भर्खरै :

समाजवादको विषय झन् सान्दर्भिक

हरेक राजनीतिक पार्टीको आ–आफ्नै वर्ग आधार र राजनीतिक दर्शन हुन्छ भन्ने कुरामा दुईमत छैन । नेमकिपाको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद तथा माओ त्सेतुङ विचारधारा रहेको छ । यही सिद्धान्तको आधारमा कम्युनिस्ट पार्टीले राजनीति गरिरहेको हुन्छ । कम्युनिस्टहरू समाजवादी गणतन्त्र स्थापना गर्न लागिरहेका हुन्छन् । कम्युनिस्ट पार्टीको उद्देश्य देशमा आमूल परिवर्तन गर्नु हो । आमूल परिवर्तन गर्न व्यापक जनतालाई सचेत र सङ्गठित गर्न कम्युनिस्टको सिद्धान्त र विचार जनतामाझ पु¥याउनुपर्छ । विदेशमा भएका कम्युनिस्ट आन्दोलन, गतिविधिबारे जनतालाई सुसूचित पार्नुपर्छ । उनीहरूको जीवनीबारे अवगत गराउनुपर्ने हुन्छ । सचेत र सङ्गठित जनशक्तिबिना परिवर्तन सम्भव छैन । यसरी जनतालाई सचेत पार्ने उद्देश्यले नेमकिपाले विभिन्न साहित्यिक, राजनीतिक, समय सान्दर्भिक, विचार र दर्शनसम्बन्धी पुस्तक प्रकाशन गरिरहेको छ । त्यसमध्ये समाजवाद र सान्दर्भिक विषयवस्तु’ पुस्तक पनि एक हो ।
कुनै ठुलो वा सानो पार्टीको हैकम, थिचोमिचो वा धम्कीको अगाडि झुक्ने र झुकाउने खालको सम्बन्ध दास व्यवस्था र सामन्ती समाजकै संस्कार हो । आज देशमा आफूलाई ठुला भनिने सत्ताधारी कम्युनिस्ट पार्टीका नेताहरूमा पनि विदेशी शक्तिहरूसामु झुक्ने, दबाबमा बस्ने गरेको देखिन्छ । साना दललाई हेप्ने, पेल्ने र अनेक झूटा कुरा फलाकेर दबाउने प्रयास पनि ठुला दलका नेताहरूले नगरेका होइनन् । शक्तिको अगाडि झुक्ने प्रवृत्ति एक हिसाबले सामन्ती आत्मसमर्पणवाद हो । यो झुक्ने र झुकाउन खोज्ने प्रवृत्ति साम्राज्यवादी प्रवृत्ति हो । यो कम्युनिस्ट पार्टीभित्र देखिएको गलत प्रवृत्ति र कार्यले गर्दा देशमा कम्युनिस्ट पार्टीको बदनाम भएको हो । तर, कुनै दलको कमजोरीका कारण हुने कमी कमजोरी अरु दलमाथि थोपर्न हुँदैन । यसमा देशका लेखक, राजनीतिक विश्लेषक र बुद्धिजीवीहरूले ध्यान पु¥याउनुपर्छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक सरकार पुँजीवादी सरकार हो । यो सरकारले व्यापक जनताको प्रतिनिधित्व नगरेको हुँदा र असल कामभन्दा बढी खराब काम हुन थालेकोले पुँजीवादी सरकारप्रति जनताको विश्वास गुम्दै गएको हो । समाजवादी विचार कामदार जनताप्रति सद्भावना र प्रतिबद्धता भएका बुद्धिजीवीहरूकै उपज हो । समाजवादी व्यवस्थाप्रति प्रतिबद्धता नभएका पार्टी, नेता र सांसदहरूले बहुमत जनताको हितमा काम गर्लान्; ऐन कानुन बनाउलान् भन्ने आशा गर्न सकिँदैन । देश र जनताप्रति प्रतिज्ञा गरेका वचन छोडेर व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिने, पद र पैसाबिना काम नगर्ने कुनै पनि दलका नेताहरूबाट सही काम होला भन्ने आशा गर्न सकिन्न !
कति पुँजीवादी दलहरू पुँजीवादी व्यवस्थामा मात्र प्रजातान्त्रिक अधिकार हुने बताउँछन् । समाजवादी देशहरूमा प्रजातन्त्र नहुने उनीहरूको दाबी हो । तर, त्यो यथार्थ होइन । कम्युनिस्ट भनिने देशहरूमा पनि विभिन्न दलहरू हुन्छन्; विभिन्न दलहरूले कम्युनिस्ट पार्टीको सरकारलाई सघाइरहेका हुन्छन् । संसदीय व्यवस्थाका देशहरूमा पनि हरेक राजनीतिक दलले प्रतिनिधित्व गरिरहेको हुन्छ । अहिलेको नेपालको सरकारमा पनि पुँजीवादी पार्टीहरूकै प्रतिनिधित्व छ । पुँजीपतिहरू सशस्त्र क्रान्तिको सम्भावना बिस्तारै घट्दै गइरहेको कुरा खोक्छन् । उनीहरू माक्र्सवादको सशस्त्र क्रान्तिलाई पुरानो सिद्धान्त ठानी काम नलाग्ने बताउँछन् । माक्र्सवाद–लेनिनवादलाई पथप्रदर्शक मान्ने दलका नेताहरू नै माक्र्सवादविरोधी बाटो लिन्छन् । उनीहरू अहिले वर्गसङ्घर्ष होइन वर्गसमन्वयको बाटो खोज्छन् । जबकि त्यो विचार, चिन्तन र दृष्टिकोण सामन्ती प्रवृत्तिको छ ।
आमूल परिवर्तनको निम्ति सङ्घर्ष नगरी हुँदैन । सरकारको नेतृत्व फेर्नु नै आमूल परिवर्तन होइन† मुख्य कुरा व्यवस्थै बदल्नु हो । नेपालमा सरकारको नेतृत्व जतिपटक फेरे पनि जनताले परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । किनभने, यहाँ कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारअनुसार काम भइरहेको छैन । अन्तर्राष्ट्रिय आन्दोलनमा समाजवादलाई अगाडि बढाउनुपर्छ भन्ने विचार फैलिरहेको समयमा नेपालका सत्ता प्यारा कम्युनिस्टहरू पद र पैसामा डुबेका छन्† सत्तामुखी राजनीतिमा लागेका छन् ।
सत्ता प्यारा नेपालका कम्युनिस्टहरू माक्र्सको अवधारणा नै हेरफेर गर्ने काममा लागे । पुँजीवादी राज्य व्यवस्थालाई फाल्नु हुन्न भन्ने उनीहरूको मत हो । सबैसँग सबै मिलेर अघि बढ्नु नै प्रजातान्त्रिक मूल्य र मान्यता हो भन्छन् उनीहरू । खान नपाएका साधारण नागरिक र अर्बपति व्यक्तिको जीवनी आखिर जीवन नै हो भनेर कसरी तुलना गर्न मिल्छ ? समाजमा वर्ग रहेसम्म वर्गसङ्घर्ष भइरहन्छ । वर्गसङ्घर्षले नै समाजमा आमूल परिवर्तन ल्याउँछ । अतः नेपाली जनताले कम्युनिस्ट पार्टी मात्र भनेर आँखा चिम्लेर समर्थन र विरोध गर्ने होइन । कम्युनिस्ट भनिएका कम्युनिस्टहरूको विचार सही या गलत छुट्याउनुपर्छ† सही विचार अँगालेर गलत विचार छोड्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *