भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
काठमाडौँ, ९ फागुन । २० फेब्रुअरी २०२५ मा सोभियत रुसी अल्मुन्याइहरूको संस्था मित्रकुञ्जको थिङ्क ट्याङ्क कमिटीद्वारा ‘नेपालको संस्कृति र सम्पदाको पहिचान’ संवाद कार्यक्रम रुसी सदन काठमाडौँमा आयोजना भयो ।
मित्रकुञ्जका उपाध्यक्ष तथा थिङ्क ट्याङ्क कमिटी सदस्य सचिव ई. रामविन्दु श्रेष्ठले हजारौँ विज्ञहरूको पुञ्ज मित्रकुञ्ज आफैमा राष्ट्रको एउटा थिङ्क ट्याङ्क भएको भन्दै कार्यक्रमको महत्व र प्रस्तुतकर्ताहरूको परिचय दिनुभयो ।
कार्यक्रमको सुरुमा वरिष्ठ इन्जिनियर एवं बहुआयामिक विज्ञ इन्जिनियर बदनलाल न्याछ््योले मुलुकको सम्पदाको वस्तुस्थितिबारे प्रकाश पार्नुभयो । उहाँले भन्नुभयो, “स्वयम्भूले दुई आँखाको अर्थ उसले नझिम्काइकन हाम्रा गतिविधि नियालिरहेको छ । नेपाल बौद्धयान, शैवयान, वैष्णवान सबै मिलेर उपत्यकालाई बस्न योग्य बनाउन सहअस्तित्वको अभ्यास गरेको देश हो, संसारमा कही नभएको मूल्य मान्यता भएको देशको सम्पदालाई संरक्षण गर्नुपर्छ ।”
सरकार र सरोकारवालाहरूको बेवास्ताबाट अलपत्र नमुनाहरूको दृष्टान्त प्रस्तुत गर्दै न्याछ्योले जीवन्त प्रमाण नष्ट गरी इतिहास मेटाउने देश बन्न दिनु हुँदैन, सम्पदाको खरानीमाथि विकास उभिन सक्दैन भन्नुभयो ।
उहाँले काठमाडौँका मन्दिरहरू जोखिममा रहेको र युनेस्कोले समेत उपत्यकालाई विश्व सम्पदा सूचीबाट हटाउन सकिने बारम्बार चेतावनी दिइरहेको भन्दै संस्कृति र सम्पदा संरक्षणका कमी कमजोरीहरूको विश्लेषण प्रस्तुत गर्नुभयो ।
सम्पदा संरक्षणका लागि निर्माण व्यवसायी छनोट गर्दा हतारहतार र ठेक्कापट्टा घटाघट गर्ने प्रणाली घातक रहेको, धेरै विश्व प्रसिद्ध सम्पदाहरू पुनर्निर्माण गर्दा हचुवाको आधारमा गरिएकोले तिनले आफ्नो मूल स्वरूप गुमाएको, उपत्यकाकै तीन नगरपालिकाहरूबिच समन्वयको अभाव भएको, सार्क सम्मेलनको क्रममा बहुमूल्य मूर्तिहरू सफा गर्दा एसिड प्रयोग गरी चिरा परेका कुराहरू पाठको रूपमा लिनुपर्ने उहाँको कथन थियो । उहाँले पुराना सम्पदाको पुनर्उत्थान गर्दा नोट्रेडाम फ्रान्स र कोरियाको र नेपालको चण्डेश्वरी मन्दिर र पुल्चोकको पाटीबाट पाठ सिक्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सम्पदाको पुनर्निर्माण र पुनस्र्थापन गर्दा डिजाइन चरणदेखि नै इन्ची इन्चीको नक्सा तयार गरी संस्कृति तथा सम्पदासँग सरोकार राख्ने व्यक्तिहरूसँग लामो छलफल गरी कार्यान्वयन गर्दा सम्पदाले जीवन्तता पाउन सक्दछ । दीर्घकालीन नीतिगत सुधार गर्नुपर्छ । युनेस्को सूचीकरणका लागि मूर्त तथा अमूर्त सम्पदाको सूची तयार गर्नुपर्छ । सबै पूर्वाधार तथा सहरी विकास परियोजनाहरू कार्यान्वयन गर्दा सम्पदामा हुने प्रभाव मूल्याङ्कन अनिवार्य गर्ने, राष्ट्रिय सम्पदा परिषद् स्थापना गरी एकद्वार प्रणालीबाट कार्य गर्नुपर्छ ।”
वरिष्ठ इतिहासविद् प्रोफेसर एवम् अनुसन्धानकर्ता डा. पुरुषोत्तमलोचन श्रेष्ठले संस्कृति र सम्पदाको पहिचान र संरक्षणको विषयलाई प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्म पाठ्यक्रमको रूपमा राख्नुपर्छ भन्नुभयो ।
रुसी सदनकी पुस्तकालय विभाग प्रमुख भावना न्यौपानेले पुस्तकालय र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी हालैमात्र आफूले हासिल गरेको अन्तर्राष्ट्रिय सेमिनारका अनुभव सहभागीहरूलाई सुनाउनुभयो ।
थिङ्क ट्याङ्क कमिटीका संयोजक काठमाडौँ विश्वविद्यालयका प्रोफेसर डा. गजेन्द्र शर्माले दुवै विद्वत् वर्गको भनाइलाई संश्लेषण गर्दै निचोडात्मक प्रस्तुतिसँगै धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा मित्रकुञ्ज अध्यक्ष सुष्मा खत्री रञ्जितले दुवै प्रस्तोतालाई मायाको चिनो प्रदान गर्नुभयो ।
उक्त कार्यक्रममा मित्रकुञ्जका महासचिव कर्णेल (रिटायर्ड) ई. सन्जय श्रेष्ठले पनि बोल्नुभएको थियो ।
Leave a Reply