भर्खरै :

नयाँ कुरा त मैले केही भनेकी छैन

नयाँ कुरा त मैले केही भनेकी छैन

समय–समयमा सेमिनार र गोष्ठीमा भारत, अमेरिका आदि देशमा भाग लिएपछि (पोषण र स्वास्थ्यसम्बन्धी) मैले के अनुभव गरेकी छु भने पुर्खाहरूको कतिपय ज्ञानलाई आधुनिक विज्ञानको कसौटीमा राखेर हेर्दा तिनले स्वास्थ्यमा राम्रो प्रभाव पार्ने देखिन्छ ।
बालबालिकाको शरीरलाई वयस्कको शरीरभन्दा अनुपातिकरूपमा बढी ऊर्जा, बढी प्रोटिन र बढी सूक्ष्म पोषण तत्व चाहिन्छ ।
बालबालिकाका शरीरका अङ्ग प्रत्यङ्ग छिटो–छिटो बढिरहेका हुन्छन् । उनीहरू चल्छन्, उफ्रिन्छन्, खेल्छन्, कराउँछन् । त्यसैले ऊर्जा पनि बढी चाहिन्छ । यस्तो बेलामा उनीहरूको शरीरलाई चाहिने गरी भोजन पुगेन भने छाला कमजोर भएर कुपोषित हुन्छ ।
झन् किशोरीलाई पौष्टिक खानाको कमी भयो भने विवाह गरेर गर्भा रहँदा भ्रुणलाई रगतको कमी हुने, हड्डी राम्रोसँग विकसित नहुने, महिनावारी समयमा नहुने हुनसक्छ । यसले गर्दा उनको प्रजनन स्वास्थ्यमै समस्या पर्छ । अनि उनीहरूले नयाँ कुरा सिक्न सक्दैनन् । त्यसपछि विकासको बाटो नै अवरुद्ध हुन्छ ।
४० वर्ष र ६० नाघिसकेका महिलाहरूको केही साताअघि रगतको जाँच गरायौँ । यसमा अधिकांश मासु नखाने महिलाहरू थिए । मासु खानेहरू पनि सातामा एकपटक मात्र खाने थिए । हामीले शरीरमा कति रगत, क्याल्सियम र भिटामिन ‘बी १२’ छ भनेर जाँच गराएका थियौँ । एक स्त्रीरोग विशेषज्ञ साथीले ‘४० वर्ष कटेपछि क्याल्सियम चक्की खानैपर्छ’ भनेकी थिइन् । माछा, मासु, अण्डा नखानेहरूको क्याल्सियम, भिटामिन ‘बी १२’ को मात्रा धेरै राम्रो थियो ।
त्यस्तै, रगतको जाँचमा रहेको हेमोग्लोबिनमा पनि कुनै समस्या थिएन । यीमध्ये कसैले आइरन चक्की, क्याल्सियम र भिटामिन कुनै पनि झोल वा क्याप्सुल खाँदैनन् । तर, स्वस्थकर खाना खान्छन् । पत्रु खाना र मिठाइ त प्रसादका रूपमा कहिलेकाहीँ मात्रै खान्छन् । यिनीहरू दिनहुँ योग गर्छन् ।
हाल नेपालमा ४० वर्षभन्दा माथिकाले क्याल्सियम, भिटामिन ‘डी’ को चक्की र रगत बढाउन केही औषधि खानैपर्छ भन्ने मान्यता चिकित्सा जगत्मा स्थापित हुँदै गएको छ ।
तर, स्वस्थकर खाना खाइयो भने त्यसले नै शरीरको सबै आवश्यकता पूर्ति गर्छ भन्ने अर्को एक विचार पनि चिकित्सा जगत्मा स्थापित छ । म दोस्रो विचारको पक्षपाती हुँ र सोहीअनुरूप जीवन चलाउने प्रयास गरिरहेकी छु । स्वस्थ खाना खाने हो भने औषधिको आवश्यकता पर्दैन । खाना स्वस्थ छैन भने जति औषधि खाए पनि केही फाइदा हुँदैन ।
तर, पछिल्लो समय औषधि कम्पनीहरूको यति ठुलो बजार छ कि उनीहरूले जीवनका साधारण कुरालाई पनि रोग हो र ‘औषधि खानुपर्छ’ भन्ने मान्यतालाई बढावा दिइरहेका छन् । प्रायः हामीहरू त्यसको सिकार पनि हुन्छौँ । उदाहरणका लागि गर्भवती हुँदा महिलाको शरीरमा रगतको कमी हुनसक्छ र यसले भ्रुणलाई पनि प्रभावित पार्छ । तर, गर्भावस्थामा महिलाले चना, भटमास, कोदो, फापर, मकै, हरियो तरकारी, कर्कलो वा कर्कलोबाट बनेका मस्यौरा, आलु, करिपत्ता, निउरो, साग, दूध, मोही आदिको सेवन गर्ने हो भने शरीरमा प्रोटिन र भिटामिनको कमी हुन पाउँदैन ।
म गर्भवती हुँदा क्याल्सियम आदि खाने जरुरत नै भएन ।
जेरी–स्वारी खान पाउँदा धेरै खुसी हुन्थेँ । यसरी जेरी–स्वारी पकाइने तेल बारम्बार तताउँदा त्यसले विषालु तत्व पैदा गर्छ र मुटुमा नराम्रो प्रभाव पर्छ भन्ने कुरा थाहा पाएपछि मैले यसरी बजारका खाना खान छोडिदिएँ । घरमा पकाएका सेल, पुरी, अर्चा, मालपुवा मीठो मानेर कहिलेकाहीँ खान्छु ।
‘यसरी बजारको खाने कुरा नखाएर त सम्भव नै हुँदैन । खाजा खाँदा चाउचाउ, जेरी, स्वारीबाहेक अरु केही हुँदैन’ परिचितहरूले भन्ने गर्छन् । त्यसमध्ये त कतिजना पत्रकार पनि छन् । ‘तपाईँले लेखेको पढेर पनि के गर्नु, पत्रु खाना खान करै लाग्छ । घरबाट बनाउन भ्याइँदैन’ उनीहरूको भनाइ हुन्छ । उनीहरूलाई म भन्ने गर्छु, पत्रु खाना नखाएर पनि स्वस्थकर खाजा खान सकिन्छ ।
चना, चिउरा, उसिनेको आलु त प्रायः सबै खाजा घरमा भइहाल्छ । यस्तो खाजा छोडेर पत्रु खाना खाएपछि त पछि तपाईँको स्वास्थ्य बिस्तारै कमजोर हुन्छ । दौडधूप गर्न नसकेपछि तपाईँको काममा नै प्रभाव पर्दैन र ? त्यो बेलामा बिरामी भएर बस्न तपाईँसँग फुर्सद हुन्छ ? मैले यसरी कडा शब्दमा भनेपछि कतिपय महिला पत्रकारले पत्रु खाना खान छाडेको जानकारी दिएका छन् । कतिपयले घरमै खाना खाएर जाने र केही खाजा बोकेर काममा जाने गरेका छन् । उनीहरू चना उसिनेर वा भुटेर चिउरासँग खान्छन् । त्यसपछि उनीहरूको पेट टम्म भरिँदा मलाई धेरै खुसी लाग्छ ।
कतिजनाले मैले भोजन र पोषणका बारेमा बोलेको र लेखेको सुनेर ‘तपाईँ पोषणविद् हो ?’ भन्छन्, कहिलेकाहीँ त ‘पोषणविद्’ भन्ने पगरी लगाई दिन्छन् । मैले स्पष्ट शब्दमा भन्ने गरेकी छु । “म त्यति नै पोषणविद् हो, जति मेरी निरक्षर हजुरआमा । मैले पोषणका बारेमा साना–साना तालिम मात्र लिएकी छु । फेरि मैले यस्तो ठुलो वैज्ञानिक कुरा कहाँ गर्छु र ? घरको दाल, भात, रोटी, चना, दूध, दही, मोही, मह, कागती आदि स्वस्थकर स्थानीय खानेकुराको प्रयोग गर्नुपर्छ । हाम्रो भोजन नै हाम्रो औषधि हो । नयाँ कुरा त मैले केही भनेकी छैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *