भर्खरै :

गणतान्त्रिक नेपालको अवस्था

पुँजीवादको खराबी र समाजवादको राम्रो पक्षबारे जानकारी नहुँदा आज ‘गणतान्त्रिक नेपालको अवस्था’ देखेर साधारण जनता अहिले पुँजीवादी शासक दलहरूबारे सचेत हुँदै छन् । यी शासक दलहरूले ‘पुँजीवाद धनीहरूको तानाशाही हो’ र ‘समाजवाद भनेको ‘कामदार वर्गको शासन हो’ भन्ने राम्ररी बुझाउन नसक्दा बुद्धिजीवी, युवा, विद्यार्थी, निम्नमध्यम वर्ग र किसान जनतामा ठुलो निराशा देखिएको छ । राजनीतिक दलका नेता–कार्यकर्ताहरूले जनतालाई राजनीतिक व्यवस्थाबारे इमानदारीपूर्वक प्रस्ट जानकारी दिएका भए शासक दलहरूको विरोधमा यति ठुलो अविश्वास हुने थिएन । समाचारका शीर्षकहरू देखेर पाठकहरू झस्कने गर्छन् – केही उदाहरण –
‘किन बढ्छन् बर्सेनि भ्रष्टाचार गर्ने कर्मचारीहरू ?’ तीन वर्षमा ११ सय ९० विरुद्ध मुद्दा ।’, नेपाल समाचारपत्र, ६ फागुन २०८१
संरा अमेरिकी इसारामा इजरायलले प्यालेस्टिनी जनतामाथि गरेको अत्याचार हेर्दा र सुन्दा बुद्धिजीवी र तटस्थ जनताले ‘इजरायलसँग तत्काल नेपालले कूटनीतिक सम्बन्ध विच्छेद गर्नुपर्ने’ अनुमान गर्छ ।
तर समाचार पढ्न पाइन्छ – ‘एक हजार नेपाली कामदार आजदेखि इजरायल जाँदै !’, (नागरिक दैनिक, ६ फागुन २०८१)
मानौँ नेपाल अमेरिकी र नाटो देशको एक सदस्य हो र नेपाली जनता बलिका बोका हुन् । यसअघिको सरकार यति निर्दयी र नाटोको पिछलग्गू थिएन । बरु नेपाल सरकारको परराष्ट्र मन्त्रालय, विभाग र राजदूतावासका कर्मचारीहरूको नामनामेसी र तिनीहरूले प्राप्त गरेका शिक्षाका विश्वविद्यालयको जानकारी पाए विश्लेषण गर्न सजिलो हुने जानकारहरूको मत छ ।

XXX

नेपाली जनता कूटनीतिमा कति राम्रा र जानिफकार हुन्, जुन देशसँग अनुदान र निर्माणका योजनाहरू माग्छन्, योजनापछि ती देशसँग सफाइ र मर्मत सम्भार गर्न तथा कर्मचारीहरूलाई तलब दिन पनि सहयोगी देशसँगै पैसा माग्छन् । अहा ! क्या राम्रो कूटनीति ?! लाजशरमको पनि एउटा सीमा हुन्छ !
६ फागुन २०८१ को ‘अन्नपूर्ण’ को एउटा समाचार शीर्षक थियो – ‘बीपी राजमार्ग मर्मत गरिदिन जापान सरकारलाई आग्रह !’
भारतमा ठुलठुला मन्दिर र मेलामा एउटै परिवारले दर्जनका दर्जन केटाकेटीलाई बिरामी देखाएर ठुलठुला अक्षरले लेखेका हुन्छन् – ‘मेरा सन्तानहरू भोका र प्यासा छन्, उपचार गर्न पैसा छैन, कृपया केही रकम दिनुहोला – तपाईं दाताहरूलाई धेरै धर्म लाग्छ ।’ सार्वभौम राज्यको यो एक तथ्य हो । सिंहदरबारका कूटनीतिज्ञ भन्नेहरूलाई के लाज लाग्दैन ? दुर्भाग्य !

XXX

मित्रराष्ट्र अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘नेपाललाई सङ्घीयताको नाममा गरिएको सहयोग ठगी हो ।’ (अन्नपूर्ण पोष्ट, ८ फागुन २०८१ ।)
नेपालको आजको संसद्मा सबभन्दा ठुलो संसदीय दल नेपाली काङ्ग्रेस हो† यो दल सबभन्दा पुरानोमध्ये पनि एक हो र सबभन्दा बढी शासन गर्ने दल पनि हो ।
प्रजातन्त्र र गणतन्त्रका एक अभिभावक सम्झिएका राजनीतिक दल पनि नेपाली काङ्ग्रेस नै हो भनी दाबी गर्नेहरू कम छैनन् । तर, पार्टी सभापति देउवासँग गएर बिन्ती बिसाउँछन्, ‘हजुरबाट उत्तराधिकार तोकी पाऊँ !’
यसकारण, ६ फागुन २०८१ को ‘कान्तिपुर’ ले लेख्यो, “काङ्ग्रेसमा ‘स्वस्फूर्त’ कि ‘बक्सिस’ को नेतृत्व ।”
संसद्मा राजतन्त्रबारे घोचपेच
केही दिन अगाडि पूर्वराजा ज्ञानेन्द्रको एक वक्तव्यबारे फागुन ११ गते संसद्मा विभिन्न दलहरूले राजतन्त्रको पुनः स्थापना; पुनःस्थापनाको पक्ष र विपक्षमा गरेको सैद्धान्तिक दृष्टिकोणबारे बजारमा चर्चा चल्यो । ‘शाहको अभिव्यक्तिले राजावादी उत्साही’ शीर्षकमा ‘राजधानी’ ले फागुन २०८१ मा एक जानकारी दियो । छलफलले इतिहासका पानाहरू पल्टाउँदै जानु दुवै पक्षको अभ्यासले देशको वास्तविकता पुष्टि हुँदै जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *