संस्कृतिको खोजमूलक पुस्तक ‘होचो ढोका’ नियाल्दा
- चैत्र ३०, २०८२
नुवाकोट जिल्ला साबिक भैरवी गाविस वडा नं ७, हाल विदुर नगरपालिका वडा नं २, तादी नदीको किनारमा रहेको शेरा दरबार पृथ्वीनारायण शाहको पालामा निर्माण गरिएको हो । उनले नुवाकोट जितेको २१ वर्षपछि वि.सं. १८२२ मा शीतकालीन दरबारको रूपमा सो दरबार निर्माण गरिएको थियो । गर्मीको समयमा रानी बस्ने भएकोले सो दरबारलाई ‘रानी दरबार’ पनि भनिन्छ । विसं १९०३ मा उक्त दरबार भत्कियो । वि.सं. १९९९ मा राणा जुद्ध शमशेरको पालामा पुनःनिर्माण गरियो । नेपालभाषामा लेखिएको पुरानो टिपोटमा शेरा दरबारलाई ‘शेरा व्याँसी लाय्कु’ उल्लेख गरिएको छ । २०४७ सालमा नेपालमा प्रजातन्त्र आएपछि दरबार रहेको सो जग्गा नेपाल सरकारकै नाममा आएको थियो । अहिले ऐतिहासिक तथा पुरातात्विक महत्वको उक्त दरबार कसरी कम्पनी र व्यक्तिको हातमा पुग्यो ? यसमा तत्कालीन मालपोत कार्यालय, भूमिसुधार विभाग र मन्त्रालयमा कार्यरत कर्मचारी र शासक दलका नेताहरूकै संलग्नता रहेको सार्वजनिक भयो ।
२०५९ पुस १२ गते माओवादीले उक्त तीनतले पुरानो दरबारमा आगो लगाए । आगोमा दरबारको केही संरचनामा क्षति भयो । आगो लाग्दा दरबारको सञ्चालक नरेन्द्रलाल प्रधान र केदारनाथ श्रेष्ठ थिए । माओवादी आक्रमणपछि शेरा दरबार केही समय पिकनिक स्थलको रूपमा रह्यो भने केही समय कृषि कलेजको बाली विज्ञान पढाइने भवन र केही समय पुनस्र्थापना केन्द्र पनि बनेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।
भूमाफियाहरूले सो दरबारको सरकारी जग्गा प्लटिङ गर्दै बेच्न थालेपछि स्थानीय जनताले स्थानीय निकायमा उजुरी दिए । त्यसपछि शेरा दरबारबारे अनुसन्धान अगाडि बढ्यो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानले दरबारको १६४ रोपनी १३ आना जग्गा दुरूपयोग भएको पत्ता लगायो । अनुसन्धानपछि सीआईबीले मालपोत ऐनअनुसार सरकारको नाममा सार्ने प्रक्रिया अघि बढाउन भूमि व्यवस्था तथा अभिलेख विभाग र आफ्नो अनुसन्धान प्रतिवेदनसहित भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पठायो । स्थानीय जनताले ऐतिहासिक दरबार क्षेत्रले चर्चेको जग्गा सरकारको नाममा हुनुपर्ने आवाज उठाएपछि मालपोत कार्यालय नुवाकोटले पनि स्थानीय जनताको हस्ताक्षरसहित भूमि व्यवस्था विभाग र भूमि व्यवस्था मन्त्रालयमा सोहीअनुसारको मुचुल्का गरेर पठायो ।
सीआईबीका अनुसार शेरा दरबारको कुल क्षेत्रफल १८४ रोपनी ४ आना १ पैसा थियो । पछि राजपरिवारमा अंशबन्डा भएपछि उक्त जग्गा हेलेन शाह र विजय राज्यलक्ष्मी शाहको भागमा प¥यो । शेरा दरबारको क्षेत्र समथर भूभागमा रहेको आम्दानीयोग्य करिब १ अर्ब रूपैयाँभन्दा बढी मूल्यको रहेको अनुमान छ । भूमिसम्बन्धी ऐन २०२१ ले हदबन्दीसम्बन्धी व्यवस्था गरेपछि शेरा दरबार र त्यसले चर्चेको जग्गा सरकारका नाममा कागज बन्नुपर्ने थियो । तर, २०२७ फागुन २८ गते गौरीशङ्कर फार्मिङ नामको कम्पनी स्थापना गरेर हदबन्दीभन्दा बढी रहेको १६४ रोपनी १३ आना २ पैसा १ दाम जग्गा कृषिसम्बन्धी प्रयोजनका लागि भनेर गौरीशङ्कर फार्मिङ कम्पनीकै नाममा नापी भयो । हेलेन शाह र विजय राज्यलक्ष्मी शाह दुवै उक्त कम्पनीका सञ्चालक थिए । बाँकी जग्गामध्ये १२ रोपनी १३ आना १ पैसा ३ दाम हेलेन र ६ रोपनी ९ आना १ पैसा २ दाम जयन्ती शाहले आ–आफ्नो नाममा नापी गराए ।
२०३६ सालमा गौरीशङ्कर फार्मिङलाई अन्नपूर्ण फार्मिङमा रूपान्तरण गरियो । नुवाकोट मालपोत कार्यालयको स्रेस्तामा गौरी शङ्कर फार्मिङलाई केरमेट गरी अन्नपूर्ण फार्मिङ लेखियो । विजय राज्य लक्ष्मी शाहका नाममा रहेको फार्मिङको शेयर २०५२ सालमा जयन्ती शाहका नाममा हस्तान्तरण भयो । त्यही वर्ष हेलेन र जयन्तीका नाममा रहेको सम्पूर्ण शेयर नरेन्द्रलाल प्रधान, केदारनाथ श्रेष्ठ, सजनी प्रधान, सोहिनी श्रेष्ठका नाममा हस्तान्तरण भयो । २०६६ माघ ७ गते धु्रवलाल श्रेष्ठ र रजनी श्रेष्ठ नामका व्यक्ति पुनः उक्त कम्पनीमा प्रवेश गरे भने पछि भुवनलाल राजभण्डारी पनि थपिए ।
२०७२ चैत ५ गते सम्पन्न अन्नपूर्ण फार्मिङको साधारणसभाको निर्णय र शेयर खरिद बिक्री लिखतअनुसार नयाँ शेयरधनीको रूपमा विकेश श्रेष्ठको प्रवेश भयो । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल २०६५ सालमा प्रधानमन्त्री भएका बेला विकेश भन्ने व्यक्ति दाहालका स्वकीय सचिव थिए । माओवादी केन्द्रको चुनवाङ बैठकबाट ९५ जना केन्द्रीय सदस्य बनाइँदा विकेश पनि केन्द्रीय सदस्य थिए । विकेशले कृषि फर्म सञ्चालन गर्छु भनेर शेरा दरबारको जग्गा कब्जा गरेर प्लानिङ गर्नेतर्फ लागे । वि.सं. २०६७ सालदेखि नै विकेश श्रेष्ठले उक्त जग्गा आफ्नो स्वामित्वमा लिएको देखिन्छ । प्रचण्ड प्रम भएकै बेला उनको स्वकीय सचिवालयमा रहेका विकेश श्रेष्ठको नाममा शेयर हस्तान्तरण भयो । २०७३ असार ३ गते शेयर दाखिला खारेजीको निर्णयले विकेश श्रेष्ठको ५ लाख ६७ हजार ५ सय कित्ता शेयर ५ करोड ६७ लाख ५० हजार रूपैयाँमा किनबेच भएको अभिलेख बनाइयो ।
२०७३ साउन ९ गते माओवादी अध्यक्ष दाहाल दोस्रोपटक प्रधानमन्त्री भएका थिए । उनी प्रधानमन्त्री भएका बेला भूमिसुधार मन्त्रालयमा मोहनकृष्ण सापकोटा सचिव थिए । उनी पनि माओवादी निकट कर्मचारी हुन् । तत्कालीन प्रम दाहालकै निर्देशनमा भूमिसुधार सचिव मोहनकृष्ण सापकोटाले विकेश श्रेष्ठको नाममा जग्गा दिने निर्णय गराएको भूमिसुधार मन्त्रालयकै एक अधिकारीले बताएको सार्वजनिक भयो । अन्नपूर्ण फार्मिङको नाममा लालपुर्जा रहेको जग्गाको हदबन्दी छुटको लागि भूमिसुधार विभागबाट मन्त्रालयमा पुगेको पत्रलाई आधार मानेर २०८० सालमा सबै शेयर विकेश श्रेष्ठले आफ्नो नाममा ल्याए । स्थानीय जनताबाट यो प्रक्रियाको विरोध भयो । स्थानीय जनताको विरोधकै कारण नुवाकोट मालपोत कार्यालयले अन्य जग्गाको पनि हदबन्दी छुट दिनुपर्ने माग आएकोले त्यससम्बन्धी निर्णय मन्त्रीपरिषदबाट हुनुपर्ने राय दिन बाध्य भयो । दाहालपत्नी सीता दाहालसमेत बेला बेलामा शेरा फाँट पुगेर त्यहाँ रहेको जग्गाको विषयमा चासो लिने गरेको, उनी त्यहाँ बस्न साढे दुई तलाको घरसमेत बनाइएको र प्रचण्ड तेस्रोपटक प्रम हुँदा सीआईबीले छानबिन गर्न खोज्दा छानबिन प्रक्रिया रोकिएको सार्वजनिक भयो । यसरी दाहाल परिवार नै सो जग्गा काण्डमा मुछिएको सार्वजनिक भयो ।
सरकारको नाममा रहेको उक्त जग्गा हेलेन र जयन्ती शाहको नाममा लगेर हदबन्दीभन्दा बढीको जग्गा कम्पनीको नाममा नापी गर्न मालपोत कार्यालयको स्वीकृति नलिनु नै कैफियतपूर्ण रहेको निष्कर्ष सीआईबीको थियो । सीआईबीको रिपोर्टले भन्छ, “जग्गा भूमिसुधार ऐनपश्चात् हदबन्दीको कारण शेरा दरबार र दरबारले चर्चेको जग्गा राजा महेन्द्रका भाइ अधिराजकुमार बसुन्धराकी पत्नी हेलेन शाह र विजय राज्यलक्ष्मी शाहको अंशमा परेको र सो जग्गा व्यक्तिका नाममा हदबन्दीका कारण नापी हुन नसकेर गौरी शङ्कर फार्मिङका नाममा नापी गराइनु नै दूषित हो ।”
अहिले शेरा दरबारको हदबन्दीभन्दा बढी १८४ रोपनी जग्गामा स्थायी र अस्थायी प्रकृतिका संरचनाहरू निर्माण भइसकेका छन् । जग्गा बढी देखिएपछि कम्पनीको नाममा दर्ता गरी केही जग्गा बेचबिखनसमेत गरियो । फार्मिङको नाममा गएको उक्त जग्गामा प्लटिङ गरियो । रानी दरबारको रूपमा रहेका किनं ७९, ८०, ८१ (८१ लाई टुक्र्याएर हाल किन १७५२ र १७५३ बनाइएको) जग्गाहरू हेलेन शाहबाट विदुर नगरपालिका बट्टार निवासी रजनी श्रेष्ठ र वर्षा बस्नेत (चित्रकार) को संयुक्त नाममा करिब २० रोपनी जग्गा बिक्री भइसकेको छ ।
फार्मिङ कम्पनीको नाममा बनाइएको दरबारसहितको जग्गामा आवादी तीन कित्तामात्र छन् भने पर्ती (सरकारी) जग्गा पाँच कित्ता छन् । जग्गाधनी स्रेस्ता किताबमा तीन कित्तामा पोखरी, एक कित्तामा केरा, एक कित्तामा बगैँचा रहेको छ । पर्ती, पोखरी, केरा र बगैँचा भएका जग्गा स्वतः सरकारी हुने प्रावधान हो । नेपालमा राजतन्त्र अन्त्य भएपछि राजाका नाममा भएका सम्पत्ति तथा जग्गाहरू नेपाल ट्रस्टको नाममा ल्याइयो । शेरा दरबार रहेको जग्गा कसरी छुट्यो ? भूमाफियाहरूले चलखेल गर्ने मौका पाए । यो अपराध नै हो । अपराधीलाई कडाभन्दा कडा सजाय गरेर सरकारी शेरा दरबार र चर्चिएको जग्गा सरकारको नाममा दर्ता गर्नु आवश्यक छ ।
काठमाडौँ थःवहीको सरकारी कमलपोखरी र बगैँचामा केयुर शमशेरका परिवारले आफ्नो नाममा दर्ता गरी पन्ध्र तलाको व्यापारिक छाया कम्प्लेक्स भवन बनाएको विरोधमा स्थानीय जनता सडक र अदालतमा सङ्घर्षरत छन् । देशको राजधानी काठमाडौँ, ललितपुर र भक्तपुरमा पनि सरकारी जग्गा र भवन व्यक्ति वा निजी कम्पनीको नाममा दर्ता वा भाडाको नाममा कब्जा जमाउनेहरू हुनु भनेको सरकारको अस्तित्वमाथिको प्रश्न किन होइन ?
Leave a Reply