भर्खरै :

भक्तपुर नगरपालिकाले यस वर्ष अन्तरनगर जिम्नास्टिक प्रतियोगिता गर्ने

भक्तपुर नगरपालिकाले यस वर्ष अन्तरनगर जिम्नास्टिक प्रतियोगिता गर्ने

भक्तपुर, ९ माघ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र प्रतिनिधिसभाका सांसद एवम् नेपाल जिम्नास्टिक सङ्घका अध्यक्ष ध्रुवबहादुर प्रधानबिच बुधबार भेट भयो । भेटमा उहाँहरूबिच भक्तपुर नगरपालिकाको आयोजनामा चैतको अन्तिम सातामा सञ्चालन हुने अन्तर नगर जिम्नास्टिक प्रतियोगिताबारे आवश्यक तयारी र समन्वयबारे छलफल भयो ।
सोही क्रममा प्रमुख प्रजापतिले अध्यक्ष प्रधानलाई भक्तपुर नपामा स्वागत गर्दै भक्तपुर नपाको सत्रौँ नगरसभाले यस वर्ष अन्तर नगर जिम्नास्टिक खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको बताउनुभयो ।
भक्तपुर नपाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै प्रत्येक वर्ष विद्यालयस्तरीय खेलकुद प्रतियोगिता र अन्तरनगर खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपाले सबै वडाहरूमा छिकोङ शारीरिक व्यायाम सञ्चालन गर्नुका साथै विभिन्न खेलहरूको प्रशिक्षण सञ्चालन गर्दै आएको बताउनुभयो ।
नेपाल जिम्नास्टिक सङ्घका अध्यक्ष ध्रुवबहादुर प्रधानले अन्तर नगर जिम्नास्टिक प्रतियोगिताको आयोजना गर्ने घोषणाको लागि नेपाल जिम्नास्टिक सङ्घको तर्फबाट धन्यवाद दिँदै प्रतियोगिता सञ्चालनको लागि नेपाल जिम्नास्टिक सङ्घले आवश्यक प्राविधिकलगायत सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले देशका विभिन्न पालिकाहरूलाई सहभागिताको लागि आवश्यक समन्वय गरिदिने वचन दिनुभयो । भेटमा नेपाल जिम्नास्टिक सङ्घका प्रतिनिधि तथा भक्तपुर नपा खेलकुद समितिका प्रतिनिधिहरूको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *