भर्खरै :

सामन्तवादलाई निर्मूल गर

सामन्तवादलाई निर्मूल गर

(नेमकिपाका अध्यक्ष रोहितद्वारा लिखित ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन’ पुस्तकको पहिलो प्रकाशन वि.सं. २०३३ (१ सेप्टेम्बर, १९७६) मा भएको थियो । यो पुस्तक नेपाल मजदुर किसान पार्टीको स्थापनाका आधारभूत तत्वहरूमध्ये एक हो । यो सैद्धान्तिक सङ्घर्षको निचोड हो । नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारको खण्डन नगरी कम्युनिस्ट आन्दोलन अघि बढ्दैन । यो पुस्तक अहिले पनि समय सान्दर्भिक छ । नेमकिपा स्थापना हुनाका सैद्धान्तिक आधार र ठम्याइबारे पुस्तकमा उल्लेख भएकोले पार्टी स्थापना दिवसको अवसरमा यो छापिएको हो । – सं.)

दास प्रथाको अन्त र भू–दास प्रथाको उत्थानले खेती र खानीको विकास भयो । खेती र खानीको विकासले सामन्तवादको विकासमा तीव्रता ल्यायो । दास मालिकहरूको प्रतिगामी विद्रोहहरू र सामन्तहरूको आन्तरिक बेमेलले सामन्ती शासनमा झन्झन् केन्द्रीयकरण वा एकरूपता आउन थाल्यो । जातीय समुदायको नाइके वा मुखियाबाट विकास भएको राजा सामन्तवादसम्म पुग्दा निरङ्कुश राजामा फेरियो । त्यस नयाँ व्यवस्थाले दोहोरो प्रहारलाई खप्नुपर्ने हुन्छ । पुरानो आञ्चलिक र जातीय प्रभुत्व कायमै राख्न खोज्ने प्रतिगामी तत्व र नयाँ व्यवस्थाका उठ्दो प्रगतिशील वर्ग दुवैको च्यापोमा एकतन्त्री शासन पर्न जान्छ । दास मालिक, क्षेत्रीय साना–तिना शासकहरू प्रतिगामी तत्व हुन् भने उदार सामन्त, व्यापारीवर्ग र अरु कामदार जनता प्रगतिशीलवर्गमा पर्न जान्छ । यसरी एकतन्त्री या निरङ्कुश राजतन्त्रले दुवैतिरको प्रहारलाई सहन सक्दैन र त्यो ढल्छ । शासन व्यवस्था समूहतन्त्र वा गणतन्त्रको रूपमा फेरिन्छ । तर, समाज व्यवस्थाको जग उत्पादनको साधन र उत्पादन सम्बन्धमा ठुलो हेरफेर आउन सक्दैनथ्यो । समूहका नेता वा राष्ट्रपति बिस्तारै राजा वा निरङ्कुश बन्न जान्छ । त्यसको पनि पुरानो निरङ्कुशकै दशा हुन्छ । यो क्रम बारम्बार दोहोरिरहन्छ, जबसम्म उत्पादनका साधन र उत्पादनका सम्बन्धहरूमा प्रभावशाली हेरफेर हुन्न । औद्योगिक क्रान्ति नहुँदासम्म सामन्तवादको निरङ्कुशतन्त्र वा शासकको व्यक्तिगत हुकुम चालुमै रहने कुरो इतिहासले बताउँछ । व्यापार, कलकारखाना, यातायात आदिको विकास, छोटोमा पुँजीवादी उत्पादन व्यवस्था र उत्पादन सम्बन्ध बढ्दै जानेछ । पुँजीवादी उत्पादन सम्बन्ध सामन्ती उत्पादन सम्बन्धभन्दा जेलिएको र बढी सामूहिक हुन्छ । त्यसकारण, पुरानो शासन व्यवस्थाले त्यसलाई विकास गर्न वा कज्याउन सक्दैन । त्यसको विकास गर्न र कज्याउन नयाँ व्यवस्थाको आवश्यकता हुन थाल्छ, त्यो हो पहिलेको भन्दा व्यापक र सामूहिक व्यवस्था । यसरी पुरानो सम्पूर्ण व्यवस्था फेरिन जान्छ ।
यसरी उत्पादनका साधन र उत्पादनको सम्बन्धबाट समाजको आवश्यकतामा हेरफेर आए पनि शासन व्यवस्था, ऐन–कानुन आदिमा नयाँ दृष्टिकोणको बीउ मात्रै छरिन्छ, तर मानिसमा रहेको पुरानो संस्कार एकैबाजी हट्न गा¥हो हुन्छ । मानव समाजको कला र संस्कृति उत्पादनका साधन र उत्पादन सम्बन्धले निर्णय गर्छ । तर, उत्पादनका साधन र सम्बन्धमा हेरफेर हुनासाथै पुरानो कला र संस्कृति पनि तुरुन्तै हेरफेर हुँदैन । त्यसको निम्ति सांस्कृतिक क्रान्तिजस्तै अनेक आन्दोलन र समयको आवश्यकता हुँदोरहेछ ।
सामन्ती युगमा बितेको दास युगको संस्कार बाँकी रहन्छ भने सामन्ती र अर्ध–सामन्ती समाजका प्रगतिशील सम्झिएका व्यक्तिहरूमा सामन्ती स्वभाव बाँकी रहनु कुनै आश्चर्यको कुरो होइन । हाम्रो पार्टीभित्र सामन्ती मनोवृत्तिले पनि काम गर्दै छ । सामन्ती मनोवृत्ति भन्नाले दार्शनिकरूपले अभौतिक वा अवास्तविक दर्शनलाई मान्नु, जेठोपना र पारिवारिक अहङ्कार, थिचोमिचो र व्यक्तिगत स्वार्थ आदि हुन् । त्यही मनोवृत्तिले जन्मजात नेता, एकमात्र नेता, खानदानी नेता, उमेरमा ‘ठुलो’ भन्ने अहङ्कार, तल्लो जात, ‘पानी नचल्ने’, ‘भर्खरको केटो’ जस्ता प्रशंसा र होच्याउने शब्दहरू प्रयोग गर्ने गर्छन् । यी मनोवृत्ति सामन्ती संस्कारकै देन हुन् । कुनै एक खास व्यक्तिलाई विना कुनै सेवा, व्यवहार र प्रतिभाको आधारमा परिवार, खानदान र जेठोको नाताले नेताको रूपमा स्वीकार गर्नु राजालाई ईश्वरको अवतार मान्नु जस्तै अन्धविश्वास र सामन्ती संस्कृति हो । समाजलाई बदल्न चाहने हरेक राजनैतिक कार्यकर्ता वा नेताले त्यस्ता सामन्ती मनोवृत्तिलाई फाल्नैपर्छ । आफूमा सामन्ती मनोवृत्तिबाट छुटकारा पाउन नसकेसम्म त्यस कार्यकर्ता वा नेताले सामन्तवादलाई जरैदेखि उखेल्ने काममा बढी योगदान दिन सक्दैन । यसकारण, सामन्तवादको विरोधमा सङ्घर्ष गर्न पार्टीभित्रको सामन्ती प्रवृत्तिको विरोधमा पनि सङ्घर्ष गर्नु आवश्यक छ ।
सामन्त वा राजाले आफ्नो इलाका वा देशको सबै जग्गा जमिन आफ्नो सम्झन्छन् । त्यसको आम्दानी उनले आफ्नो व्यक्तिगत वा परिवारको स्वार्थ, इज्जत, प्रतिष्ठा, भ्रमण, प्रचार र ऐश–आराममा खर्च गर्छन् । राजा आफू र आफ्नो परिवारको स्वार्थलाई पहिलो स्थान दिन्छन् अनि मात्रै देश र जनतालाई स्थान दिन्छन् । राजा र सामन्तवर्गको यही स्वार्थले गर्दा अन्याय–अत्याचार गर्छ । यदि पार्टीमा पनि नेतृत्वमा बसेको व्यक्तिले आफू र आफ्नो गुटको स्वार्थलाई हेर्छ भने त्यो पनि सामन्ती प्रवृत्ति हो, त्यसको विरोध गरिनु पर्छ ।
सामन्तवादी समाजमा ऐन कानुन र सबै बन्दोबस्त राजा, मुखिया र सामन्तको स्वार्थलाई प्रमुखता दिएर उसकै इशारामा बनाएको हुन्छ । त्यसमा जनताको रायको कुनै मूल्य रहँदैन । त्यस ऐन–कानुनलाई लागू गर्ने संस्था, मन्त्रिमण्डल वा सञ्चालक समिति पनि जनताबाट चुनिएको हुँदैन । राजाले आफ्नै सामन्ती गुट र ताबेदारहरूमध्येबाट नै त्यस संस्थाका सदस्यहरूमा राख्छन् र झिक्छन्, थपघट वा प्रमोसन गर्छन् । पार्टीभित्र पनि बिना कुनै निर्देशित सिद्धान्तले यही व्यवस्था लागू गर्छ भने त्यो पनि सामन्ती व्यवस्थाकै नक्कल हो, त्यसको विरोध गरिनु पर्छ ।
सामन्तवादको विरोध गर्नुको अर्थ कुनै खास व्यक्ति विशेषको विरोध होइन, बरु त्यस व्यवस्था र त्यसलाई टेवा दिएर राख्ने वर्गको विरोध हो । सामन्तवादलाई उखेल्नु भन्नुको अर्थ हो, त्यसलाई अडेस दिएर राख्ने माटोभित्रका जराहरूलाई पनि उखेल्नु । ती सब नउखेलुञ्जेल सामन्तवाद मर्दैन । पात टिपेर फाल्दैमा सामन्तवादी रुख ढल्दैन । सामन्त, जमिनदार, गुरु–पुरोहित, महन्त, ठुला बडा जङ्गी र निजामती कर्मचारी वर्ग सामन्तवादका मूल जरा हुन् । तिनीहरूबाट सहुलियत प्राप्त व्यापारी, उद्योगपति र बुद्धिजीवीहरू सामन्तवादका सहायक जरा हुन् । विदेशी सामान देशभित्र बेच्न पाउने विदेशी पुँजीपतिवर्ग र त्यसका पिछलग्गूहरू, असमान सन्धिबाट फाइदा उठाउने विदेशी शासक र शोषकवर्ग सामन्तवादका टेवा हुन् । तिनीहरूको विरोध गर्नु नै सामन्तवादको विरोध गर्नु हो । सामन्तवादलाई उखेल्नु नै तिनीहरूमाथि ठुलो प्रहार गर्नु हो । त्यसकारण, पार्टीभित्र घुसेका सामन्ती तत्व र त्यसका प्रभावहरूको विरोधमा सङ्घर्ष गर्नु नै सामन्तवादको विरोध गर्नु हो र त्यसको विरोध गरिनु पर्छ । यसकारण, हामी भन्छौँ – सामन्तवादको विरोध गर्न पार्टीभित्रको सामन्ती प्रवृत्तिको विरोध गर ! सामन्त र जमिनदारवर्गसँग लड्न पहिले सैद्धान्तिक हातहतियारलाई तिखार !

Leave a Reply

Your email address will not be published. Required fields are marked *