भर्खरै :

कम्युनिस्ट पार्टीभित्र देखिएको खोटो विचारको खण्डन आवश्यक

सचेत र सङ्गठित जनताको शक्तिबिना देशमा परिवर्तन सम्भव छैन । सरकारमा कम्युनिस्ट पार्टीहरू सामेल भए पनि बहुमत जनताको हित गर्दैन भन्ने कुरा बहुदल र गणतन्त्र प्राप्तिपछि बनेको पुँजीवादी सरकारले देखाइसकेको छ । पुँजीपतिवर्गको सरकारले कम्युनिस्टहरूको हितमा काम गर्दैन; यसमा सन्देह छैन । तर, पनि कति कम्युनिस्टहरू पुँजीवादी सरकारमा सहभागी हुन्छन्; सरकारबाट फाइदा लिने बाटो रोज्छन् । अनि उनीहरू पुँजीवादी पार्टीको दलमा फस्छन् । यो नेपालको कम्युनिस्ट आन्दोलनमा देखिएको खोट हो । यस्ता हरेक खोटहरूको खण्डन गर्नुपर्छ र खोटबारे जनतामाझ पु¥याएर सुसूचित पार्नुपर्छ । कति कम्युनिस्ट नेताहरू गणतन्त्र स्थापना भयो, अब सङ्घर्ष गर्न नपर्ने बताउँछन् । यही व्यवस्थाबाटै जनताका हक अधिकार प्राप्त हुने भन्दै उनीहरू सङ्घीय लोकतान्त्रिक गणतन्त्र या पुँजीवादी गणतन्त्रलाई नै जनताको अन्तिम व्यवस्था ठान्छन् । यो पनि कम्युनिस्ट पार्टीभित्र देखिएको खोटो विचार हो ।
सिद्धान्त र विचारको कुनै ख्यालै नगरी जुनसुकै वर्गशत्रुसँग पनि सरकारमा सामेल हुने र चुनावी गठबन्धनमा लाग्ने काम पनि कम्युनिस्ट पार्टीभित्र देखिएको खोटो विचार हो । सत्ताको निम्ति कम्युनिस्ट पार्टीले सिद्धान्त र विचारलाई बन्धक राख्नु हुँदैनथ्यो । सरकारको नेतृत्व गर्न छिनछिनमा दलको समर्थन फेरेर धोका दिनु हुँदैनथ्यो । सत्तामा रहुञ्जेल कम्युनिस्टको सिद्धान्त र विचार, समाजवादीबारे चिन्ता र चासो नलिने अनि सत्ताबाट फालेपछि जनतामाझ पुगेर अब सङ्घर्ष गर्ने भनेर क्रान्तिकारी बन्ने अवसरवादी दृष्टिकोण पनि सही होइन । कम्युनिस्टहरू सत्तामा होस् या सत्ताबाहिर दलको उद्देश्य पूरा गर्न सङ्घर्ष गरिरहन्छन्, वाक्युद्ध गरिरहन्छन् । कम्युनिस्टहरूले आफ्नो देशलाई बन्धक राख्दैनन्; आफ्नो देशको अहितमा काम गर्दैनन् । कम्युनिस्ट पार्टीको उत्थान र विस्तारमा असर पार्ने काम अर्काे कम्युनिस्ट पार्टीले गर्दैन ।
विडम्बना ! कम्युनिस्ट भन्ने दलले कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार नै प्रचार गर्दैन । विधानमा पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद लेख्ने तर काम त्यसबाट विपरीत गर्ने दल कसरी कम्युनिस्ट हुन्छ ? त्यस्तो दलले कसरी देशमा आमूल परिवर्तनको बाटो रोज्छ ? कम्युनिस्ट पार्टीले ठुलोको अहङ्कार देखाउनु हुँदैन । ठुलोको अभिमानी देखाएर साना दललाई पेल्ने, सानो दलले विकास गर्ला र आफ्नो खोटो विचार चिर्ला भनेर माथि उठ्न नदिने मानसिकता कुनै कम्युनिस्ट पार्टीमा हुन्छ भने त्यो सामन्ती चिन्तन हो । सामन्ती चिन्तन बोक्ने दलका नेताहरूले के कम्युनिस्ट पार्टीको विकास गर्ला ? कम्युनिस्ट आन्दोलन अघि बढाउला ? पुँजीवादी व्यवस्था नै कम्युनिस्ट पार्टीको अन्तिम उद्देश्य होइन । सरकारको नेतृत्व गर्न पाएपछि पुँजीवादी व्यवस्था नै सही ठान्ने कम्युनिस्ट पार्टीको नैतिक धरातल कहाँ गयो ? कम्युनिस्ट पार्टीले सामन्त, जमिनदार, जालीफटाहा, भ्रष्टाचारी, कमिसनखोर, प्रतिक्रियावादीहरूको पक्ष लिँदैन । कम्युनिस्ट पार्टी विस्तारवादी र साम्राज्यवादी शक्तिराष्ट्रसामु झुक्दैन । कम्युनिस्ट पार्टी सधैँ वर्गीय शत्रुविरुद्ध लड्छ ।
आफूलाई ठुला भनिने नेपालका कम्युनिस्ट पार्टीहरूको कार्यशैली हेर्दा उनीहरूमा कम्युनिस्टको गुण र आचरण देखिँदैन । विशाल हृदय हुनुपर्ने, इमानदारी र निःस्वार्थपूर्वक देश र जनताको सेवा गर्नुपर्ने कम्युनिस्टहरू पदको दुरूपयोग गरी अकुत पैसा कमाउनेतर्फ व्यस्त छन् । उनीहरू देश र जनताको चिन्ता र चासोमा भन्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा अभ्यस्त छन् । उनीहरू पद र पैसाकै निम्ति पार्टीभित्र तँछाडमछाड गर्छन् । सरकारको नेतृत्व गर्न छिनछिनमा दलको समर्थन फेर्छन् । के यही हो कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूको कार्यशैली र विचार ? ठुला दलका नेताहरूकै व्यक्तिगत र दलगत स्वार्थको कारण छिनछिनमा सरकारको नेतृत्व फेरिएको हो; नेपालमा ‘अस्थिर सरकार भनेर विश्वमा बदनाम भएको हो । ठुला दलकै कारण वास्तवमा नेपालको कम्युनिस्टको बदनाम भएको हो । यसतर्फ सत्तामा रहेका कम्युनिस्ट भनिने ठुला दलका नेताहरू गम्भीर हुनुपर्छ ।
कम्युनिस्ट पार्टीको नेतृत्वमा बनेको सरकारले भ्रष्टाचारीलाई ठाउँ दिँदैन । कसैले भ्रष्टाचार गरे कडा कारबाही गर्छ । तर, यहाँ भ्रष्टाचारीहरूलाई खेल्ने ठाउँ बनाउँछ, प्रोत्साहन गर्छ; जसरी भए पनि कमाउने अवसर दिन्छ । भ्रष्टाचारीहरू कारबाहीमा पर्दैनन्; अझ तिनै भ्रष्टाचारीहरूलाई पार्टीमा हुल्याउँछन् । यो पनि नेपालको कम्युनिस्ट पार्टीमा देखिएको खोटो काम हो । कम्युनिस्ट पार्टीले कुनै दल या कम्युनिस्ट पार्टीको गलत सिद्धान्त, विचार र कार्यशैलीको सैद्धान्तिक सङ्घर्ष गर्नु स्वाभाविक हो । तर, नेपालको सन्दर्भमा सैद्धान्तिक सङ्घर्षभन्दा गालीगलौज गर्छन्; हिलो छ्याप्छन्, मानौँ पार्टीबिच कहिल्यै बोलचाल हुँदैन; कार्यगत एकता हुँदैन । यसरी पानी बाराबारको स्थितिमा पुगेका दलका नेताहरूबिच सत्ता स्वार्थ मिलेपछि अहिलेको अहिल्यै मिल्छन् । सत्तामुखी कम्युनिस्ट पार्टीका नेताहरू यति गिरेर किन तल ओर्लन्छन् ? आफ्नो इज्जत, प्रतिष्ठा, आस्था र विश्वासमा धक्का पुग्ने काम उनीहरू किन गर्छन् ? के यो अर्काे कम्युनिस्ट पार्टीभित्र देखिएको गलत सोच र चिन्तन होइन ?
कम्युनिस्ट पार्टीलाई बलियो बनाउन, कम्युनिस्ट आन्दोलन अघि बढाउन देशका सबै कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले माक्र्सवादी–लेनिनवादी विचारलाई आत्मसात गर्नुपर्छ र त्यसलाई देशको माटो सुहाउँदो प्रयोग गर्नुपर्छ । माक्र्सवादीहरू वर्गसङ्घर्ष छोड्दैनन् । उनीहरू जहिल्यै साम्राज्यवाद, सामन्तवाद, विस्तारवाद, उपनिवेशवाद र पुँजीवादको विरोध गर्छन् । उनीहरू जहाँ पुगे पनि, जहाँ बसे पनि समाजवादी गणतन्त्र स्थापना गर्न जनतामाझ पुग्छन्; जनतामाझ पुगेर राजनैतिक र सैद्धान्तिक ज्ञान दिएर सचेत पार्छन् । उनीहरू दलगत र व्यक्तिगत स्वार्थमा लिप्त हुँदैनन् । उनीहरू संशोधनवादी र अवसरवादी हुँदैनन् । उनीहरू कम्युनिस्टको सिद्धान्त र विचार भुल्दैनन् । उनीहरू कम्युनिस्ट पार्टीभित्र देखिएका कमी कमजोरी हटाउँदै आमूल परिवर्तनको निम्ति बाटो तयार गर्छन्; तयार गर्न लाग्छन् । नेपालमा कम्युनिस्ट पार्टीप्रति जनताको विश्वास छ; जनताको विश्वासले नै ठुलो दल बनेको हो । तर, कम्युनिस्ट पार्टी कम्युनिस्टको मत पाएर कम्युनिस्ट पार्टीकै विरोधमा लाग्यो; पुँजीपतिवर्गको पक्षपोषण ग¥यो । यो अर्काे कम्युनिस्ट पार्टीभित्र देखिएको गलत विचार हो । अतः ती कम्युनिस्ट पार्टीले आत्मसमीक्षा गर्नु आवश्यक छ; गलत बाटो छोडेर सही बाटो अँगाल्नुपर्छ । अनि मात्र देशमा परिवर्तनको निम्ति बाटो खुल्छ र आमूल परिवर्तनको दिशामा जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *