नयाँ पुस्ताको आन्दोलनलाई विचारले नेतृत्व गर्छ !
- कार्तिक १८, २०८२

एकजना रोगी निको भइसकेपछि उनलाई पुरानै वा नयाँ रोग लाग्दैन भन्ने छैन । मानिसको रोग बल्झिएजस्तै कुनै एक उपनिवेश देश जसरी स्वतन्त्र र मुक्ति भएर पनि देशको आफ्नै आन्तरिक कारण वा बाहिरी कारणले पुनःउपनिवेश बन्ने वा परतन्त्र हुने सम्भावना धेरै छ । एसियामा इन्डोनेसियाजस्ता (युरोपकै जति लम्बाइ भएको देश सन् १९६० तिरै १० करोड जनसङ्ख्या भएको) देशमा आफूभन्दा सानो क्षेत्रफल र कम जनसङ्ख्या भएको जापान, निडरल्यान्ड, इटाली, पुर्तोगाल र बेलायतजस्ता देशहरूले हमला गरे । जापानले नेडरल्यान्डको विरोधमा इन्डोनेसियाकै भूमिको विषयमा झगडा हुँदा बेलायत र संयुक्त राज्य अमेरिका पनि त्यो युद्धमा सामेल भए । जापानको पक्षमा जर्मनी र इटाली पनि संलग्न भए । यसरी इन्डोनेसिया कब्जा गर्न नेडरल्यान्ड, बेलायत र अमेरिका एक गुट बन्यो भने जापान, जर्मनी, इटाली र पोर्चुगाल एक गुटमा उभियो । ती दुवै पक्ष इन्डोनेसियालाई टुक्राटुक्रा गरेर बाँड्न खोज्थे र पेट्रोल, खनिज तथा अन्य प्राकृतिक स्रोतहरू कब्जा गर्न पुँजी लगानी गर्दै थिए । तर, इन्डोनेसियाका विभिन्न जाति र धर्मको आधारमा सङ्गठित दलहरू पनि आफ्नो देश बचाउन गुरिल्ला युद्ध गर्दै थिए । ती दलहरूमध्ये सुकार्नोको राजनैतिक दल र कम्युनिस्टहरू बढी सङ्गठित थिए । सन् १९४९ मा इन्डोनेसिया स्वतन्त्र भयो र सुकार्नो राष्ट्रपति भए, कम्युनिस्टहरू, सुकार्नो र दक्षिणपन्थी पार्टीहरूको संयुक्त सरकार बन्यो । तर, सन् १९६०–६२ सम्ममा दक्षिणपन्थीहरूको षड्यन्त्रले राष्ट्रपति प्रतिक्रियावादीहरूको घेरामा परे । कम्युनिस्टहरूको विरोधमा ‘श्वेत आतङ्क’ मच्चाएर लाखौँ वामपन्थीहरू मारेर एक अमेरिकी पिछलग्गू दक्षिणपन्थी तानाशाह सुहार्तोले १५–२० वर्षभन्दा शासन गरे ।
त्यस्तै, कोरिया प्रायःद्वीप र भियतनाम पनि स्वतन्त्र भयो तर संयुक्त राज्य अमेरिकी साम्राज्यवादको नेतृत्वमा पुनः कोरिया र भियतनाममा आक्रमण गरी देशलाई टुक्राएर राख्यो । अफ्रिकाको कङ्गोमा युवा नेता पेट्रीश लुमुम्बा प्रधानमन्त्री चुनिए र गिनिमा एनक्रुमा राष्ट्रपति भए, केही वर्षभित्रै उपनिवेशवादीहरूले सैनिक विद्रोह गरी लुमुम्बाको हत्या गरे र एनक्रुमालाई अपदस्थ गरे । ल्याटिन अमेरिकाका चिली र अन्य देशहरूमा पनि सैन्य विद्रोह र अमेरिकी हस्तक्षेपबाट प्रजातान्त्रिक सरकारहरू ढले ।
माथिका उदाहरणहरूबाट थाहा हुन्छ कि सरकारमा पुग्दैमा कुनै प्रजातान्त्रिक र क्रान्तिकारी सरकार धेरै दिन टिक्छ भन्ने छैन, स्थानीय, प्रतिगामी र जनविरोधीहरूलाई विदेशी शक्तिले उचालेर देशमा गृहयुद्ध मच्चाउन दिन्छन् । सरकार र विद्रोहीलाई पनि महँगो हतियार बेचेर गरिब देशहरूलाई झन् गरिब बनाउँछन् । नाटो सङ्गठनका सदस्य देशहरूलाई समेत अमेरिकी राष्ट्रपति ट्रम्पले प्रस्ट भाषामा भने, “कम्युनिस्टहरूबाट तिमीहरूलाई रक्षा गर्न अमेरिकाले धेरै खर्च ग¥यो अब तिमीहरूको रक्षा बजेटको पाँच प्रतिशत रकम अमेरिकालाई तिर्नुपर्छ ।” प्रस्ट छ – यो एक व्यापारी भाषा र मन हो । मानवीय भाषामा कसैले यस कुरालाई अर्कै वाक्यमा भन्ने थिए, “हामीले हतियारको उत्पादन गर्न लगाएको पुँजी जनताको सेवा गर्ने महँगो औषधिमा लगानी गरेको भए संसारका करोडौँ उपचार नपाएर केटाकेटी, महिला र रोगीहरू मर्ने थिएनन्, रोगीहरू निको भएपछि तिनीहरूले आ–आफ्नो पेसाअनुसारको उत्पादन कार्य र सेवाको निम्ति श्रम गर्थे ।”
सोभियत सङ्घका पछिल्ला नेताहरू अदूरदर्शी, मूर्ख र इतिहासको धारलाई समेत नबुझ्नेहरूको पुस्ता हुँदा सोभियत सङ्घ १४ टुक्रामा मात्रै विभाजित भएन बरु समाजवादी व्यवस्थाले ती देशबाट पछि हट्यो, धेरैले दुःख पाए र कमजोर देशहरूलाई सहयोग गर्ने विज्ञान र प्रविधिको शिक्षा दिने विषयमा पनि रुसपछि प¥यो । प्रगति र उन्नति भएको देशले गर्न सक्ने विश्वस्तरको सेवा पनि दिन सकेन ।
नयाँ पुस्ताका ती मूर्ख नेताहरूको कारण सबभन्दा पहिले साम्राज्यवादीहरूसँग घुँडा टेकेर जारकालीन विभिन्न भाषाभाषी र संस्कृतिका गणतन्त्रहरूलाई प्रजातन्त्रको नाममा अलपत्र पारेर छोडे – ती हुन्, पश्चिमका गणतन्त्रहरू इस्टोनिया, लाटभिया, लिथुवानिया, बेलारुस, युक्रेन र मोल्डाविया । सोभियत सङ्घका पश्चिम दक्षिण गणतन्त्रहरू हुन् जर्जिया, आर्मेनिया, अजरबैजान, तुर्केमेनिया त्यस्तै दक्षिणका उजेकिस्तान, कजाकिस्तान, किर्गिस्तान र ताजकिस्तान ।
यसरी आफ्नै गणतन्त्रात्मक क्षेत्रलाई टुक्र्याउँदा निश्चय पनि सोभियत सङ्घ कमजोर भयो, छुटेर गएका गणतन्त्रहरू पनि एक प्रकारले हरेक दृष्टिले कमजोर भए । यसमा नाटो देशले सोभियत सङ्घलाई कमजोर गर्न सके नाटो बलियो हुन्छ भन्ने गलत अनुमान गरी आ–आफ्नै देशका युवाहरूलाई सोभियतबाट छुट्टिने देशका युवाहरूलाई उत्साहित गरे – मोबाइल र नयाँ प्रविधिले । परिणाम उल्टो भयो, संसारमा विज्ञान र प्रविधिको विकास गर्ने संस्था मौन बस्यो । विश्व र नयाँ पुस्ता त्यो अवसरबाट वञ्चित भयो । यसकारण, नयाँ पुस्तालाई र आँखा चिम्लेर तयारीबिना नयाँ नेतृत्वको हो–हल्ला गरेमा उल्टो परिणाम आउनेबारे सचेत होऔँ ¤
Leave a Reply