भर्खरै :

अमेरिकी साम्राज्यवादको पतन सुनिश्चित

अमेरिकी साम्राज्यवादको पतन सुनिश्चित

भक्तपुर, १५ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले अमेरिकी साम्राज्यवादको पतन सुनिश्चित बताउनुभएको छ ।
मङ्गलबार एक समारोहबिच बाल विकास सेकेन्डरी स्कूलको ३७ औँ वार्षिक उत्सव शैक्षिक मेलाको उद्घाटन गर्दै अध्यक्ष रोहितले आज अमेरिकी अर्थतन्त्र ओरालो लागेकोले ट्रम्प प्रशासनले अनेक बहानामा विभिन्न सहयोग परियोजनाबाट पछि हट्न र त्यहाँ रहेका आप्रवासीलाई निकाला गर्न थालेको उल्लेख गर्नुभयो । अध्यक्ष बिजुक्छेँले यो अमेरिकाको अधोगतिको सुरुवात भएको धारणा व्यक्त गर्नुभयो ।
उहाँले साम्राज्यवादीहरू आफू एक्लै अघि बढ्न खोज्ने हुँदा छिट्टै सकिने र समाजवादी देशहरू सबैलाई सँगै अघि बढाउन खोज्ने हुँदा अबको समाजवादीको युग हुने स्पष्ट पार्नुभयो । समाजवादी समाजमा मानिसहरूले काम, माम, शिक्षा र स्वास्थ्यसेवाबारे कुनै कुराको चिन्ता लिनु नपर्ने, वर्गभेद, लिङ्गभेद हट्ने तथा समाजवादी समाजमा मानिस ज्ञान, विज्ञान र सोचाइका दृष्टिले पनि उच्चकोटी हुने धारणा राख्दै उहाँले अब समाजवादको बाटोलाई कसैले रोक्न नसक्ने बताउनुभयो ।
अबको युगमा तीव्ररूपले नयानयाँ कुराको आविष्कार हुने र मानिस अन्तरिक्षको यात्री हुने भएकाले नयाँ पुस्तालाई त्यही रूपमा तयार पार्नुपर्ने कुरामा अध्यक्ष बिजुक्छेँले जोड दिनुभयो ।
उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नयाँपुस्तामा देशप्रेम भावना हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै प्यालेस्टिनी जनताबाट सबैले देशप्रेम के हो भन्ने कुरा सिक्नुपर्ने बताउनुभयो । अमेरिकी साम्राज्यवाद र त्यसको पिछलग्गू इजरायल विगत १५ महिनादेखि निरन्तर प्यालेस्टिनमा हमला गर्दा पनि त्यहाँका जनताले अन्तिम साससम्म आफ्नो मातृभूमिको लागि लडिरहनु देशप्रेमको उच्च नमुना भएको बताउनुभयो ।
उहाँले प्रत्येक व्यक्ति, समाज र देश आफ्नै खुट्टामा उभिन सिक्नुपर्ने आवश्यकता औँल्याउँदै अरूको भरपर्नेहरूको अवस्था अहिले अमेरिकाबाट धपाइएकाहरूको जस्तो हुने बताउनुभयो ।
हरेक विद्यालयले विद्यार्थीमा देशप्रेमको भावना जगाउनुपर्ने बताउँदै उहाँले अर्काको देश कहिल्यै आफ्नो बन्न नसक्ने विचार व्यक्त गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सृजना सैँजूले नेमकिपाका अग्रज नेता तथा कार्यकर्ताहरूको अथक प्रयासबाट नै आजको भक्तपुर बन्न पुगेको धारणा व्यक्त गर्नुभयो ।
राजनीति गर्नुको अर्थ पद र पैसा प्राप्त गर्ने नभई निःस्वार्थ रूपले देश र जनताको सेवा गर्ने हुनुपर्नेमा जोड दिँदै उहाँले नेपाल कृषिप्रधान देश भएर पनि कृषिमा आत्मनिर्भर हुन नसक्नु शासकहरूको नालायकीपन भएको धारणा राख्नुभयो ।
बुढानीलकण्ठ स्कूल काठमाडौँका प्रिन्सिपल केशर खुलालले नयाँ पुस्ताले आफ्नो कला र संस्कृतिप्रति गर्व गर्नुपर्ने धारणा राख्नुभयो । आफू संसारका विभिन्न सहर घुमेको तर भक्तपुरजस्तो कला र संस्कृतिको केन्द्र कहीँ नदेखेको चर्चा गर्दै उहाँले भक्तपुरका जनताप्रति आभार व्यक्त गर्नुभयो । उहाँले हरेक व्यक्तिमा कुनै न कुनै प्रतिभा हुने भएकाले त्यसलाई बाहिर ल्याउन विद्यालयले सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले सरकार शिक्षा, स्वास्थ्यजस्ता जनताका आधारभूत आवश्यकताबाट पछि हट्दै गरेको अवस्थामा भक्तपुरले देशलाई नयाँबाटो देखाउने काम गरेको र भक्तपुरका शैक्षिक संस्था त्यसकै उदाहरण भएको बताउनुभयो ।
उक्त कार्यक्रममा शिक्षकहरू शङ्कर आचार्य, विशाल राजचल र सृष्टि प्रधानले पनि बोल्नुभएको थियो ।
पहिलो दिनको शैक्षिक मेला विभिन्न स्कूल कलेजका एक हजारभन्दा बढी विद्यार्थी तथा शिक्षकहरूले अवलोकन गरेका थिए । माघ १६ गते बुधबार पनि मेला चल्ने विद्यालयले जनाएको छ ।
उक्त कार्यक्रममा ३७ औँ वार्षिक उत्सवको अवसरमा आयोजित काठमाडौँ उपत्यकाव्यापी (काभ्रेसहित) हस्तलेखन प्रतियोगिताका विजेता विभिन्न विद्यालयका ४० जना विद्यार्थी र उत्कृष्ट हस्तकलाका सामग्री बनाउने ४ जना अभिभावकलाई पुरस्कृत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *