भर्खरै :

उफ ! बोतल र चक्की भिटामिनको भ्रम

उफ ! बोतल र चक्की भिटामिनको भ्रम

आधुनिक चिकित्सा विज्ञानका पिता हिपोक्य्राटसले भनेका थिए, “भोजन नै औषधि हो ।”
विभिन्न विज्ञापनको भरमा औषधि किनेर खाने प्रचलन र घरको खानेकुराले मात्रै हाम्रो शरीर कमजोर हुन्छ भन्ने गलत मानसिकताका कारण मानिसहरू सिसी र चक्की भिटामिन किनेर खान्छन् ।
हाम्रा करेसाबारीमा फलेका हरिया तरकारी, बजारमा पाइने मौसमअनुसारका फलफूललाई बेवास्ता गरेर धेरैजसो स्वास्थ्य राम्रो पार्नका लागि बजारका ‘टनिक’ खान्छौँ ।
“डाक्टरसाहेब, मलाई कमजोरी भइरहेछ, कुनै भिटामिन वा टनिक लेखिदिनुस् न ।” अस्पताल, हेल्थपोस्ट र क्लिनिकमा काम गर्ने डाक्टर वा स्वास्थ्य कार्यकर्ताले प्रायः यस्तो सुनेकै हुनुपर्छ । परिवारका बालबालिका वा बिरामीबाट भर्खर तङ्ग्रिन लागेका व्यक्तिलाई हतारमा टनिक खुवाउने प्रचलन अहिले गाउँ सहर सबै ठाउँमा बढ्दो छ ।
बेलायत र अमेरिकाका क्रमशः वारविक विश्वविद्यालय र जन हपकिन्स विश्वविद्यालयका वैज्ञानिकहरूले भनेका छन्, “भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादीमात्र हो र यसले स्वास्थ्यमा केही पनि फाइदा गर्दैन ।” करिब चार लाख ५० हजार मानिसमा गरिएको यो अध्ययनबाट पत्ता लागेको अध्ययनमा वैज्ञानिक र पोषण विशेषज्ञले भनेका छन्, “भिटामिनका गोली र झोलहरू किनेर खाने मानिसहरू विभिन्न औषधि कम्पनीको विज्ञापनमा भर पर्छन् । यस्ता कम्पनीको विज्ञापन गरेर हाम्रो घरको खानेकुराले मात्रै हामीलाई शुद्ध पोषणतत्व पुग्दैन भन्ने कुरा भन्छन् । यो गलत तथ्य हो ।”
जन हपकिन्स विश्वविद्यालयका प्राध्यापक एडगर मिलर भन्छन्, “औषधि कम्पनीले बूढो हुँदै जाँदा विभिन्न रोगबाट बच्न पनि भिटामिनको प्रयोग गर्नुपर्छ भनेर बारम्बारभन्दा मानिसहरूले विश्वास गर्छन् । त्यसैले, अब यस्ता भिटामिनजन्य औषधिहरू आवश्यक छैन भन्नै पर्छ ।”
भिटामिन, क्याल्सियम आदि बनाउने कम्पनीका मालिकका परिवारले पक्कै पनि यस्ता भिटामिनका झोल खाँदैनन् । किनभने, उनीहरूलाई पनि थाहा हुन्छ कि यसको त्यति धेरै आवश्यकता छैन भन्ने कुरा । तर, अन्य मानिसलाई बेच्दा उनीहरूको अर्थतन्त्र बढ्छ । त्यति मात्र होइन, तुलनात्मक हिसाबले सबैभन्दा धेरै कमिसन पनि यस्तै भिटामिनहरूमा दिने गरिन्छ । नेपालमा जुनसुकै औषधि पसलमा जाँदा राम्रोसँग सजाइएको विभिन्न किसिमका भिटामिनका सीसी देखिन्छन् । त्यसैगरी, भोक बढाउने, खाना पचाउने अनेक किसिमका औषधि सजाइएका हुन्छन् जुन आवश्यक नभए पनि हामी किनिरहेका हुन्छौँ ।
तर, भिटामिनले भरिपूर्ण भएको पौष्टिक खाना ज्वानोको झोल, तरुल, आलु, पालुङ्गो भने पर्याप्त खानैपर्छ ।
आइरन चक्की र भिटामिन ‘बी’ का चक्कीको सट्टा दाल, भात, गुन्द्रुक, मकै, चनाबाटै त्यो प्राप्त गर्न सकिन्छ । ‘भोजन नै औषधि हो’ भन्ने सिद्धान्त कार्यान्वयन गर्न सके थप भिटामिनको आवश्यकतै पर्दैन । क्याल्सियम ज्वानो र दहीबाट प्राप्त गर्न सकिन्छ । ज्वानो सस्तो तथा भिटामिनले भरिपूर्ण भएको वस्तु हो । एक चिया चम्चा ज्वानोमा ७६ मिलिग्राम क्याल्सियम पाइन्छ । ज्वानोमा रहेको यही विशेषताले गर्दा सुत्केरी महिलालाई ज्वानोको झोल ख्वाउने चलन रहिआएको हो । ज्वानोको प्रयोगले कुपोषणको सिकार भएका बालबालिका, लामो बिमारीपछि उठेका बालबालिका, वृद्धाहरू, गर्भवती महिला सबैलाई फाइदा पु¥याउँछ ।
तर, अहिले ज्वानोको नाममा नाक खुम्च्याइन्छ । तर, महँगा क्याल्सियमका चक्की भने मजासँग खुवाइन्छ ।
भिटामिन मानव शरीरका लागि नभई नहुने तत्व हो । भिटामिन दिनदिनै खाने भोजनबाट नै प्राप्त हुन्छ र यसको बढी प्रयोग गरेर ज्यादा फाइदा हुँदैन भन्ने कमैलाई थाहा हुन्छ । हेर्दा आकर्षक देखिने तर महँगा र अनावश्यक झोलले त्यसको पूर्ति हुन सक्दैन भन्ने तथ्यतर्फ कमैको ध्यान जान्छ । गर्भवती र सुत्केरी आमालाई सबै पौष्टिक तत्व एवं भिटामिन बढी चाहिन्छ । तर, ती आवश्यक तत्वहरू प्राकृतिक भोजनमै हुन्छन् । तर, आमाहरू बच्चालाई भिटामिन झोल र टनिक दिएर सन्तुष्ट हुन्छन् । बच्चालाई पोषण दिइरहेको ठान्छन् तर कमैलाई थाहा छ, भान्छामा भएको भोजन नै सबभन्दा उपयुक्त हुन्छ ।
पाचन रस प्राप्त गर्न टाढा जानै पर्दैन । मेवामा रहेका पर्याप्त तत्वहरू नै खानेकुरा पचाउन पर्याप्त छन् ।
प्रायः मानिस घरमा फलेको मेवा खान छाडेर औषधि पसलमा गएर पचाउने औषधि, विभिन्न भिटामिनका झोल, शक्ति दिने झोल, सुत्केरी महिलालाई दूध बढाउने झोल, बालबालिकालाई भोक लगाउने झोलका बट्टा किनेको पाइन्छ । ‘नजिकको तीर्थ हेला’ भनेझँै आफूसँग भएको उपयोगी फलफूलको बेवास्ता गरेर त्यसको सट्टामा महँगा झोलहरू किन किन्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *