अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
अन्तर्राष्ट्रिय राजनीतिमा ऋण दिने एक देश संरा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र एक ऋणी देश युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीबिच सार्वजनिक वार्तामा भएको ‘चर्काचर्की’ लाई नेपालका धेरै समाचारपत्रहरूले अनेक शीर्षकहरू दिएर १८ फागुन २०८१ मा लेखे ।
१९ फागुन २०८१ को दिन एक समाचारपत्रले ‘कूटनीतिमा खराब कीर्तिमान’ शीर्षकमा ‘विश्वमा कूटनीतिक मर्यादालाई मजाक’ बनाएको, ‘प्रोटोकल उल्लङ्घन संसारकै लागि रमिता’ भएकोे उल्लेख गरी सम्पादकीय लेख्यो ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सलाई साथमा राखेर ट्रम्पले जेलेन्स्कीलाई ‘हायलकायल’ बनाएको उल्लेख गर्दै आक्रोशित जेलेन्स्कीको गैरकूटनीतिक पोशाक, हात बाँधेर बोल्ने शैली र उनको ‘गैरकूटनीतिक आँट’ पनि त्यस चर्काचर्कीको कारण बताइयो ।
त्यस घटनाले साम्राज्यवादी देशहरूमाझ शक्तिशाली र कमजोर, धनी र गरिब देशबिचको भेदभाव प्रस्ट देखियो । देश सानो वा ठुलो, साम्राज्यवादी र उपनिवेश क्षेत्रफलको तुलनाले हुँदैन, कुनै देश साम्राज्यवादी हो होइन भनेर बुझ्नको निम्ति अमुक देशको अर्थतन्त्र र त्यसको नियतसँग सम्बन्धित हुन्छ । उदाहरणको निम्ति क्षेत्रफल र जनसङ्ख्याको हिसाबले सानो बेलायतले १८ औँ शताब्दीमा भारत जस्तो आकार र जनसङ्ख्यामा ठुलो देशलगायत अन्य ठुला देशहरूलाई २०० वर्ष उपनिवेश बनायो । युरोपेली साम्राज्यवादी देशहरूले १५ औँ र १६ औँ शताब्दीदेखि नै आफ्नो आक्रामक चरित्र देखाउन सुरु गरे र उपनिवेशहरू बनाए ।
चीनजस्तो क्षेत्रफल र जनसङ्ख्याको हिसाबले ठुलो देशलाई १४ वटा साम्राज्यवादी देशहरूले १८ औँ र १९ औँ शताब्दीसम्म अर्धउपनिवेश बनाए । युक्रेन सोभियत सङ्घको सबभन्दा सम्पन्न राज्य वा राष्ट्र थियो । यस अर्थमा त्यो राज्य प्राकृतिक र भौतिक विकासमा अगाडि बढेको देश हो । त्यसैलाई साम्राज्यवादी देशहरू (संरा अमेरिका र नाटो देशहरू) ले मिलेर युक्रेनलाई रुसका दुई गणतन्त्र देशहरूमाथि छद्म युद्ध घोषणा गर्न लगाए । अर्को भाषामा युक्रेनको काँधमा बन्दुक बिसाएर संरा अमेरिका र नाटो देशहरूले रुसमाथि आक्रमण गरे ।
नेपालका बुद्धिजीवी समुदाय, पुँजीवादी राजनीतिक दल र सरकारहरूले त्यहाँको सच्चाइलाई थाहा पाएर वा नपाएर ‘रुसले आक्रमण गरेको’ भनी पत्रपत्रिकामा लेखे । दुुई वर्षसम्म पश्चिमी प्रचारमाध्यमहरूले युक्रनेले दुई रुसी बहुल गणतन्त्रहरू दोनेत्स्क र लुहानमाथि गरेको हमलाबारे गुपचुप राखे । यसकारण, आज पनि नेपाली पत्रपत्रिकाहरू रुसले पहिले आक्रमण गरेको गलत अर्थ लगाउँदै छन् ।
ट्रम्प र जेलेन्स्कीको ‘तीतो वार्ता’, ‘मजाक’, ‘रमिता’, ‘नोकझोक’ होइन बरु युक्रेनी पक्षले संरा अमेरिका र नाटोले आफूलाई युद्धमा फसाएको र वचनअनुसार सहयोग नगरेकोमा जेलेन्स्कीको अडान – साहुको ब्याजबाट आजित पीडित ऋणीको विलापमात्र हो । मालिक–साहुको धम्कीबाट ‘आक्रोशित’ परिस्थितिका घाइते सिकार अथवा ‘ट्रम्पद्वारा अपमानित जेलेन्स्कीलाई बेलायतमा भव्य स्वागत’ भयो । (नयाँ पत्रिका, १९ फागुन २०८१) । नेपाली जनतालाई आफूले भोगेको ‘बेलायती कैँची’ कस्तो हुन्छ, थाहा भएकै विषय हो । तर, ट्रम्प र जेलेन्स्कीको भनाभन र चर्काचर्की न ‘नोकझोक’ हो न त ‘मजाक’ र ‘रमिता’ । बरु, त्यो एउटा ठुलो राष्ट्र अहङ्कारवादको नमुना हो, सानो देशमाथिको हप्की–डप्की । यसबारे नेपाली कूटनीतिज्ञ र शासकहरू भारतीय शासक तथा नेताहरूबाट हुने ‘फट्कार’, ‘हप्की’, ‘धम्की’ बारे भुक्तभोगी नै छन् ।
१८ फागुन २०८१ को ‘अन्नपूर्ण पोष्ट’ मा तस्बिरसहितको शीर्षक थियो, ‘ट्रम्प–जेलेन्स्कीको वाक्युद्ध’, विश्व कूटनीतिकै उपहास’ ‘नयाँ पत्रिका’ को शीर्षक थियो । ‘ह्वाइट हाउसमा ट्रम्प–जेलेन्स्की नेपाल समाचारपत्रको शीर्षक थियो – ‘ट्रम्प–जेलेन्स्कीबिचको भनाभनपछि के होला युक्रेनको भविष्य ?’ ‘अमेरिकासम्बन्धी युरोपेली नीति अस्पष्ट ।’ १८ फागुनकै ‘कान्तिपुर’ ले लेख्यो – ‘ह्वाइट हाउसमा पाहुनाको अभूतपूर्व अपमान’ तस्बिरसहित दियो ।
नेपाली कूटनीतिज्ञ, नेता र अर्थमन्त्रीले यो पाठबाट सिक्नुपर्ने हाम्रो विचार छ । अर्काको नुनमा पालिनु हुन्न, नेपाली जनताले अरूसँग माग्ने होइन आफ्नै खुट्टामा उभिनुपर्छ ।
Leave a Reply