भर्खरै :

भ्रष्टाचारले गर्दा राष्ट्रवादी पार्टीले कसरी शक्ति गुमायो ?

भ्रष्टाचारले गर्दा राष्ट्रवादी पार्टीले कसरी शक्ति गुमायो ?

द्वितीय विश्वयुद्धताका कम्युनिस्ट र राष्ट्रवादीहरूले आफ्नो गृहयुद्ध थाँती राखेर जापानीविरुद्ध अस्थायी गठबन्धन बनाएका थिए । यस गठबन्धनमा रहेको अवधिमा माओ र उहाँका कार्यकर्ता आफ्नो प्रतिद्वन्द्वी राष्ट्रवादी गुटभित्रको अन्तर्विरोधको स्वरूप थाहा पाउन सचेत थिए । साथै आफ्नो घरको रक्षामा जुटेका दुई शक्तिबिचको भिन्नता चिनियाँ जनतालाई बुझाउन पनि उनीहरू लागिरहे ।
दुई सेनाबिचको वैचारिक भिन्नता जनतामा प्रस्टिन थालेको विश्वासमा माओ हुनुहुन्थ्यो । उहाँको विश्वास केमा थियो भने जतिबेलासम्म लाल सेनाले किसान र गैरसैनिकलाई सम्मान र मानवताका आधारमा व्यवहार गरिरहन्छ च्याङ काइसेकको नेतृत्वमा रहेको चीनले जापानसँगको आफ्नो दीर्घ लडाइँ जित्ने छ । तर, कम्युनिस्टहरूले चिनियाँ जनताको दिमाग र मुटुका लागि अन्तिम लडाइँ जित्नुपर्ने छ ।
सैनिकका लागि आर्थिक सहयोग उठाउने एकजना चिनियाँ व्यापारीले यनान भ्रमण गर्दा सोभियतमा चीनका कैयौँ पक्ष अनुपस्थित रहेका देखेछन् । त्यहाँ भ्रष्ट अधिकारी, स्थानीय उत्पीडक, जुवातास, वेश्यावृत्ति, रखैल, भिखारी र युद्धको बहानामा मुनाफा खाने कोही पनि थिएनन् ।
हामीलाई थाहा छैन, यी ‘दोष’ का लागि व्यापारीलाई कत्तिको कठिनाइ भएको होला । तर, यो स्पष्ट छ, कम्युनिस्ट पार्टीमा अमान्य केही व्यवहार राष्ट्रवादीको नियन्त्रणमा रहेका अधिकांश क्षेत्रमा सदाको व्यवसाय थियो ।
विशेषरूपले पश्चिमा सहयोगीसँग च्याङ काइसेकको सम्बन्धमा व्यापक भ्रष्टाचार र बेइमानीका कैयन् उदाहरण थिए । जब उहाँको सरकारले अर्थव्यवस्था स्थिर पार्न अमेरिकाबाट ठुलो ऋण सहयोग प्राप्त गर्यो, राष्ट्रवादी वरिष्ठ अधिकारीद्वारा रकम हिनामिना गरियो र अमेरिकी वस्तु तथा घरजग्गा कारोबारमा त्यसलाई लगाइयो । यस्ता निर्लज्ज जालसाजी पर्दाफास गर्न कम्युनिस्टहरू पछाडि पर्ने कुरै भएन ।
‘हरेकलाई उसको लोभअनुसार’, कम्युनिस्टहरूले व्यङ्ग्य गरे । च्याङ काइसेकको सरकारले पश्चिमा सहयोगको दुरूपयोग गरिरहेको कुरामा कम्युनिस्टहरू स्पष्ट रहेको अवस्थामा प्रशान्त महासागरमा जापानसँग युद्धमा अल्झिएको अमेरिकालाई यसले चिन्तित पारेको देखिएन । अमेरिकी सरकार र सेना नेतृत्वले राष्ट्रवादीहरूलाई आफ्नो सहयोगी ठानेका थिए । वासिङटनले माओको लाल सेनालाई दोस्रो खेलाडी वा सेनाधिपतिले निजी कुराकानीमा भन्ने गरेको ‘डाँका’ सम्म ठानेर व्यवहार गरिरहेको थियो ।
असमान व्यवहारबाट क्रुद्ध माओले घोषणा गर्नुभयो, “हामी च्याङ काइसेकजस्ता होइनौँ । हामीलाई कुनै देशको सहारा चाहिँदैन । हामी एउटा स्वतन्त्र मानिससरह ठाडो भएर उभिन र आफ्नै खुट्टाका सहारामा हिँड्न सक्छौँ ।”
यस्तो अभिव्यक्ति दिँदा माओले कम्युनिस्टको सर्वोच्च नेताका रूपमा आफ्नो पकड बलियो पारिरहनुभयो । पुँजीवादीहरूको भौतिक भ्रष्टाचार कम्युनिस्ट क्रान्तिले ध्वस्त हुने छ, उहाँले तर्क राख्नुभयो । बढी खतरा त उहाँका आफ्ना कार्यकर्तामा वैचारिक नैतिक पतनको सम्भावनामा थियो ।
आफ्ना अनुयायीको मनप्रति सचेत भए पनि माओले ‘सही विचार’ राख्न र ‘कडा परिश्रम’ मा जोड दिन छाड्नु भएन । उहाँले कार्यकर्तालाई कम्युनिस्ट सर्वोच्चताको सम्झना गराइरहनुभयो । उहाँका निर्देशन लामो हुने थिएनन् केबल चमत्कारिक क्रान्तिकारीका उपदेश वा एक प्राध्यापकको विचारोत्तेजक अध्यापन थिए । ती सत्तावादी आदेश हुन्थे जसमा प्रश्न उठाउन वा अवज्ञा गर्न पाइन्नथ्यो ।
बाह्य विश्वका अगाडि च्याङ काइसेक चीनको स्थापित नेता भएको र ती जनरलले नै द्वितीय विश्वयुद्धमा जापानलाई हराउन सहयोग गरेका हुन् जस्तो प्रतीत हुन्थ्यो । चीनभित्र कम्युनिस्ट पार्टीको भ्रष्टाचारमुक्त सोचाइलाई अनुमति दिन गइरहेका यनानका मानिसभन्दा सेनाधिपति धेरै कमजोर अवस्थामा रहेको स्पष्ट भइसकेको थियो ।

च्याङ काइसेकविरुद्ध निर्णायक आक्रमणका लागि माओले कस्तो तयारी गर्नुभयो
सन् १९४५ अगस्तमा माओ त्सेतुङ एउटा विमान चढेर जनरल च्याङ काइसेकसँग भेटघाट गर्न जानुभयो । कम्युनिस्ट नेताको स्वागतमा छोङछिङमा भेला भएको भीड यनानमा उहाँको बिदाइका बेला उपस्थित भीड जत्तिकै ठुलो र उत्साहित थियो । माओ र च्याङ कम्युनिस्ट र राष्ट्रवादीलाई एकजुट गर्ने सरकार गठनको प्रयास गर्ने तथा जापानसँगको युद्धपछि चीनको पुनर्निर्माणमा सहयोग गर्ने सहमतिमा पुग्नुभयो । यसको नतिजा सोचे जत्तिको सफल भएन । वार्ताको समयमा माओ बिरामी पर्नुभयो । उहाँ औँलो र निद्रा नपर्ने समस्या (इन्सोम्निया) बाट पीडित हुनुहुन्थ्यो ।
उहाँका मित्र चाउ एनलाइले वार्तामा बढीजसो जिम्मेवारी लिनुभयो । तथापि वार्ता अवधिमा माओ छोङछिङमै रहनुभएको थियो । उहाँले चाउलाई सचेत कूटनीति अपनाउन भन्नुभयो तर छ हप्तापछि माओ यो निष्कर्षमा पुग्नुभयो, “च्याङ काइसेक अहिले आफ्नो तरबार धारिलो पार्दै हुनुहुन्छ, हामीले पनि आफ्नो तरबार तिखार्नु पर्छ ।” दुई चिनियाँ सेनाबिचको दीर्घ लडाइँ पुनः सुरू हुने अवस्थामा थियो ।
जापानीलाई पराजित गर्न अमेरिकाले चीनलाई सहयोग गरेकोले कम्युनिस्टलाई हराउन समेत उसले आफूलाई सघाउने आशामा च्याङ काइसेक हुनुहुन्थ्यो । वासिङटनले सेनाधिपतिलाई सहयोग गर्न आफ्नो सैनिक नपठाए पनि अमेरिकाले डेढ अर्ब अमेरिकी डलरभन्दा बढी सैनिक सामग्री राष्ट्रवादीहरूलाई पठायो ।
ट्याङ्क बन्दुकहरूले लालसेनालाई समस्या उत्पन्न गरिदियो तर अमेरिकाले चीनको मामिलामा हस्तक्षेप गरिरहेको देखिरहेका जनताका आँखामा विदेशी सहयोगले राष्ट्रवादीलाई राम्रो भन्दा पनि बढी नोक्सान गरिरहेको थियो । सन् १९१९ मेमा भए सरह सडकमा प्रदर्शन हुन थाल्यो, अमेरिकी साम्राज्यवादविरुद्ध विरोध जुलुस निस्कियो । कम्युनिस्टहरूले आफ्नो हितका लागि यस लोकसम्मत उपद्रवको उपयोग गरे ।
यनानमा माओले स्वास्थ्यलाभ प्राप्त गर्नुभयो र छापामार लडाकुको रूपमा आफ्नो पुरानो जिम्मेवारी ग्रहण गर्नुभयो । दशकौँदेखि लालसेनाले उपयोग गरिरहेको, शत्रुले आक्रमण गर्दा आफू पछाडि हट्ने रणनीति सम्झँदै उहाँ पछाडि फर्कनुभयो । सङ्ख्यात्मक रूपमा १० मा एकको अवस्थामा रहेको लालसेनाले च्याङ काइसेकको स्थल र हवाई आक्रमणबाट भाग्नु पर्यो र उनीहरू शान्सीका गाउँमा पसे ।
जनमुक्ति सेना नयाँ नाम लिएका माओका सैनिक जहाँ पनि गए उनीहरूले किसानहरूसँग सम्मानित व्यवहार गर्दै तिनीहरूको विश्वास हासिल गरेका थिए । यस सहयोगको सहारा तथा किसानहरूबाट भएको नयाँ भर्तीद्वारा माओले बारम्बार स्थान र दिशा परिवर्तन गरेर च्याङ काइसेकको सेनालाई शान्सी प्रान्तभरि जङ्गली हाँस पछ्याएको जस्तै कायल पार्नुभयो ।
जब राष्ट्रवादी तितरवितर भएर आफ्नो रक्षा गर्न नसक्ने अवस्थामा पुग्थे माओका सैनिकले आक्रमण गर्दथे । जब यसो भयो यसले निकै लोकप्रिय समर्थन हासिल गर्यो र च्याङ काइसेकका सैनिकभन्दा उच्च मनोबलमा लाल सेना पुगे । कम्युनिस्टसँग धेरै राष्ट्रवादी हारे तथा उनीहरूले आफ्नो हतियार र ट्याङ्क्सहित आत्मसमर्पण गरे ।
परिस्थिति माओको पक्षमा भएसँगै जनमुक्ति सेना चीनका ठुला सहर र बस्तीमा यसरी फैलिए कि ती उनीहरूको हातमा खसेका हुन् । माओका शब्दमा, ‘पाकेको फलजस्तै ।’ सन् १९४९ अक्टोबरमा उनीहरूले पेइचिङमा नियन्त्रण बनाए । च्याङ काइसेक र उहाँका पराजित राष्ट्रवादीहरू ताइवान टापुमा पलायन भए र कहिल्यै चीन फर्केनन् ।
४० वर्षपहिले माओ त्सेतुङले सामान्य शिक्षा प्राप्तिका लागि आफ्नो गाउँ छाड्नुभएको थियो । अब उहाँ कम्युनिस्ट पार्टीको अध्यक्ष र जनवादी गणतन्त्र चीनको सर्वोच्च नेता हुनुभयो । युरोप र अमेरिकाद्वारा चीनप्रति गरिएको व्यवहारको विरोधमा भएको प्रख्यात हिंसात्मक आन्दोलनमा सहभागिता जनाएको ३० वर्षपछि उहाँले घोषणा गर्नुभयो, “चिनियाँ जनता फेरि कहिल्यै अपमानित हुने छैनन् ।”
उहाँका अगाडि वाचा कायम राख्दै कम्युनिस्ट चीनको अस्तित्व सुनिश्चित गर्ने ठुलो जिम्मेवारी थियो ।
सन् १९४९ मा माओ त्सेतुङ आफ्नो अनुयायीहरूको नेतृत्व गर्दै सत्तारोहणको अन्तिम चरणमा षपई प्रान्तबाट पेइचिङ आउनुभयो । आफ्नो वरिपरि रहेका किसानलाई नयाँ शासन पद्धतिका दुई अनिवार्य पक्षका बारेमा सम्झाउनुभयो : १. तिनीहरूको कार्यशैलीमा कमरेडहरूले सामान्य, विवेकी तथा अहङ्कार र आतुरतामुक्त रहनका लागि मद्दत गर्नुपर्ने छ । २. सामान्य जीवन र कडा परिश्रम शैली संरक्षण गर्न कमरेडहरूले सहयोग गर्नुपर्ने छ ।

– ‘माओ त्सेतुङबारे अध्ययन’ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *