भर्खरै :

“हामीले देशको सार्वभौमिकता रक्षाको लागि लड्ने भावना विकास गर्नुपर्छ”

“हामीले देशको सार्वभौमिकता रक्षाको लागि लड्ने भावना विकास गर्नुपर्छ”

भक्तपुर, ३ फागुन । प्रभात सार्वजनिक गुठीअन्तर्गत प्रभात इङ्गलिस सेकेन्डरी स्कूलको ४३ औँ स्थापना दिवस, पुरस्कार वितरण र सांस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले गमलामा रहेको बिरुवामा पानी दिएर कार्यक्रमको उद्घाटन गर्नुभयो र वार्षिकोत्सवको उपलक्ष्यमा प्रकाशित स्मारिकाको विमोचन गर्नुभयो । उहाँले भक्तपुर ऐतिहासिक रूपमै नाचगानको सहर भएकोले हरेक विद्यार्थीहरूलाई नाचगानलगायत अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष बिजुक्छेँले हरेक विद्यार्थी शैक्षिकरूपमा मात्र नभई खेलकुद, सङ्गीत, नृत्यलगायत विविध पक्षमा सक्षम बनाउँदै लानुपर्ने कुरामा जोड दिनुभयो ।
उहाँले खेलले व्यक्तिमा प्रतिस्पर्धाको भावना विकास भई शत्रुसँग प्रतिवाद गर्न सिक्ने र तिनीहरू नै भविष्यमा देश जोगाउनको लागि महत्वपूर्ण योगदान गर्न सक्षम नागरिकको रूपमा विकास हुने विचार व्यक्त गर्नुभयो । विद्यालयमा सिकाइएका खेलहरूको प्रदर्शनले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा विद्यालयको ध्यान गएको प्रस्ट हुने उल्लेख गर्दै उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनको गाजा क्षेत्रका २० लाख जनतालाई आफ्नो ठाउँ छोडेर जान धम्की दिँदा त्यहाँका जनताले प्रतिकार गर्दै सङ्घर्ष गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले देशको निम्ति लड्ने हो, सार्वभौमिकताको रक्षाको लागि लड्ने भावनालाई जोड दिनुपर्छ । शिक्षालगायत विविध क्षेत्रमा विद्यार्थी उत्कृष्ट भइरहेको छ भने त्यो विद्यालयलाई राम्रो विद्यालय मान्नुपर्छ ।”
अध्यक्ष बिजुक्छेँले देशका गाउँगाउँमा ज्येष्ठ नागरिकलाई रेखदेख गर्ने मानिसको कमी भएको छ, विदेशमा जाने कुरा सिकाउनु गलत हो† आफ्नै देशलाई आत्मनिर्भर बनाई विकास र सेवा गर्नुपर्छ भनी सिकाउने विद्यालय नै असल विद्यालय हुन्छ भन्नुभयो ।
नेमकिपाका सचिव, सङ्घीय सांसद तथा प्रभात इङ्गलिस सेकेन्डरी स्कूलको व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले कार्यक्रमको सभापतिको आसनबाट विद्यालयमा समयअनुसार शिक्षण विधिका लागि आवश्यक सामग्री व्यवस्था गर्दै विद्यार्थी र शिक्षकहरूलाई छिकोङ व्यायाम नियमित अभ्यास गराइरहेको बताउनुभयो ।
चित्रकला, हस्तकलालगायतका विषयमा कक्षाहरू चलाउँदै आएको उल्लेख गर्दै उहाँले विद्यालयमा पियानो, मादल, धिमाय्, बाँसुरीका साथै गायन कलाको पनि प्रशिक्षण भइरहेको बताउनुभयो । उहाँले विद्यार्थीहरूको लागि कविता लेखन, गीत लेखनका साथै टेबुलटेनिस, तेक्वान्डो खेलको पनि नियमित प्रशिक्षण भइरहेको उल्लेख गर्नुभयो । संयुक्त राष्ट्रसङ्घमा आधिकारिकरूपमा प्रयोग गर्न पाउने स्पेनिस, फ्रेन्च, जर्मनलगायतका भाषाहरूको प्रशिक्षण चलाउन सुझाव आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “भक्तपुर नगरपालिकाले २०५६ सालदेखि ख्वप शैक्षिक संस्था सुरु गरेको हो । ख्वप विश्वविद्यालय सञ्चालनको तयारी गर्दा सरकारले नगरपालिकालाई विश्वविद्यालय खोल्न पाउँदैन भनी विधेयक रोकिराखेको छ । जनतालाई शिक्षा दिने काममा रोक्नुहुँदैन । संरा अमेरिकाले विश्व स्वास्थ्य सङ्गठन, जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता, संयुक्त राष्ट्र सङ्घको मानव अधिकार सङ्गठनजस्ता महत्वपूर्ण ठाउँबाट बाहिरिने कुराको मानव जातिको हितमा घोषणा गरेबाट अमेरिका विश्व समुदायप्रतिको जिम्मेवारीबाट भाग्दै छ । ट्रम्पले क्यानाडा, मेक्सिको, चीन, कोलम्बियाजस्ता देशहरूमाथि कर बढाउने धम्की दिँदै छ । क्युवालाई राज्य प्रायोजित आतङ्कवादी देश भन्ने आरोप लगाएर युद्धको निहुँ खोज्दै छ । संरा अमेरिका भनेको हतियार उत्पादन गरी व्यापार गर्ने देश हो । हतियार बेचेर बाँच्ने देश ठीक होइन । त्यसको विरोध सबैले गर्नु जरुरी छ ।”
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सांसद सृजना सैंजूले प्रभातको गतिविधिका आधारमा विद्यालय परिवारबाट विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि प्रभावकारी शैक्षिक तथा अतिरिक्त क्रियाकलाप भइरहेको देखिन्छ भन्दै नेमकिपाका अग्रजहरूको निर्देशनमा ठाउँठाउँका विद्यालयहरू खुल्ने क्रममा प्रभात स्कूलको पनि जन्म भएको बताउनुभयो । उहाँले ख्वप विश्वविद्यालय जनताको सपना हो, जनताको सपना पूरा हुन नदिन खोज्नेहरू जनताबाट तिरस्कृत हुँदै जानेछन्† डोनाल्ड ट्रम्पले प्यालेस्टिनको गाजापट्टीका घर खाली गर्न अशोभनीय दादागिरी देखाउँदै छन्† यसबाट उनी आफै थुनिने चेतावनी विभिन्न क्षेत्रबाट आइरहेको छ, यसबाट संरा अमेरिकाको मानव अधिकार उदाङ्गिएको छ भन्नुभयो । अहिले विश्व बहुध्रुवतर्फ लम्केको छ भन्दै उहाँले परनिर्भताले देश बन्दैन भन्ने हेक्का नेपाली नेतृत्वले बुझी हरेक नेपालीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा शिक्षित र दीक्षित पार्नु आवश्यक छ भन्नुभयो ।
नेमकिपा भक्तपुर जिल्ला सदस्य एवं वाग्मती प्रदेश सांसद गीता काफ्लेले आजको समाजमा पश्चिमी संस्कृति फैलँदो छ भने सरकार जनताको समस्याप्रति उदासीन छ, शिक्षा कमाइखाने भाँडो बनाइएको छ भन्नुभयो । संविधानमै कक्षा १२ सम्मको शिक्षा निःशुल्क लेखिए पनि सरकारले सामुदायिक शिक्षालाई बेवास्ता गरिरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले शिक्षा विभेदरहित हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
इन्जिनियर रामबिन्दु श्रेष्ठले देश र जनताको हितमा बोल्ने नेमकिपा एकमात्र पार्टी रहेको बताउनुभयो । आफूले सोभियत सङ्घमा देखेको जस्तो शिक्षा प्रभात स्कूलमा प्रयास भइरहेको उल्लेख गर्दै उहाँले गैरनाफामूलक स्कूल जरुरी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सन् १९१७ मा अक्टोबर क्रान्तिको बेला ९५ प्रतिशत जनता निरक्षर थिए । तर, समाजवादी नेताहरूको अथक प्रयासपछि निरक्षरता उन्मूलन मात्र भएन संसारमै सबैभन्दा पहिला अन्तरिक्ष यात्रा गर्ने देश रुस भयो । युरिगागरिन, भ्यालेन्टिना टेरेस्कोभाजस्ता व्यक्ति जन्मिए । शिक्षाले बेरोजगार उत्पादन गर्ने होइन । रुसको संविधानमै निःशुल्क शिक्षा, रोजगारी सुनिश्चित गरी आजभन्दा एक सय वर्ष अगाडि नै बेरोजगारी पूर्ण रूपमा निर्मूल गरिएको थियो । देशभरि एउटै गुणस्तरीय शिक्षा दिएको चर्चा गर्दै उहाँले त्यहाँ शिक्षक र शिक्षण पेसाको ठुलो सम्मान रहेको भन्नुभयो ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा.मजेशप्रताप मल्लले विद्यार्थीहरूको स्वास्थ्यमा विद्यालय र अभिभावकले विशेष ध्यान पु¥याई पत्रु खाना खानबाट जोगाई पौष्टिक र सन्तुलित खाना खाने ख्वाउने बानी बसाल्नुपर्ने विचार व्यक्त गर्नुभयो । क्यान्सरविरुद्ध खोपको विकास भए पनि वैदेशिक रोजगारीमा जान रोक्ने कुनै खोप नबनेकोले शिक्षालयहरूबाटै उचित शिक्षा दिई उचित उपचार गर्नुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।
बुढानीलकण्ठ स्कूलका शिक्षक दीपक कायष्ठले विद्यालयको उत्कृष्ट व्यवस्थापनको प्रशंसा गर्दै कार्यक्रमको पूर्ण सफलताको कामना गरी डिजिटल युगमा शिक्षालाई व्यवहारमा उतार्न सक्ने गरी अगाडि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
अभिभावहरूका तर्फबाट प्रतिनिधित्व गर्दै अजेन्द्रकुमार लघुले बालबालिकालाई अभिभावकत्व प्रदान गर्ने र पालनपोषणका विभिन्न पद्धतिहरूबारे चर्चा गर्नुभयो ।
विद्यालयका प्राचार्य बदनकेशरी प्रजापतिको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा अतिथि बिजुक्छेँले विद्यालयले ४३ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित भक्तपुर जिल्लास्तरीय चित्रकला प्रतियोगिताका कक्षा ५ देखि ८ सम्मका विजयी विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रमका सभापति प्रेम सुवालले कक्षा १ देखि कक्षा ४ सम्मका विजयी विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । विद्यालयका विद्यार्थीहरूबिच आन्तरिक चित्रकला प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई वाग्मती प्रदेश सांसद सृजना सैजुले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रमका सभापति प्रेम सुवालले अतिथि बिजुक्छेँ (रोहित) लाई लक्ष्मीनरसिंह मन्दिरको प्रतिस्वरूप मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रममा अन्य अतिथिहरूलाई पनि मायाको चिनो प्रदान गरिएको थियो ।
भक्तपुर नगरपालिका २ नं. वडाका वडाध्यक्ष हरिप्रसाद बासुकला, शिक्षकहरू तारा न्यौपाने, अनिता न्हुछेँले पनि बोल्नुभएको थियो । जिम्न्यास्टिक, तेक्वान्डोलगायतका खेलहरूको प्रदर्शनी पनि भएको थियो । औपचारिक सभापश्चात् विद्यार्थीहरूबाट गीत, नृत्य, नाटकजस्ता विविध प्रतिभा देखाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *