भर्खरै :

विद्यार्थीलाई श्रमको सम्मान गर्न सिकाउनुपर्ने

विद्यार्थीलाई श्रमको सम्मान गर्न सिकाउनुपर्ने

भक्तपुर, ५ फागुन । नेपाल क्रान्तिकारी युवा सङ्घ नगर समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा आयोजित भक्तपुर जिल्लाव्यापी कार्टुन प्रतियोगिताको पुरस्कार र प्रमाणपत्र वितरण कार्यक्रम सोमबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चित्रकला आफैमा साहित्यको सशक्त माध्यम भएको बताउँदै विद्यार्थीहरूको निरन्तरको मेहनत र अभ्यासले उनीहरूलाई सफलता दिलाउँछ भन्नुभयो ।
कुनै पनि काम सानो ठुलो हुँदैन भन्दै उहाँले विद्यार्थीलाई श्रमको सम्मान गर्न सिकाउनुपर्ने बताउनुभयो । विद्यार्थीहरूले कुनै एक विषयमा विशेषज्ञता हासिल गर्ने गरी आफ्नो अध्ययनलाई निरन्तरता दिनुपर्ने बताउँदै उहाँले चिट चोरेर उत्तीर्ण हुने विद्यार्थीले जीवनमा कहिल्यै इमानदारीपूर्वक काम गर्न सक्दैन भन्नुभयो ।
सामाजिक कार्यकर्ता नै भविष्यका राजनीतिक कार्यकर्ता हुने बताउँदै उहाँले सामाजिक कार्यकर्ताले समाजलाई व्यवस्थित गर्ने विषयमा चिन्तन गर्छ र राजनैतिक कार्यकर्ताले देश र समाजको समस्या बुझेर काम गर्छ भन्नुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका लक्ष्मीभक्त लासिवाले प्रगतिशील विद्यार्थीहरूले अन्धविश्वासको विरोध गर्ने बताउँदै समाजको विकासमा काम गर्नेहरू नै सामाजिक कार्यकर्ता हुन् भन्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय अध्यक्ष मीनबहादुर बाटाले विद्यार्थीहरूबाट सिर्जित कार्टुनमा देशप्रतिको माया छचल्किएको उल्लेख गर्दै नेमकिपा देशमा समाजवादी व्यवस्था स्थापना गर्न क्रियाशील रहेको बताउनुभयो । युवाहरूलाई मद्यपान धूमपानजस्ता विकृतिबाट टाढा रहन प्रेरित गर्दै उहाँले युवा विद्यार्थीहरूलाई राजनीतिमा लाग्न प्रेरित गर्नुपर्छ भन्नुभयो ।
नेक्राविसङ्घका अध्यक्ष प्रकाश गुरुङले आजका विद्यार्थी भोलिका देशका कर्णधार हुन् भन्दै विद्यार्थीलाई विज्ञानसम्मत ढङ्गले अगाडि बढ्न प्रेरित गर्नुभयो । उहाँले देशलाई दक्ष र सक्षम जनशक्तिको खाँचो रहेको औँल्याउनुभयो ।
नेक्रायुसङ्घ भक्तपुर नगर समितिका अध्यक्ष जगतराम धुख्वाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेक्रायुसङ्घ नगर समितिका सदस्य मुना बासुकला, इन्द्र राजलवट र रामेश्वर मचामसीले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर जिल्लाव्यापी कार्टुन प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
उक्त प्रतियोगितामा प्रभात इङ्गलिश सेकेन्डरी स्कूलका सपना खड्का प्रथम, जेसिस से. स्कूलका सायम सुवाल द्वितीय, बासु माध्यमिक विद्यालयका विविशा विष्ट तृतीय र वागीश्वरी माविका सुवान सुवालले चौथो स्थान हासिल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *