भर्खरै :

जुगेडीको बाटो क्रान्तिको बाटो

जुगेडीको बाटो क्रान्तिको बाटो

चितवन जिल्लाको पहाडी भेगमा हरेक वर्ष अनिकाल लाग्छ । तर, पञ्चायती सरकारले पहाडी भेगमा भोकमरीको समाधानबारे कहिले ध्यान दिएन । सरकार र स्थानीय जाली–फटाहा, साहु र शोषकहरू जनताको पिरमर्काबाट फाइदा उठाउने मौका पर्खिरहन्थे । हरेक साल अनिकाल लाग्दा ६ पाथी कोदोको एक मुरी तोरी र ३–४ पाथी मकैको एउटा बाख्रा लिने गर्थे । जनताको सङ्कटमा शोषकहरू रमाउँथे । यसपालि असिनाले मकै र काउनुलाई सखाप पारिदियो । अनिकाल लाग्यो । मौका छोपी जुगेडी बजारको धर्मे र घोडे साहुले अनिकाल परेका जनताको सुन–चाँदी, भाँडाकुँडा, खसी बोका सबै हात पारे । यस्तै मौका छोपी सरकारले कर उठाउन र ऋण असुल गर्न कर्मचारीहरू खटायो र जनताको घाउमा नुन–चुक थपिदियो । वनमा गीठा र भ्याकुर पनि सकियो । कबिलास, चण्डी भञ्ज्याङ, डारेचोक, गढी, काउले र कोराक गरी जम्मा ६ पञ्चायतका २० हजार जनता मर्नु न बाँच्नुको अवस्थामा पुगे । तिनीहरूको अगाडि दुइटा बाटा थिए, भोकभोकै मर्नु अथवा सङ्घर्ष गरेर इज्जतपूर्वक जीउनु । सामन्ती व्यवस्थाबाट पीडित जनताको माझमा पार्टी पुग्यो । जनताको सङ्गठन र सङ्घर्ष नै शोषणबाट मुक्ति पाउने उपाय थियो । यसकारण, जनताले सङ्घर्षको बाटो रोजे । जनताले २–४ वर्षअगाडि नै सरकारसँग आस मारिसकेका थिए । यस सालको महारानी र सरकारले खुवाएको एक–दुई छाकको ‘सहायता’ र दान त जनतालाई होच्याउने र छकाउने काम हो भनेर बुझिसकेका थिए । यसकारण, कैयौँ वर्षदेखि सामन्ती व्यवस्थाबाट थिचिएका र पिसिएका चेपाङ, गुरुङ, मगर, तामाङ, कामी, दमाई र अरु विभिन्न जातिका जनताले पञ्चायती व्यवस्थालाई घृणा गर्न थालेका थिए ।
यसकारण, पार्टीको निर्देशनमा जिल्ला क्रान्तिकारी किसान समितिले शोषणको विरोधमा सङ्घर्षको झन्डालाई उचाल्यो । ६ असार २०३४ सालको दिन जिल्लाका सबै भोका – नाङ्गा जनता जुगेडी बजारमा जम्मा भए र वर्षौंदेखि आफूलाई चुस्ने र ठग्ने गरेको धर्मे र घोडे साहुसँग हिसाब–किताब मागे । जनताको रगत र पसिना चुसेर थुपारेको भकारीलाई फोरे र भोका जनतालाई अन्न बाँडे । जनताकै मेहनतबाट थुपारेको कपडा नाङ्गो जनतालाई बाँडे । जनविरोधी चुसाहाहरूलाई पशुलाई जस्तै बाँधेर लडाए । अन्याय गरी थुपारेको सम्पत्तिलाई जफत गरे । क्रान्तिकारी जनताको त्यो न्यायोचित कार्य देखेर सारा जनता खुसी भए ।
भोका–नाङ्गा जनताको एक दल जुगेडी बजारभन्दा ३ माइलमाथि डाखानी डाँडामा भाग नपाउने जनतालाई अन्न र लुगा बाँडिरहेका थिए । त्यसैबेला रानामगर चौकीले पुलिस दल आएर सोधपुछ नै नगरी टाढैबाट भोका जनतामाथि गोली हान्न थाल्यो । ६ पल्ट हानेको गोलीबाट एक किसान कार्यकर्ता सन्तबहादुर चेपाङसहित २ जना कार्यकर्ता सहिद भए । पुलिसले जनताको कमाइ अन्न र लुगाको ठुलो भाग लुटेर लग्यो ।
एक महिनादेखि त्यस इलाकामा पुलिस आतङ्क चल्दैछ । पुलिसहरू घरघरमा घुसी रूपैयाँ, कुखुरा, खसी बोका लुट्छन् र जनतामाथि हातपात गरी पक्राउ गर्दै छन् । पुलिसको अत्याचारले जनतामा झन् रिस बढेको छ । भोका जनताले भन्न थाले, “बन्दुकको बदला बन्दुकले लिनुपर्छ ।” एउटै घटनाबाट भोका नाङ्गा र थिचिएका जनताले राजनीतिको मुख्य सार भेट्टाउन सफल भए । वर्षाैँसम्मको फलाका र ‘कार्यक्रमहरू’ त्यसको अगाडि धमिलो साबित भयो । कार्ल माक्र्सले १०० वर्ष अगाडि नै भन्नुभएको थियो, “वास्तविक आन्दोलनको हरेक पाइला दर्जनौँ कार्यक्रमभन्दा महत्वपूर्ण छ ।” देशका सबै क्रान्तिकारी जनताले चितवनको जनताको सङ्घर्षलाई समर्थन गरे, “जुगेडीको बाटो क्रान्तिकारी बाटो हो । जुगेडीको बाटो जनताको बाटो हो ।”

साभार : जुलाई १९७७ ‘किसान सङ्घर्ष’ बुलेटिन ३ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *