कम्युनिस्टहरू आमूल परिवर्तनका पक्षपाती हुन्छन् । सशस्त्र क्रान्तिबिना आमूल परिवर्तन सम्भव छैन । सामन्तवादको अन्त्य पुँजीपति वर्गले हतियारको बलमा गरेझँै पुँजीवादको अन्त्य र समाजवादी व्यवस्थाको स्थापना पनि हतियारकै बलमा मात्रै सम्भव हुन्छ । कम्युनिस्ट घोषणापत्रमा भनिएको छ, “सर्वहारा वर्गले बल प्रयोगबाट पुँजीपति वर्गलाई हटाएर आफ्नो सत्ता कायम गर्दछ ।”
परिस्थिति परिपक्व नहुँदै सर्वहारा वर्गले हतियार उठाएको अवस्थामा त्यो अनावश्यक बलिदानमा टुङ्गिन्छ । त्यसैले का. लेनिनले भन्नुभएको छ, “क्रान्तिको लागि शासकहरू पहिलेकै अवस्थामा शासन गर्न नसकेको र शासितहरू पहिलेकै अवस्थामा बस्न नचाहेको बेला राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिअनुकूल भएमा क्रान्ति हुन्छ ।”
समाज विकासक्रम निरन्तर अघि बढिरहन्छ । त्यसलाई कसैले पनि रोक्न सक्दैन । राज्यको उत्पत्ति भएदेखि आदिम साम्यवादी समाजबाहेक दासयुग, सामन्तवादी युग र पुँजीवादी व्यवस्थामा समाज वर्गमा विभाजित हुने हुँदा वर्ग सङ्घर्ष चलिरहनेबारे स्पष्ट पार्दै कम्युनिस्ट घोषणापत्रमा भनिएको छ– “आदिम समुदायको विनासपछि नै समाजमा वर्गभेद सुरु हुन्छ र अन्त्यमा समाज परस्परविरोधी वर्गहरूमा बाँडिन्छ ।”
संसारका सबै कम्युनिस्टहरू समाजवाद स्थापनाका लागि सङ्घर्षरत छन् । उनीहरूको एउटै उद्देश्य हो देशमा शोषणरहित राजनैतिक व्यवस्था समाजवाद हुँदै साम्यवादी समाजको स्थापना । त्यसको लागि कतिले हतियार उठाए भने कतिले क्रान्तिको वातावरण तयार गर्न वैचारिक र राजनैतिक सङ्घर्ष गर्दै छन् । सोभियत सङ्घ, चीन, क्युवा, प्रजग कोरियाजस्ता देशहरूमा सशस्त्र क्रान्तिकै माध्यमबाट समाजवादको स्थापना भएको हो ।
नेपालका केही कम्युनिस्ट पार्टीहरूले निर्वाचनलाई नै समाजवाद स्थापनाको लागि अन्तिम गन्तव्य बनाउँदै छन् । एमाले झापा विद्रोह गरी व्यक्ति हत्याबाट उडाएको पार्टी हो । २०४६ सालको परिवर्तनपछि एमाले पुँजीवादी सरकारमा गयो । त्यतिखेर नेमकिपाले कम्युनिस्ट पार्टीहरू सरकारमा नगई आन्दोलनलाई निरन्तरता दिएर सोभियत सङ्घको फ्रेबुअरी क्रान्तिसँग जोड्नुपर्नेमा जोड दिएको थियो । पञ्चायतको अन्त्य भइसकेको तर पुँजीवाद बलियो भई नसकेको अवस्थामा सर्वहारा क्रान्तिलाई अगाडि बढाउनु वातावरण अनुकूल पनि थियो । एमाले नेकाको नेतृत्वमा बनेको पुँजीवादी सरकारमा गएपछि जनआन्दोलन अगाडि बढ्न सकेन ।
पुजीवादी सरकारमा गएर एमालेले जनतालाई शासन र शोषण गर्दै छ । समाजवाद स्थापनाको दीर्घकालीन उद्देश्य त्यागेर एमाले पुँजीवादी सरकारमा रमाउँदै दक्षिणपन्थी अवसरवादमा परिणत भएको छ । एमाले कम्युनिस्ट आचरण विपरीत काम गर्दै उहिले नै भाइकाङ्ग्रेस बनि सकेको थियो । सशस्त्र सङ्घर्षबाट अघि बढेको माओवादी पार्टी पनि २०६३ सालदेखि पटक पटक पुँजीवादी सरकारमा गयो । माओवादी अध्यक्ष प्रचण्ड चार पटक प्रधानमन्त्री भए तर कुनै परिवर्तन भएन बरु माओवादी स्वयं संशोधनवादी बाटोमा नराम्ररी फस्यो । जसरी एमाले सरकारबिना बस्नै नसक्ने अवस्थामा पुग्यो अहिले माओवादीको अवस्था त्यो भन्दा फरक भएन ।
देश र जनताको इमानदारीपूर्वक सेवामा लाग्नुपर्ने कम्युनिस्टहरू पद र पैसाकै निम्ति झगडा गर्न थाले । पुँजीवादी निर्वाचन जित्न करोडौँ खर्च गर्ने, भ्रष्टाचारी र तस्करहरूलाई नजिकको मित्र बनाउने र सरकारमा गएपछि तिनीहरूलाई नै सांसद र मन्त्री बनाउने जस्ता नैतिकताहीन कार्यहरू गरे । पुजीवादी सरकारमा जान पार्टीको सिद्धान्त, विचार, मूल्य मान्यतालाई परित्याग गरे । जोसुकैसँग जस्तोसुकै गठबन्धन गरेर सरकारमा बस्ने र टिकिरहने अनैतिक व्यवहारहरू देखाए । प्रमुख प्रतिपक्षमा बस्नुपर्ने एमाले अहिले संसद्कै सबभन्दा ठूलो दल नेकासँग गठबन्धन गरेर सरकारको नेतृत्व गर्नु त्यसको एउटा उदाहरण हो भने माओवादी कहिले नेकासँग मिलेर चुनाव लड्ने त कहिले एमालेसँग मिलेर चुनाव जित्ने तथा एउटा पार्टीसँग चुनाव लड्ने अर्को पार्टीसँग सरकार बनाउने जस्ता गतिविधिहरू सिद्धान्तहीनताका अर्का उदाहरणहरू हुन् ।
चुनावबाटै समाजवादको सपना देख्नु संशोधनवाद हो । संशोधनवाद कम्युनिस्ट आन्दोलनमा देखा परेका पुँजीवादी विचार हो । कम्युनिस्ट आन्दोलन संशोधनवादविरुद्ध वैचारिक आन्दोलन पनि हो । नेपाल मजदुर किसान पार्टीले नेपाल कम्युनिस्ट आन्दोलनमा देखा परेका संशोधनवादी विचारको खण्डन गर्दै कम्युनिस्ट आन्दोलनको रातो झण्डालाई उच्च बनाउँदै छ ।
नेमकिपाले किन चुनावमा भाग लिन्छ ?
नेपाल मजदुर किसान पार्टीले चुनावलाई एक राजनैतिक र वर्ग सङ्घर्षको रूपमा लिएको छ । चुनावमा जितेर शासक बन्न होइन नेमकिपाले देश र जनताको इमानदारीपूर्वक सेवा गर्न निर्वाचनलाई उपयोग गर्दै आएको छ । प्रतिक्रियावादी सङ्घ संस्थामा गएर पनि जनताको सेवा गर्ने लेनिनवादी नीतिलाई नेमकिपाले आत्मसात गर्दै आएको छ ।
राजनैतिक दलहरू प्रतिबन्धित अवस्थामा भएका पञ्चायती निर्वाचनहरूलाई पनि नेमकिपाले उपयोग गर्दै आएको थियो । संसद्मा जनविरोधी विधेयकहरूको विरोध गर्न, जनपक्षीय विधेयकहरू अगाडि बढाउन, देशघाती सन्धि सम्झौताहरूको सजिलैसित पारित गर्न नदिने तथा जनतालाई राजनैतिकरूपमा सचेत र सङ्गठित पार्न निर्वाचनलाई उपयोग गर्दै आएको हो । साथै साम्राज्यवादी देशहरूले कमजोर देशहरूमाथि गरेको हमला, थिचोमिचो र हस्तक्षेपको विरोध गर्दै नेमकिपाले अन्तर्राष्ट्रिय कर्तव्य पनि पूरा गर्दै आएको छ ।
संसद्मा नेमकिपा नरहेको भए देशघाती एमसीसीको विरोध गर्ने पार्टी पनि हुने थिएन । नागरिकता विधेयक, लगानी बोर्ड विधेयकजस्ता संसद्बाट पारित देशघाती विधेयकहरूको विरुद्ध नेमकिपा एक्लैले भए पनि सडक र सदनमा सङ्घर्ष गर्दै आयो । अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरुद्ध निरन्तर सङ्घर्ष गर्ने नेमकिपा नेपालको एक मात्र देशभक्त र अन्तराष्ट्रवादी पार्टी हो । नेमकिपाले कम्युनिस्ट सिद्धान्त र विचारप्रति इमानदार र प्रतिबद्ध पार्टीको पहिचान बनाएको छ । संसद्मा नेमकिपा नभएको भए प्रतिपक्षविहीन जस्तो हुनेछ अर्थात् नेमकिपा संसद्मा प्रखर प्रतिपक्षको भूमिका खेल्न सफल भएको छ ।
पार्टी भनेको भीड होइन, विचार र सिद्धान्त हो । सिद्धान्त र विचारमा प्रतिबद्ध र अनुशासित कार्यकर्ताहरूको जमात नै राजनैतिक पार्टी हो । उसले आदर्श समाज निर्माण गर्ने उद्देश्य लिएर दर्शनको आधारमा एउटा वर्गको प्रतिनिधित्व गरेको हुन्छ । नेमकिपा समाजवादी विचारको हतियारले सुसज्जित पार्टी हो । नेमकिपा विचारले सुसज्जित ठूलो कार्यकर्ता पङ्क्ति तयार गर्ने अभियानमा छ र उसले सङ्ख्यालाई भन्दा गुणलाई जोड दिइरहेको छ । चुनावमा झुटा आश्वासन दिने, भोज खुवाउने वा पैसा खर्च गर्ने काम नेमकिपाका उम्मेदवारहरूले कहिल्यै गरेनन् । बरु हार स्वीकार गरे तर अनैतिक काम गरेनन् । जनताको राजनैतिक चेतनास्तर उठाउन पार्टीकार्यकर्ताहरू निरन्तर लागि रहेका छन् । स्थापनाकालदेखि सामन्त र पुँजीपति वर्गसँग सम्झौताहीन सङ्घर्ष गर्दै नेमकिपाले नेपालको कम्युनिस्ट आन्दोलनमा छुट्टै पहिचान बनाएको छ ।
नेमकिपाले स्थानीय निर्वाचनमा पनि भाग लिई जनताको सेवा गरिरहेको छ । जहाँ जहाँ नेमकिपाका उम्मेद्वारहरू जिते त्यहाँ त्यहाँ जनताको निम्ति राम्रो काम भएका छन् । उदाहरण भक्तपुर नगरपालिका हो । भक्तपुर नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरूले लामो समयदेखि काम गरी आएको नगरपालिका हो । २०७४ र २०७९ सालमा भएका निर्वाचनहरूमा भनपामा शतप्रतिशत नेमकिपाका जनप्रतिनिधिहरू निर्वाचित भए ।
शिक्षामा शिशुशालादेखि सात वटा कलेजहरूसम्म सञ्चालन गर्ने भक्तपुर नेपालको एक मात्र नगरपालिका हो । नगरपालिकाबाट सञ्चालित कलेजहरूले देश भरका जनताका छोराछोरीहरूलाई सस्तो र गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छन् भने स्वास्थ्यमा घरदैलो नर्सिङदेखि १०० शैय्याको अस्पताल समेत सञ्चालन गरी स्वास्थ्य उपचारमा सबै नागरिकको पहुँच पु¥याएको छ । सरसफाइ, सम्पदा संरक्षण, विकास निर्माणमा जनसहभागिता, सीपमूलक तालिमहरू सञ्चालन गर्दै जनतालाई स्थानीय सरकारको अनुभूति हुने गरी काम गरिरहेको छ । नेपालको संविधानले अङ्गिकार गरेको समाजवादउन्मुख कार्यहरू भक्तपुर नगरपालिकाले गर्दै आएको छ । त्यो भक्तपुरमा मात्र होइन, नेमकिपा जितेका कालीकोट, दैलेख, जुम्लामा पनि यस्तै उदाहरणीय कार्यहरू हुँदै आएका छन् ।
अहिले ७५३ वटा पालिका भए पनि भक्तपुर नगरपालिकालाई नमुना पालिकाको रूपमा लिने गरिन्छ । धेरै पालिकाका प्रमुख, उपप्रमुख र जनप्रतिनिधिहरू तथा सांसद र मन्त्रीहरू समेत भनपाको काम गर्ने शैली हेर्न भक्तपुर पुग्ने गरेका छन् । अहिले भक्तपुर सबैको लागि सिक्ने ठाउँको रूपमा विकास हुँदै छ । संविधान र ऐन कानुनभित्र रहेर एउटा कम्युनिस्ट पार्टीका उम्मेदवारहरू जितेको अवस्थामा के कति काम गर्न सकिन्छ भन्ने भक्तपुर नगरपालिका एउटा उदाहरण बनेको छ ।
नेमकिपाका नेता कार्यकर्ताहरूले कहिल्यै व्यक्तिगत स्वार्थको निम्ति काम गरेनन् । व्यक्तिगत फाइदाको निम्ति काम गर्नेहरू नेमकिपामा टिकिरहन पनि सकेनन् । कति निर्वाचित सांसद र जनप्रतिनिधिहरूले पार्टी छोडे, कति निकालिए तर पार्टीको सिद्धान्त र विचारमा कुनै किसिमका आँच आउने काम हुन दिइएन । नेपाल कम्युनिस्ट पार्टीहरूमा देखा परेका खोटा विचारहरूको खण्डन गर्दै नेमकिपा देशको कम्युनिस्ट आन्दोलनको प्रकाश स्तम्भको रूपमा अगाडि बढ्दै छ । नेमकिपाले अगाडि बढाएको कम्युनिस्ट पार्टीको रातो झण्डालाई अझ उच्च बनाउनु सम्पूर्ण नेता, कार्यकर्ताहरू, शुभचिन्तकहरूको कर्तव्य र जिम्मेवारी हो । नेमकिपाको ५१ औँ स्थापना दिवसको अवसरमा सबैलाई हार्दिक बधाई तथा शुभकामना !
Leave a Reply