रजातन्त्र हो । पुँजीवादी प्रजातन्त्रमा कामदारवर्गको हित हुँदैन । जनताको प्रजातन्त्र स्थापना गर्न काम गरी खाने मजदुर र किसानको नेतृत्वमा प्रगतिशील बुद्धिजीवी र राष्ट्रिय पुँजीपतिवर्गको साथ र समर्थनमा सशस्त्र क्रान्तिबाट यो व्यवस्था स्थापना हुन्छ । अर्थात् यस क्रान्तिको नेतृत्वकारी शक्ति कामदार जनता हुन्छ र प्रगतिशील बुद्धिजीवी र राष्ट्रिय पुँजीपतिवर्ग क्रान्तिको सहायक शक्ति हुन्छ । यस प्रजातन्त्रमा प्रगतिशील पुँजीपतिवर्ग र राष्ट्रिय पुँजीपतिवर्गको प्रतिनिधित्व गराइन्छ । अहिलेको राजनीतिक परिवेशमा कामदार जनताले मात्र विदेशी पुँजी र विदेशी दलालविरुद्ध आर्थिक सङ्घर्ष गर्न नसकिने भएकोले राष्ट्रिय पुँजीपतिवर्गलाई साथमा ल्याउनु आवश्यक हुन्छ ।
अहिलेको पुँजीवादी प्रजातन्त्रमा शोषक, सामन्त, विदेशी दलाल जो पनि निर्वाचित हुन्छन् । जालीफटाहा, कामचोर, ठग, भ्रष्टाचारी, कमिसनखोरहरूले स्थान पाउँछन् । समाजमा हिंसात्मक र आपराधिक घटनाहरू हुन्छन् । कुरीति र कुसंस्कारले ठाउँ पाउँछ । श्रम शोषण हुन्छ, न्याय र समानता हुँदैन । तर, जनताको प्रजातन्त्रमा जातजाति, भाषाभाषी र लिङ्गको आधारमा कसैमाथि भेदभाव हुँदैन । सबैले स्थानीय तहमार्फत समान रूपले विकास गर्ने ढोका खुल्छ । विकेन्द्रीकरणको सिद्धान्त लागु हुन्छ । विदेशी पुँजीलाई नियन्त्रण गर्छ । क्रान्तिकारी भूमिसुधार लागु हुन्छ । देश विदेशका कम्युनिस्ट पार्टी, प्रगतिशील मजदुर, किसान, बुद्धिजीवी तथा विभिन्न पेसागत सङ्घ सङ्गठनसित राम्रो सम्बन्ध हुन्छ र देशको विकास छिटोछरितो हुन्छ । यसकारण, जनताको प्रजातन्त्र स्थापनाको निम्ति अग्रसर हुनुपर्छ ।
जनताको प्रजातन्त्रमा राज्यले जनताको धार्मिक आस्थामाथि सम्मान र संरक्षण गर्छ । पुरुषसरह महिलालाई पनि अधिकार प्रदान गरिएको हुन्छ । अर्थात्, महिला र पुरुषबिच समानता हुन्छ । यस व्यवस्थामा आर्थिक समानतामा जोड दिइएको हुन्छ । व्यक्तित्व विकासमा जोड दिइएको हुन्छ । शिक्षा र स्वास्थ्य उपचारको सुविधा हरेक नागरिकलाई प्रदान गरिएको हुन्छ । शिक्षा र स्वास्थ्य निःशुल्क गरिएको हुन्छ । युवाहरूलाई शिक्षासँगै विभिन्न जीवनोपयोगी तालिम दिइन्छ र रोजगारीको बन्दोबस्त गरिएको हुन्छ । अर्थात् आफ्नो योग्यता र क्षमताअनुसार रोजगारीको बन्दोबस्त राज्यले गरेको हुन्छ । युवाहरूमाथि श्रम शोषण हुँदैन । व्यक्तित्व विकासमा समान अवसर पाउँछ । हो, जनताको प्रजातन्त्र पुँजीवाद होइन । यो पूरा समाजवादी व्यवस्था पनि होइन । यो समाजवादी क्रान्ति गर्ने क्रममा पुँजीवादी व्यवस्था ढालिसकेपछि आउने सङ्क्रमणकालीन व्यवस्था हो । यस अर्थमा यो अस्थायी व्यवस्था हो । यो कामदार जनताको नेतृत्वमा गठन हुने समाजवादउन्मुख व्यवस्था हो । जनताको प्रजातन्त्रमा स्वतन्त्रताको अर्थ आर्थिक समानता पनि हो । गरिबलाई रोजगारी, उचित ज्याला, जनताका छोराछोरीलाई निःशुल्क शिक्षा तथा निःशुल्क स्वास्थ्य सुविधा जनताको प्रजातन्त्रमा दिइएको हुन्छ ।
पुँजीवादी दलका शासकहरू पुँजीवादी प्रजातन्त्रलाई नै अन्तिम विकल्प ठान्छन् । यो पुँजीवादी प्रजातन्त्र लोकतान्त्रिक व्यवस्था हो, समानता र स्वतन्त्रता पाउँछन् भनी उनीहरू फुक्छन् । यो प्रजातन्त्रले समाजवादी क्रान्तिको बाटो रोज्दैन । यसकारण, पुँजीवादी शासकहरूले जनतामाझ छरेका भ्रमलाई चिर्नुपर्छ; चिर्न जनतामाझ भिज्नुपर्छ† जनतामाझ भिजेर राजनीतिक चेतना दिनुपर्छ; सांस्कृतिक स्तर उठाउनुपर्छ; सचेत र सङ्गठित गर्नुपर्छ ।
पद र पैसाको निम्ति प्रतिस्पर्धा गर्ने पुँजीवादी विचार र देश र समाजको परिवर्तनको निम्ति लागेर श्रमजीवी वर्गको हित गर्ने बाटो फरक हुनु स्वाभाविक हो । हरेक कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताले देशभक्तिको भावना विकास गर्नुपर्छ । वर्गसङ्घर्ष नगरी आमूल परिवर्तन सम्भव छैन भन्ने कुरा स्पष्टसँग राख्नुपर्छ । यसको नेतृत्व कम्युनिस्ट पार्टीले गर्छ । शोषणरहित समाज स्थापना पुँजीवादी निर्वाचनबाट सम्भव छैन । यसमा देशका कम्युनिस्ट पार्टीहरूले हेक्का राख्नैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *