भर्खरै :

पुनः नातिनातिनाहरूलाई चिठी

पुनः नातिनातिनाहरूलाई चिठी

१८ माघ २०८१

मैले माया गरेका नाति र नातिनाहरू,
तिमीहरूलाई दिनदिनको माया र सम्झना !
तिमीहरूको भलो चाहन्छु र तिमीहरूको पढाइ एवम् व्यवहारसँगै तिमीहरूको मनका कुराहरू पनि सुन्न मन पराउँछु ।
झन्डै दुई हप्ता म स्वास्थ्यको कारणले बाहिरी गतिविधिमा भाग लिन पाइनँ र आज तेस्रो दिन स्वस्थ हुने क्रममा छु । कहिलेकाहीँ एकदिन साथीहरूसँग भेटघाट गर्न बाहिर जान्छु र दुई÷तीन दिन विश्राम गर्छु, फेरि एकदिन काम गर्छु र दुई÷तीन दिन विश्राम गर्छु । यसको कारण चिसो मौसम हो ।
अचम्म लाग्छ – आज १८ माघ २०८१ को दिन बिहानैदेखि म खुसी छु । हिजो राति १० बजे लेख–पढको काम सिध्याएर म ओछ्यानमा पल्टेँ । कतिबेला निद्रा लाग्यो थाहा भएन, राति ३ बजे र बिहान ६ बजे म ब्युँझेर स्नान घर पुगँे र फेरि सुतेँ । ७ बजे बिहान आनन्दको अनुभव गर्दै म उठेँ ।
बिहानको दैनिक काम सिध्याएर म ८ः३० बजे टेबलमा बसँे र ९ बजे बिहानको खाजापछि म पुनः टेबलमा बसेँ र दिनुपर्ने शुभकामना र रचनाहरू टुङ्ग्याएर १० बजे म पुनः आराम गर्न कोठामा गएँ ।
कस्तो रमाइलो बिहानी, ११ बजे उठ्दा बिहान आउने ७ देखि ८–९ बजेसम्मका दैनिक पत्रिकाहरू टेबलमा सिँगारिएका थिए, ७ बजे नै आउने बहिनी बिरामी भएको सूचना पाएँ ।
अन्तर्राष्ट्रिय समाचारमा अमेरिकी राष्ट्रपतिका केही समाचार र टिप्पणीहरू पढँे, लाग्छ, अमेरिकी जनता नै उनका वक्तव्य, भाषण र आदेशलाई गम्भीरतापूर्वक लिन छोडेको अनुमान हुन्छ ।
मेरा नाति र नातिनाहरू,
राष्ट्रिय र अन्तर्राष्ट्रिय नेताहरूले मनपरी बोल्ने हुँदा ती नेताहरूको महत्व घट्दै गएको अनुमान हुन्छ । यसकारण, तिमीहरू ठूला भइसकेपछि आफ्ना पद र पेसाको जिम्मेवारी बोकेपछि पछिको परिणाम नसोची प्याचप्याच बोल्ने बानी नबसाल्नू, हडबडीमा, नसोची कुनै पनि विषयमा मुख खोल्नू हुन्न भने मनमा राख्नू ।
प्रिय नाति र नातिना,
२ फागुन २०८१
३० माघ र १ फागुनको दिन ख्वप अस्पताल र भक्तपुर अस्पतालमा मेरो कानको स्थिति बुझ्न डाक्टर भाइबहिनीहरूसँग भेटँे, उमेरअनुसारको असरबाहेक कानमा कुनै खराबी नभएको बताएपछि घर फर्केँ ।
भक्तपुरका विभिन्न विद्यालय र महाविद्यालयहरूको स्थापना दिवस र अन्य कार्यक्रमहरू हुँदै छ र केही स्मारिकाहरू पनि पाउँदै छौँ । यसबारे तिमीहरूलाई केही बताउन खोज्दै छु ।
वागीश्वरी विद्यालयको स्थापनाको ६६ औँ, वागीश्वरी कलेजको १७ औँ र म्यानेजमेन्ट कलेजको दोस्रो वार्षिक उत्सवको कार्यक्रम सम्पन्न भयो र एउटा स्मारिका पनि उपलब्ध भयो । सधैँ देश–विदेश र अन्य साहित्यहरूबारे जानकारी पाउने बेला विद्यालयहरूकै बारे जानकारी हासिल गर्न पाउँदा आनन्दको अनुभव गरेँ ।
सांसद, मेयर र वागमती प्रदेशका माननीय, जनप्रतिनिधि, शिक्षक शिक्षिका र अन्य पाहुनाहरूको लेख, रचना र मन्तव्यहरू पनि माइकबाट सुनँे र स्मारिका अध्ययन गर्न पाएँ। । तर, नयाँ अनुभव विद्यालयको प्रधानाध्यापकबाट अवकाश प्राप्त कृष्णप्रसाद धन्छा सर र वर्तमान कलेजका प्राध्यापकको रूपमा उहाँको सक्रियताबारे र शिक्षामा उहाँको योगदानबारे शिक्षक भानुभक्त हुमागाई, राजन लाखा, विश्वराम प्रजापति, शोभालक्ष्मी गोसाईँ र धन्छा सरकै सुपुत्र सगुन धन्छाको आफ्नो बुबाको घर र विद्यालयको बारे आफ्नो बाल–सुलभ भावना अनुभव पढ्दा साह्रै मन छोयो । बल्ल कुनै व्यक्तिको योगदान उपयुक्त मूल्याङ्कन हुन थालेको अनुमान गरेँ ।
त्यस्तै भक्तपुरकै प्रभात माध्यमिक विद्यालयको ४३ औँ स्थापना दिवसको स्मारिकामा पनि डाक्टर, इन्जिनियर, जलस्रोतविद्, शिक्षक, शिक्षिकाहरूका रचनाहरू र जानकारीहरूले पाठ्यसामग्री घटलाग्दो देखियो । शिक्षिका स्वर्णिमा मूल र मीरा दुगुजूको ‘साना नानीहरूप्रति स्नेहको हुर्काई’ र ‘प्रभात सामाजिक जिम्मेवारीको चिराग’ लाई नेपाली भाषामा अनुवाद अझ फलदायी हुनेछ । इन्जिनियर रामबिन्दु श्रेष्ठको ‘सोभियत सङ्घमा बालशिक्षा’ र डाक्टर मल्लको ‘स्वस्थकर जीवनशैली’ बाट अत्यन्त चाखलाग्दो जानकारीको अनुभव भयो ।
प्रिय नाति र नातिना,
मेरो स्वास्थ्यलाई ध्यानमा राख्ने चिकित्सक भाइबहिनीहरूको सल्लाहअनुसार रातको १० बजे सुत्नु छ । अब म आराम गर्छु । तिमीहरूको सु–स्वास्थ्यको कामना गर्छु । अध्ययनमा राम्रो ध्यान दिनू । बिदा !

सदा माया गर्ने
हजुरबुबा

Leave a Reply

Your email address will not be published. Required fields are marked *