भर्खरै :

२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबारे तराईको स्थिति

२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबारे तराईको स्थिति

२०८२ भदौ २३ र २४ गते भएको ‘नयाँ पुस्ता’ को आन्दोलनपश्चात् ‘नयाँ पुस्ता’ को मस्तिष्कमा पुराना दलहरूप्रति हेर्ने दृष्टिकोण विगतको भन्दा फरक देखियो । विगत ३५–३६ वर्षदेखि एमाले, काङ्ग्रेस, राप्रपा, माओवादी, मधेसवादी दललगायत अन्य शासक दलहरूले जनताको आधारभूत आवश्यकताहरू पूरा गर्न नसक्दा जनता विकल्प खोज्दै थिए । हरेक निर्वाचनको समयमा जनताले विकल्प खोज्दै आइरहेका थिए । तर, यसपालिको निर्वाचन विगतको भन्दा फरक देखियो । बालेनको रास्वपा प्रवेशपश्चात् मधेसको राजनैतिक वातावरण पनि फरक देखियो । मधेसी जनताको मानसिकतामा अहिलेसम्म पहाडिया शासकहरूले मधेस र मधेसीप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन गरेनन् । मधेसीको छोरा देशको प्रधानमन्त्री बन्दै छ भन्ने उत्साह देखियो । पार्टीगत हिसाबले जुनसुकै पार्टी भए पनि यसपालि रास्वपामा मतदान गरी बालेनलाई जसरी पनि प्रधानमन्त्री बनाउनुपर्छ भन्ने मानसिकता विकास भएको देखियो ।
यहाँका अधिकतम युवाहरू रोजगारीको सिलसिलामा विदेशमा भएकाले उनीहरूले घरमा फोन गरी घण्टीलाई मतदान गर्न परिवारलाई दबाब दिइरहेको देखियो । अन्य राजनीतिक दलका महत्वाकाङ्क्षी उम्मेदवारहरूले पार्टीबाट औपचारिक मनोनयन पत्र नपाउँदा असन्तुष्टहरूले पनि आफ्नै पार्टीको उम्मेदवार र पार्टीलाई सहयोग नगरेको देखियो । विकल्पमा रास्वपालाई नै मतदान गर्न आफ्ना शुभेच्छुकहरूलाई भित्रभित्र खबर गरेको पाइयो । शासक दलका उम्मेदवारहरूलाई के विश्वास थियो भने हाम्रा कार्यकर्ताहरूले नानाथरीका आरोप–प्रत्यारोप लगाए पनि अन्ततः मतदान हामीहरूलाई नै गर्नेछ भन्नेमा ढुक्क थियो तर परिणाम ठीकविपरीत देखियो ।
चुनाव प्रचारप्रसारको क्रममा पुराना शासक दलहरू र रास्वपामा खासै फरक देखिएन । विगतका निर्वाचनमा यिनीहरूको ठाउँ–ठाउँमा झन्डा र ब्यानरहरू राखेर झिलिमिली बनाएको देखिन्थ्यो तर यसपालि पहिलेको तुलनामा कम देखियो । ठूलो आवाज आउने साउन्ड (डिजे) ब्यान्ड मनोनयन दर्ता भएको दिनदेखि नै बस्तीबस्तीमा बजाउन थालियो । भारतीय गाडी सस्तो भाडामा पाउने भएकोले एउटा उम्मेदवारको आठ/दस वटा गाडी आफ्नो निर्वाचन क्षेत्रका विभिन्न ठाउँबाट गुडाइरहेको देखियो । गाडीमा दुई÷चार जना मान्छे मात्र देखिन्थे तर ती गाडीहरू बिहानदेखि बेलुकासम्म घुमिरहेको देखिए ।
विभिन्न क्षेत्रमा घरदैलो गर्दाको दृश्यहरूमा विशेषतः एमाले, काङ्ग्रेस, नेकपा, जसपा, रास्वपाहरूले महिलाहरूलाई दैनिक मासुभात खुवाई ६०० ज्याला दिई घरदैलो गराएको पनि देखियो । यिनीहरू पहिला जस्तै ठुलठुला भोजको आयोजना नगरीकन गाउँका एजेन्टहरूमार्फत मत किन्ने काम गरेको देखियो । कतिपय पार्टी निर्वाचित जनप्रतिनिधिहरूले मोटो रकम पाए पनि आफ्ना शुभचिन्तकहरूलाई पैसा दिएको पार्टी र उम्मेदवारहरूलाई मतदान गर्न लगाए । यसपालि रास्वपाको चारैतिर हल्ला फैलिएको हुँदा र उनीहरूको नारा पनि ‘चुपचाप घण्टी छाप’ भएको र जनताले विकल्प खोजेको बेला उनीहरूको नाराले सार्थकता पायो । शासक दलहरू काङ्ग्रेस, एमाले, माओवादीले आफ्ना कार्यकर्ताहरूलाई सैद्धान्तिक रूपमा स्पष्ट नपार्दाको परिणाम हो – यो परिस्थिति । शासक दलका निर्वाचित जनप्रतिनिधिहरूले पनि भोलिको विकल्प खोज्दै भित्रभित्रै रास्वपालाई समर्थन गरेको देखियो । यिनीहरू निकट भविष्यमा रास्वपामा प्रवेश गर्यो भने आश्चर्य मान्नु पर्दैन । यो चुनावमा रास्वपाले पाएको मत बाहिर भनेजस्तै स्वस्फुर्त मत होइन, उनका उम्मेदवारहरूले भित्रभित्र लाखौँ लाख रुपैयाँ खर्च गरेको पनि सुनियो ।
मान्छेलाई आकर्षित पार्न रास्वपाले चुनावको बेला हरेक प्रकारको स्रोत साधनको प्रयोग गरेको देखियो – जस्तै गाडीहरूको लाम, डिजे बाजा, घोडा, मोटरसाइकल, झ्याली बाजालगायत साधनहरू प्रयोग गरेको देखियो । चुनाव आचारसंहिताको उल्लङ्घन गर्दा सम्बन्धित निकाय मूकदर्शक थियो ।

नेमकिपाको चुनाव प्रचारबारे
नेमकिपाले चुनावलाई जनताको चेतना स्तर नाप्ने ब्यारोमिटरको रूपमा उपयोग गर्दै आएको हो । त्यसैले नेमकिपाका उम्मेदवारहरू निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी निर्वाचन घोषणापत्र, पर्चा लिई जनताको घरदैलोसम्म पु¥याई राजनीतिको नाममा बढ्दै गरेको विकृति, विसङ्गति, अराजक गतिविधि, भ्रष्टाचारलगायतका बारेमा उनीहरू जनतालाई सचेत पार्ने काममै लागे । सङ्ख्यात्मक रूपमा नेमकिपाका सीमित कार्यकर्ता मात्रै हुँदा कतिपय ठाउँमा मान्छेहरू आश्चर्य मान्थे । मानिसहरू ‘नेमकिपा एक÷दुई जना मात्रै भए पनि डर र लाज नमानी यस्ता काम गर्न सकिरहेका छन्’ भनी आश्चर्य मान्दै हेर्थे । ती कार्यकर्ता जुनसुकै ठाउँमा पुग्दा पनि पार्टीको नाम सुन्दा मान्छे आश्चर्य मान्थे र सोध्ने पनि गर्थे नेमकिपा यहाँ पनि छ र ?’ पार्टी नेतृत्व र पार्टीले देश र जनताको पक्षमा उठाउँदै आएको विषयमा कार्यकर्ताहरूको मुखबाट सुन्दा युवा कार्यकर्ताहरू झन् उत्साहित देखिन्थे । कतिपय ठाउँमा भन्थे, ‘पार्टी राम्रो छ तर जनताको विश्वास लिन किन सकिरहेको छैन ?’ कतिपय ठाउँमा भन्थे, “पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँको विचारसँग सहमत छु ।’ तर, शासक दलहरूलाई तह लगाउनको लागि यसपालि रास्वपामा मतदान गर्ने कुरा बताउँथे । कतिपय मतदाताहरूले भन्ने गर्थे, “अन्य पार्टीका उम्मेदवारहरूले खाजा खानाको लागि पैसा दिन्छ तर तपार्इँहरू पर्चा दिएर कसरी तपाईंलाई मत आउँछ ?” घरदैलोको क्रममा युवाहरूले नेमकिपालाई सहयोग गर्छौं तर हामीलाई अप्ठ्यारो परेको बेला अर्थात् प्रशासनले पक्राउ गर्दा नेमकिपाले पनि सहयोग गर्नुपर्छ ।’ त्यस जिज्ञासा राख्दा नेमकिपाका कार्यकर्ताको उत्तर थियो – ‘नियमविपरीतको काम नगर्नुहोला । त्यसबाहेक केही अप्ठ्यारो भएको खण्डमा हामी छलफल गरी सहयोग गर्छौँ ।’ साँझ ती युवाहरूले फोन गरी भने, “हामीसँग १०० वटा जति भोट छ, तिनीहरूलाई खाजा खुवाउनको लागि पैसा पठाइदिनुप¥यो ।” नेमकिपाका कार्यकर्ताहरूले तिनीहरूलाई स्पष्ट र नम्र भाषामा नेमकिपाले पैसा दिएर, भोज खुवाएर, झूटा आश्वासन दिएर भोट माग्दैन । पार्टीको घोषणापत्र पढ्नुहोला । हाम्रो विचारसँग सहमत भएको खण्डमा हामीलाई मतदान गरी सहयोग गर्नु होला भनी आग्रह गरे ।
पार्टीको बारेमा धेरैलाई थाहा भए पनि पार्टीको चुनाव चिह्नको बारेमा धेरै मतदाताहरू अनभिज्ञ भएको देखियो । निर्वाचन र अन्य समयमा पनि पार्टीको चुनाव चिह्नको बारेमा कसरी व्यापक रूपमा जनतामाझ पु¥याउन सकिन्छ भन्नेबारे कार्यकर्ताहरू अनभिज्ञ थिए । चुनावको समयमा अन्य दल र त्यसका उम्मेदवारहरूले सामाजिक सञ्जाल, सञ्चारमाध्यमको व्यापक प्रयोग गरेको देखियो । नेमकिपाले पनि आफ्ना विचार र चुनाव चिह्न देशव्यापी रूपमा पुग्ने गरी सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरू प्रयोग गरी अडियो, भिडियोमार्फत मतदाताहरूसमक्ष पु¥याउनु आवश्यक थियो/त्यो देखिएन । चुनावको समयमा जुन सक्रियता थियो त्यो सक्रियतालाई निरन्तरता दिनु आवश्यक छ – नेमकिपाको केन्द्रको पनि यसबारे गम्भीर ध्यान जानु आवश्यक छ । जिल्ला जिल्ला घुम्ने र बुझ्ने नेताहरूले मात्र जनताको समस्या बुझ्ने छन् भनी सबैले बुझ्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *