विश्वव्यापीकरणले ल्याउने अकाल
- कार्तिक १८, २०८२

अमेरिकामा औपनिवेशीकरण सुरु भयो । अमेरिकी भूभाग हडप्न थालियो र कब्जा गरिएका तिनै भूभागलाई संयुक्त राज्य (संरा) भनियो । त्यसपछि अमेरिका भनेको प्रचुर सम्पदा र अवसर भएको देश हो भनी प्रचार गर्न थालियो । छिट्टै धनी बन्ने सपना सङ्गालेर लाखौँ मानिसहरू अमेरिका बसाइ सरे । अलि पछि अमेरिका विश्वको प्रभुत्वशाली महाशक्ति बन्यो । तर, अमेरिका महाशक्तिको रूपमा उदाएको र बलियो बनेको सय वर्ष मात्र भयो । दुई विश्वयुद्ध र सन् १९२९ को आर्थिक मन्दीको पृष्ठभूमिमा अमेरिका महाशक्तिको रूपमा उदाएको थियो ।
अमेरिकासँग विशाल सैन्य तथा आर्थिक शक्ति छ । ऊसँग शक्तिशाली संस्कृति उद्योग पनि छ । आफ्नो मुद्रालाई विश्वको मुद्रा बनाएर उसले आफूलाई फासिवादको विकल्पको रूपमा उभ्यायो । २० औँ शताब्दीभरि समाजवादी विकल्पविरुद्ध विश्वको प्रभुत्वशाली शक्ति बन्न उसले हानथाप गरिरह्यो । केही समयका लागि उसले आफूलाई एकध्रुवीय विश्वको नाइके पनि मान्यो ।
सुरुमा अमेरिकालाई आफूलाई एक राष्ट्रको रूपमा उभ्याउन खोज्यो भने पछि एक प्रभुत्वशाली शक्ति बन्ने प्रक्रियामा गयो । यी दुवै प्रक्रियामा उसले आफूलाई आधुनिकताका अधिकांश आदर्श एवम् मूल्यमान्यता स्वीकारेको दाबी गरिरह्यो । यसैलाई उसले प्रजातन्त्र, प्रगति, सभ्यता, मानवअधिकार, वाक स्वतन्त्रता भन्यो । अन्तरिक्षको होडमा होस् वा खेलकुदमा संरा अमेरिका सधै अग्रपंक्तिमा रह्यो । आफूलाई ‘स्वतन्त्रताको देश’ भन्ने अमेरिकाले विश्वको सुरक्षा गरिरहेको ‘जनमत’ पनि तयार ग¥यो । यसको लागि उसले आफ्नै संस्थागत आधार पनि निर्माण ग¥यो । आर्थिक शक्ति, प्राविधिक एवम् सैन्य क्षमता तथा संस्कृति उद्योग अमेरिकी सुरक्षाका आधारस्तम्भ थिए ।
वास्तवमा देशभित्र र बाहिर दुवैतिर अमेरिकी शक्तिको निर्माण गर्न धेरै कुकर्म गरिएको थियो । रैथाने जनताको नरसंहार, दासप्रथा, आन्तरिक राजनीतिमा विमति राख्नेहरूमाथिको दमन, सीमापार क्षेत्रमा औपनिवेशीकरण तथा आक्रमण, सत्ताविद्रोहका लागि वित्तीयलगायत सहयोग, द्वन्द्वको गिजोलाइ एवम् अन्य असङ्ख्य अपराध र बर्बरताको सहारा लिइएको थियो ।
स्वतन्त्रता, प्रजातन्त्र र मानवअधिकारको नाममा संरा अमेरिकाले क्षेत्रीय द्वन्द्व तथा सत्ताविद्रोहहरू गराएको थियो । ती द्वन्द्व र सत्ताविद्रोह खासमा साम्राज्यवादी र औपनिवेशिक युद्ध थिए । भियतनाममाथि साङ्घातिक नापाम बम खसाल्ने वा आतङ्कवादविरुद्ध लड्ने निहुँमा इराकलाई धुलोपिठो पार्ने संरा अमेरिकी विस्तारवादको अनुहार दुनियाँले कहिल्यै बिर्सनुहुँदैन । यो साम्राज्य अजेय छैन भनी पनि याद गर्नैपर्छ । साम्राज्यवाद तथा उपनिवेशवादविरुद्ध ‘बे अफ पिग्स’ मा क्युबाली जनताले अमेरिकी सेनालाई परास्त गरेबाट यो कुरा पुष्टि हुन्छ ।![]()
संरा अमेरिकामा ट्रम्प र उनका आसेपासेहरू सत्तासीन हुनु यो युगको र अमेरिकी प्रभुत्वको पटाक्षेप भएको सङ्केत हो । तिनीहरूले आफूलाई टिकाइराखेका मूल्यमान्यता र बहसबाट अलग्याउँदै छन् । यसबाट तिनको वास्तविक सक्कली रूप छर्लङ्ग भएको छ । पुँजीवादलाई व्यवस्थापन गर्ने तिनको नवफासिवादी शैली उदाङ्गिइसकेको छ । कुनैबेला लाखौँ विदेशीहरू त्यो ‘प्रचुर सम्पदा र अवसरको देश’ मा बसाइ सरेका थिए । अहिले त्यही अमेरिका ‘निषेधित देश’ बनेको छ । सीमामा पर्खाल लाग्दै छ भने खुला आवागमनमा सैन्य प्रतिबन्ध छ । कुनै बेला आफूलाई मानवअधिकारको पहरेदार भन्ने अमेरिका अहिले जथाभावी र खुल्लमखुल्ला छापा मार्ने देश बनेको छ । पराइ जनतालाई सिकार गर्ने र तिनलाई देशनिकाला गरेको हाकाहाकी प्रचार गर्ने देश बनेको छ अमेरिका ।
तथाकथित स्वतन्त्रताको देश अहिले हत्कडी र नेलको देश बनेको छ । केही दशकअघि समेत आफूलाई विभेदविरोधी अभियन्ता दाबी गर्ने अमेरिका, अफ्रिकी मूलका व्यक्तिलाई राष्ट्रपति बनाएकोमा आफ्नो नवउदारवादी बहुसंस्कृतिमाथि घमण्ड गर्ने अमेरिका अहिले हाकाहाकी जातिवाद र जातीय घृणालाई मलजल गर्दै छ । विश्वभरिका मानिसलाई लोभ्याउने अमेरिकी संस्कृति उद्योगले दिनदहाडै रुढीवादी र अवैज्ञानिक कुरा देखाउनमा तल्लीन छ । अमेरिकी संस्कृति उद्योगले हाकाहाकी जलवायु परिवर्तन, खोप र लैंगिक विविधतालाई अस्वीकार गर्दै छ । विश्व अहिले बहुध्रुवीय बन्दै छ । यो थाहा पाएर अमेरिकाले आफ्ना पूर्व साझेदार देशलाई आफ्ना प्रतिद्वन्द्वीविरुद्ध जाइलाग्न दबाब दिँदै छ । उसले ‘आफ्नो प्रभाव क्षेत्र’ मान्ने ल्याटिन अमेरिकालाई आफ्नो हैकम लादेर तह लगाउन खोज्दै छ । ऊ चीन र रुससँगको ल्याटिन अमेरिकाको सामिप्यलाई घटाउन उद्यत छ । तर, समय ढल्किसकेको छ । एसियाका यी महाकाय शक्ति विश्वका सबै कुनाकाप्चा पुगिसकेका छन् ।
आफ्नो वर्चस्व अक्करमा पर्दै गर्दा अमेरिकी साम्राज्यले आफ्नो सक्कली रूप देखाइरहेको स्थिति छ । शासकहरू शिष्ट हुनै सक्दैनन् । आतङ्क र सन्त्रासको माहोल बनाएर उनीहरू आफ्नो आयु थप्ने कसरतमा छन् । अमेरिकाका मुठ्ठीभर शासक झुन्ड अन्य देशलाई आफ्नो बाटोमा हिँडाउन खोज्दै छन् । जस्तो, धनकुबेर इलन मस्कले जर्मनीमा चरम दक्षिणपन्थी राजनीतिक दललाई मलजल गर्दै छन् । अमेरिकाको नयाँ सरकारले भनेकामध्ये कतिपय कुरा झूटा हुन सक्छन् भने कतिपय सत्य पनि हुन सक्छन् । समयले त्यसको छिनोफानो गर्ने नै छ । तर, अमेरिकाका फलाकाहरूले नै पनि उसको वर्तमान अवस्थामा परिवर्तन ल्याउने निश्चित छ । यसमा शङ्का गर्नुपर्दैन । राज्यारोहणको दिन डोनाल्ड ट्रम्प आफैले पनि यस्ता बाझिने कुरा गरेका थिए ।
अमेरिकी वर्चस्वमा आएको सङ्कटका कारण अमेरिकी नेताहरू सक्कली रूप देखाउन बाध्य भएका छन् । तिनीहरू सधैँ यस्ता थिए र तिनले सदैव आफ्नो सक्कली रूप लुकाउन चाहेका थिए । यो सङ्कट एउटा अँध्यारो भविष्यको पूर्वसङ्केत हो । विश्वभरि उदाउँदै गरेको नयाँ अतिवादी दक्षिणपन्थले अर्को सम्भावनाको ढोका खोलेको छ । अब विश्वमा साम्राज्यवादी देशहरूबिच नै युद्ध बाक्लिने सम्भावना छ । त्यो स्थितिमा पुँजीवादविरोधी शक्तिहरूले नयाँ क्षितिजको ढोका खोल्ने आशा पलाएको छ । म्याक्सिको र ल्याटिन अमेरिकाले यो प्रतिरोध सङ्घर्ष तथा नयाँ विकल्पको रचनामा मियोको भूमिका खेल्ने छन् । वैकल्पिक भविष्य सम्भव छ भनी विश्वास गर्ने बेला भइसकेको छ ।
(लेखक रोमेरियो मेक्सिकोको राष्ट्रिय स्वायत्त विश्वविद्यालयमा समाजशास्त्रका प्रोफेसर हुन् ।)
स्रोत : एमआर अनलाइन । गणेश
Leave a Reply