हिमाल–पहाड–तराई बुझ्ने सरकारमा पुगेकै छैन
- चैत्र ६, २०८१
भक्तपुर, ६ माघ । नेपाल मजदुर किसान पार्टी तथा नेपाल क्रान्तिकारी किसान सङ्घ चाँगुनारायण नगरपालिका वडा नं. ७ एकाइ समितिको आयोजनामा शनिबार कार्यकर्ता प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा पार्टीका सचिव प्रेम सुवालले भन्नुभयो, “देश र जनताको नेतृत्व गर्नेहरू स्तालिन र माओ त्सेतुङ जस्तै निःस्वार्थी र योग्य हुनु आवश्यक छ । सरकारमा पुगेका नेपालका नेताहरू उहाँहरूजस्तै योग्य नहुँदा बहुदलीय व्यवस्था पुनःस्थापना भएको ३५ वर्ष बितिसक्दा समेत देश र जनताको दुःख यथावत रह्यो ।”
“निरङ्कुश राणा शासनविरुद्धको २००७ सालको आन्दोलन, निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको २०४६ सालको सङ्घर्ष र गणतन्त्र स्थापनाको २०६२/६३ सालको आन्दोलन नेपाली जनताको भन्दा पनि भारतीय एकाधिकार पुँजीको भरमा अगाडि बढाइएको हुँदा नेपाली जनताको हितमा उपलब्धि देखिएन”, सचिव सुवालले भन्नुभयो ।
उहाँले भन्नुभयो, “सरकारमा गएकाहरू ३५ वर्षको उपलब्धिलाई आँखा नदेख्ने र कान नसुन्नेहरूले मात्र थाहा नपाउने आरोप लगाउँछन् । साच्चिकै उपलब्धि भएको भए दाल, चामल, तरकारी, फलफूलसमेत भारतसँग किनेर खानुपर्ने र करोडौँ युवा विद्यार्थी वैदेसिक रोजगारी र विदेश अध्ययनमा पठाउनुपर्ने अवस्था कसरी भयो ?”
Leave a Reply