भर्खरै :

जथाभावी सहिद घोषणा गर्दा वास्तविक सहिदको अवमूल्यन

जथाभावी सहिद घोषणा गर्दा वास्तविक सहिदको अवमूल्यन

भक्तपुर, ९ फागुन । भक्तपुर नगरपालिका वडा नं. ७ को कार्यालयले ऐतिहासिक जनआन्दोलन २०४६ मा वीरगति प्राप्त गर्ने सहिदहरूको सम्झनामा बिहीबार सहिद दिवस कार्यक्रम गयो ।
कार्यक्रममा भनपाका प्रमुख सुनिल प्रजापतिले विभिन्न राजनैतिक दलहरूले शक्तिको आधारमा जथाभावी सहिद घोषणा गर्दा वास्तविक सहिदको अवमूल्यन भएका धेरै उदाहरणहरू छन् भन्नुभयो । भक्तपुरमा जस्तै सबैले राम्रोसँग काम गरेको भए देश स्वाभाविक रूपमा विकास हुने अभिव्यक्ति दिन थालेको चर्चा गर्दै उहाँले अन्न निर्यात गर्ने देश अब हरेक खानेकुरा आयात गर्नुपर्ने अवस्थामा पुगेको छ भन्नुभयो ।
देशमै रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उहाँले शासक दलहरूले तमाम युवाहरूलाई विदेश जान बाध्य पारेर देश कसरी विकास हुन्छ भनी प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, “सबैलाई निःशुल्क शिक्षा, स्वास्थ्य सुविधा र सुनिश्चित रोजगारीको व्यवस्था नै सहिदहरूको वास्तविक सपना हो । सहिदको सपना पूरा गराउन जनताले जिताएर पठाएका शासक दलका नेताहरू सिंहदरबार पुगेपछि सत्ताको लोभमा डुब्दा देश रसातलमा परेको हो । सहिदहरूको सपना साकार पार्न नै विद्यालय, अस्पताल खोल्यौँ, विश्वविद्यालको स्वीकृति माग्यौँ ।”
कार्यक्रमका सभापति, नेमकिपाका केन्द्रीय सदस्य एवं भनपा ७ नं. वडाका वडाध्यक्ष उकेश कवांले हरेक शासकले जनतालाई दुःख दिएको पाइन्छ भन्नुभयो । जनविरोधी शासक दल र सरकारहरूले ८० लाख युवालाई विदेशमा पठाएकै कारण हामीले विदेशबाट अन्न आयात गर्न बाध्य भएको उल्लेख गर्दै उहाँले राजनीतिक परिवर्तनसँगै शैक्षिक, आर्थिक परिवर्तन पनि हुने भएकोले मजदुर र किसानको हक अधिकार स्थापित गर्नको लागि सबैले सङ्घर्ष गर्नुपर्ने आवश्यकतामाथि प्रकाश पार्नुभयो ।
कार्यक्रममा नेमकिपा भनपा ७ वडा समितिका अध्यक्ष बलराम गोसाईले पञ्चायती व्यवस्था, पञ्चहरूको जनविरोधी कदम र दमनको कुरा, आन्दोलनको विषयमा नयाँ पुस्तालाई विभिन्न माध्यमबाट बोध गराउनुपर्ने विचार व्यक्त गर्नुभयो । वि.सं. २०४६ सालको ऐतिहासिक जनआन्दोलनका घाइते योद्धा राजेन्द्र दुमरुले भक्तपुर काण्डमा भक्तपुरका जनता पञ्चायती दमनको भुक्तभोगी भएकाले पञ्चायतलाई ढाल्ने एकमनले जनता सडकमा उत्रेको कारण पञ्चायत धरासायी भएको स्मरण गर्नुभयो ।
सहिदहरूको तस्बिरमा माल्यार्पण गरी सुरु भएको उक्त कार्यक्रममा वडा सदस्य हेरा ख्याजुले स्वागत मन्तव्य राख्नुका साथै वडा सदस्यहरू हरिरत्न गोर्खाली र रञ्जना त्वातीले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *