भर्खरै :

‘हामीलाई प्रश्न सोध्न उत्साहित गरिएकै छैन’

प्राध्यापक रोमिला थापर समकालीन समयमा भारतीय इतिहास अध्ययनका लागि सन्दर्भ व्यक्तित्व नै हुन् । थापरले इतिहासलाई सधैं गतिशील विषय र विगत तथा वर्तमानबीचको नियमित संवाद भनी व्याख्या गर्ने गरेकी छिन् । उनले धेरै विचारवान पुस्तकहरु लेखेकी छिन् । तर यो पटक भने उनी आफै एउटा पुस्तकको विषय बनेकी छिन् । अक्सफोर्ड युनिभर्सिटी प्रेसले हालै प्रकाशन गरेको पुस्तक टकिङ हिस्ट्री(इतिहास संवाद) थापरकै विषयमा लेखिएको पुस्तक हो । रमिन जाहानबेगल्लु र निलाद्री भट्टाचार्यले त्यो पुस्तकमा पञ्जाबदेखि लण्डनसम्मको थापरको जीवनयात्राबारे उधिन्ने काम गरेका छन् । तर यो पुस्तक त्यत्तिमा मात्र सीमित भने छैन । बरु त्यसमा इतिहासको अध्ययन विधि, महाआख्यान साहित्य र हिन्दु राष्ट्रवादजस्ता समसामयिक विषयहरुमा गरिएका अन्तर्वार्ता पनि समावेश छन् । थापरका रचनालाई ‘इतिहासकार र उनको शिल्प–सङ्कलित रचना र मन्तव्य’ शीर्षकमा चार वटा भागमा सङ्कलन गरिएका छन् । एक जना नेतृत्वदायी जनपक्षीय बौद्धिक व्यक्तित्व भन्न सुहाउने थापरसँग स्क्रोल.आईएनले उनको नयाँ पुस्तक, इतिहास, हिन्दुत्व र अरु धेरै विषयमा केन्द्रित भई गरिएको अन्तर्वार्ता प्रस्तुत छ ः
आफ्नो नयाँ पुस्तकमा तपाईले भारतीय समाजमा जनपक्षीय बौद्धिकताको आवश्यकताबारे कुरा गर्नुभएको छ । अरु समयमा भन्दा पनि आजको जस्तो समयमा अझ तिनको बढी आवश्यकता भएको तपाईको विचार सुनियो । तर मानिसहरु धेरै प्राज्ञहरु, त्यसमा पनि बढी त इतिहासका प्राज्ञहरु सार्वजनिक बहसमा आउन नचहाएको देख्छन् । तपाईको विचारमा यति धेरै विमुखता किन ?
त्यसका दुई वटा कारण छन् । पहिलो कारण, अनुसन्धानकर्ताहरुलाई आफूले जुन विषयमा अनुसन्धान गरिरहेका छन्, त्यो विषय बाँकी समाजको लागि कति सान्दर्भिक वा उपयोगी छ भन्नेमा सोच्न अभ्यस्त बनाइएको छैन । यद्यपि केही इतिहासकारहरुले पनि आफ्नो अध्ययन र समाजसँगको सान्दर्भिकतालाई मिलाउन जानेका छैनन् । तर इतिहासकारहरुको सन्दर्भमा यसो भनिहाल्न मिल्दैन । तर वैज्ञानिकहरुको सन्दर्भमा भने यो बुझाई ठ्याक्कै मिल्न जान्छ । उदाहरणको लागि, वैज्ञानिकहरु मुलतः आफ्नो अनुसन्धानमै केन्द्रित भएर अध्ययनमा जुटेका हुन्छन् । अनि आफ्नो अनुसन्धानले समाजलाई कस्तो प्रभाव पार्छ भन्ने विषयमा उनीहरु कमै मात्र बोल्ने गर्दछन् ।
तपाई वैज्ञानिक भए पनि वा नभए पनि खासमा हामीलाई यस्ता आधारभूत प्रश्न सोध्न सिकाइएकै छैन, प्रश्न गर्न उत्साहित गरिएकै छैन । यसका धेरै कारणमध्ये एउटा कारण हाम्रो शिक्षा अझै पनि उपनिवेशनवादी चिन्तनबाट धेरै मात्रामा प्रभावित नै छ । उपनिवेशवादी शिक्षा प्रणालीमा त्यस आलोचनात्मक प्रश्नहरु सोध्न दिइँदैनथ्यो । आजभोलि भने सरकारी विचारधाराले प्रश्नहरु सोध्न निरुत्साहित गरिरहेको छ । हामी अझै पनि त्यो चरणमा पुगिसकेका छैनौं जहाँ कलेजका पाठ्यक्रम आधारभूत प्रश्नहरुबाट शुरु हुने गर्दछ ।
प्रश्न गर्नुको महत्व बुझेकाहरु पनि चुपचाप छन् किनभने हाम्रा शैक्षिक निकाय र आममानिसहरु ज्ञानवान प्रश्नहरु सोध्ने कुरालाई त्यत्ति रुचाउने गर्दैनन् । आजभोलि त अझ एउटा थप त्रास पनि थपिएको देख्छु । तपाईले कुनै मुद्दाको खुलमखुला विरोध गर्नुुहुन्छ जुन मुद्दाको विरोध जायज छ भने त्यसबाट आइलाग्ने परिणाम पनि तपाईले भोग्न तयार हुनुपर्दछ । भारतका विश्वविद्यालयहरुमा त्यही भइरहेका छन् । त्यसकारण भारतका एक समूह वैज्ञानिकहरुले डार्बिनको विकासवादी सिद्धान्तलाई नै नष्ट गर्ने मानवसंशाधन मन्त्रालयका मन्त्रीको विरोध गरेको सुन्दा हामीलाई ज्यादै खुशी लागेको थियो ।
महाआख्यान साहित्यलाई तथ्यगत प्रमाणको रुपमा लिन नहुने तपाईकोे निष्कर्ष रह्यो । आख्यानिक पात्र भएर पनि जयासीको ‘पद्मवत्त’मा ‘पद्मावत्ती’लाई एकजना ऐतिहासिक पात्रको रुपमा लिने गरिएको छ । धेरैले महाभारत र रामायणलाई इतिहासकै खण्डको रुपमा बुझेका छन् । जनपक्षीय बौद्धिकहरु यस्ता दाबीको प्रतिरोध कसरी गर्छन् ?
धेरैभन्दा धेरै प्रश्न सोधेर ।
इतिहासकार भएका नाताले इतिहासको रुपमा कुनै कुरा कहीं उद्धरण गरिएको छ भने त्यो ऐतिहासिक हो वा होइन, जाँच्न जरुरी छ । हामीले समाज बनाउन तिन(महाआख्यान साहित्य)को भूमिकाबारे अनुसन्धान गर्नुपर्छ–के तिनले सामाजिक मूल्यहरुको निर्धारण गरेका छन् र के तिनलाई सामाजिक पहिचानको स्रोत मान्न सकिन्छ ? के मानिसहरु तिनलाई विगतका स्थापित सत्य मान्छन् र ती महाआख्यानलाई सामाजिक इज्जत र परिचयको स्रोतको रुपमा मानेर के मानिसहरुले आफ्नो जीवनपद्धति निर्धारण गर्ने गरेका छन् ? अथवा उनीहरुले तिनलाई विगतको एउटा महान साहित्य वा रोचक कल्पना मात्र मान्ने गरेका छन् जसको रक्षाको लागि उनीहरुले आफ्नो प्राण नै आहुति दिन आवश्यक ठान्ने गर्दैनन् ?
त्यसबाहेक पनि त्यो कल्पनालाई एउटा विश्वासिलो यथार्थ मान्ने भावना पछाडि के कारण छ ? विगतसँग वर्तमानको सम्बन्धमा यसको ठूलो महत्व हुने गर्दछ । विशेषतः सामाजिक पहिचानको क्षेत्रजस्ता विगतको वर्तमानमा धेरै ठूलो महत्व हुने क्षेत्रहरुमा विगत र वर्तमानबीचको सम्बन्धको धेरै अर्थ हुने गर्दछ । मिश्रित पहिचान भएको समाजमा कसैले कसरी एकल पहिचान भेटाउन सक्छ र त्यो एउटै पहिचानलाई मात्र विशेष कसरी भन्न सक्छ र ?
प्रतिरोध गर्ने धेरै तरिकाहरुमध्ये एउटा तरिका भनेको कुनै आख्यानकै भए पनि एउटा उँचो कोटीको पाठ टिप्ने र त्यो पाठ ऐतिहासिक भएकोमा जोड दिंदै कसैको पुर्खासँग जोडिदिने । यस्ता दाबी विशेषतः सामाजिक रुपमा असुरक्षित समूहरुबाट नै आउने गर्दछन् । बिडम्बना आज त्यस्ता समूहमध्ये केही त समाजका प्रमुख जातिहरु छन् किनभने भविष्य ज्यादै अनिश्चित छ । विगतमा उनीहरुले चलाउँदै आएको प्रभुत्व आज छाँयामा परेको छ ।
इतिहासकारहरुले यस्ता विभिन्न पक्षहरु औंल्याउन सक्छन् । विगतको महाआख्यान साहित्यका रुपमा नभई आजको राजनीतिक हतियारको रुपमा प्रयोग भएका पाठमाथि टिप्पणी गर्नु पनि उत्तिकै जरुरी छ ।
स्मृतिलाई इतिहासको स्रोत मान्ने सन्दर्भमा तपाईले निकै चासो दिइरहनुभएको छ । तथापि के इतिहास मुलतः लेख्न आवश्यक ऐतिहासिक स्मृतिको सङ्कलन होइन र ? आज हामीले इतिहासको आधिकारिक स्रोत मानेका धेरै ऐतिहासिक पाठहरु समयक्रमको स्मृतिबाट ल्याएका होइनौं र ? यस्ता प्रश्नलाई तपाईले कसरी लिनुभएको छ ?
शुरुमा स्मृति इतिहासको प्रमुख स्रोत भएको तपाईको विचारप्रति म असहमति जनाउन चाहन्छु । इतिहास विगतको व्याख्यामा मात्र सीमित भएको दिनहरुमा स्मृति इतिहासको प्रमुख स्रोत थियो । तर आज इतिहासले विगतका धेरै स्रोतहरुको आधार लिनुका साथै विश्लेषण पनि गर्ने गरेको छ । अनि यसअवस्थामा विगतको व्याख्या गर्दा इतिहास लेखनमा स्मृतिको भूमिका निकै कम मात्र हुने गर्दछ । इतिहासको अभिलेखिकरण गर्ने अरु तरिकाहरु नै आज प्रमुख तरिका बनेका छन् । सरकारी कागजात, आधिकारिक भनाई र पुरातात्विक प्रमाणहरु स्मृतिभन्दा बढी विश्वसनीय हुने गर्दछन् ।
इतिहास विभिन्न स्रोतबाट तयार हुने गर्दछ । अनि यो अन्तक्र्रियामा ती विभिन्न स्रोतहरुको विश्वसनीयता र मूल्यबारे जाचबुझ गर्नुपर्दछ । त्यसकारण स्मृतिलाई आलोचनात्मक अध्ययनको विषयबस्तु बनाइने गरिन्छ । हामी यसलाई आवरणमूल्यका रुपमा मात्र बुझ्ने गर्दैनौं । हामी तिनको विश्लेषण गर्छौं, अलग–अलग बनाएर अध्ययन गर्छौं र अरु स्रोतहरुसँग भिडाएर हेर्छौं । म जोडका साथ के भन्न चाहन्छु भने स्रोत जुुनसुकै भए पनि इतिहास लेखनमा विश्लेषण ज्यादै आवश्यक र केन्द्रीय विषय हुने गर्दछ ।
हिन्दुत्वले आज एउटा विचारधाराको रुपमा आधार हासिल गरिरहेको छ । हिन्दुत्वका प्रबद्र्धकहरुले पुराणका पात्रहरुलाई अघि सारिरहेका छन् । जबकि हिन्दुत्व विचार पौराणिक हिन्दुधर्मका पात्रहरुले बोकेका विचारभन्दा ठीक विपरीत छ । आजभोलिको असमावेशी, अझ भनौं अब्रहामिक हिन्दु धर्म(सङ्कीर्णता वा धार्मिक कट्टरता) तपाईको विचारमा धर्मको इतिहासमा ठूलो परिवर्तन हो ? (अब्रहामिक धर्म भनेको क्रिस्चियन र मुसलमान धर्मको समेत स्रोत मानिएको अब्राहमले मान्ने गरेको धर्म हो । यसमा हिन्दु धर्म पर्दैन । क्रिस्चियन र मुसलमान धर्मका सबै सम्प्रदाय अब्रहामिकभित्र पर्दछ । तर यहाँ प्रश्नकर्ताले हिन्दु धर्मलाई पनि अब्रहामिक धर्मजस्तै बनाउन खोजेकोलाई सङ्केत गर्दै अब्रहामिक हिन्दुधर्म भनेका छन्–अनुवादक)
सबै धर्मको इतिहास हुने कुरा हामीले बुझ्नुुपर्दछ । धर्म भनेको स्थीर विषय होइन । धर्म ऐतिहासिक परिवर्तनसँगै परिवर्तनशील छ । धर्म दुई प्रकारका छन्ः पहिलो व्यक्तिगत धर्म जसमा तपाई, र तपाईले मान्ने देवताबीचको सम्बन्ध हुने गर्दछ । दोस्रो, धर्मको सार्वजनिक व्यापकता जहाँ धर्म आफैमा एउटा सामाजिक संस्था हुने गर्दछ अनि धर्मले समाजलाई नियन्त्रण गर्न खोजेको हुन्छ । धर्म स्वंय शक्तिशाली बने पछि र त्यसअन्तर्गत धेरै अनुयायी भए पछि धर्मले दोस्रो रुप लिने गर्दछ । सामाजिक व्यापकता भएको धर्मले संगठन बिस्तार गर्दछ र सामाजिक क्रियाकलालाई दिशाानिर्देशन गर्ने गर्दछ ।
बीसौं शताब्दीको शुरुतिरबाट बन्न थालेको हिन्दुत्वको व्यक्तिगत धर्ममा कम मात्र प्रभाव छ । हिन्दुत्व विचार स्वंयले हिन्दु धर्मलाई धर्मकै रुपमा पुनव्र्याख्या गर्ने प्रयास गरेको छैन । तर त्यसले धर्मले अभ्यास गर्ने सामाजिक नियन्त्रणलाई भने पुनव्र्याख्या गरेको छ । तसर्थ त्यहाँ सामूहिक पुजाआजा भए । हिन्दुत्वसँग जोडिएका सामाजिक अभ्यासको कानुन बनाउने परिषद्हरु अब्राहमिक धर्महरुले जस्तै धर्मको ऐतिहासिकता र तिनका प्रमुख प्रणेताहरु माथि विश्वास गर्ने गर्दछ । छोटोमा भन्दा धर्ममा आज जस्ता आभूषणहरु लगाइएका छन्, ती पहिला थिएनन् । पहिला सबै धार्मिक सम्प्रदायमा त्यस्ता चासो थियो । तर हिन्दुत्वले हिन्दुधर्मलाई सबैको साझा पोशाक बनाउन खोजेको छ । सबै धार्मिक समुदायलाई समेटेर हिन्दुधर्मलाई एकात्मक धर्म बनाउन खोजिंदैछ ।
हिन्दु धर्म र अरु धर्मबीचको एउटा रोचक भिन्नता के हो भने हिन्दु धर्मले आफ्नो ऐतिहासिकतालाई विभिन्न धार्मिक सम्प्रदायको सृजना, अस्तित्व र विकासमार्फत् व्यक्त गर्ने गर्दछ । यसले हिन्दु धर्मलाई समृद्ध बनाएको थियो र हिन्दुधर्मलाई खुला र बहुल बनाएको थियो । पुराना दिनहरुमा हिन्दुधर्मको खुलापना विशेषता मानिन्थ्यो र सङ्कीर्णतालाई जातसँग मात्र सीमित राखिएको थियो । हिन्दुत्वले सिङ्गो हिन्दुधर्ममा त्यो सङ्कीर्णता थोपर्न खोजेको छ । सामाजिक संगठन तथा राजनीतिक परिचालनका परेड, आइतबारे विद्यालय र त्यस्तै गतिविधिमार्फत् यस्तो सङ्कीर्णतामा जोड दिन खोजिएको छ । त्यही भएर मैले हिन्दुधर्मलाई ‘एकाधिकारी धर्म’ भन्ने गरेको छु । हिन्दुत्वले स्वंयलाई सङ्कटग्रस्त हिन्दुधर्मको संस्करण भन्ने गरेको छ । हिन्दु धर्मले परम्परागत हिन्दुधर्म त्यागेको हुनाले त्यसलाई सङ्कटग्रस्त मानिएको हो ।
अनुवादःनीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *