भर्खरै :

कोही बर्बराउँदैमा के काग सेतो हुन्छ ?

 
-चम्पा
केही समय अगाडि बजारमा एमाले नेता वामदेव गौतमले नेपाल नवनिर्माण महाअभियान नामक एउटा चुट्किलाको ठेली प्रकाशित गरेका छन् । आँखा देख्ने र वास्तविकताको धरातलमा उभिने सम्पूर्ण नेपाली यस पुस्तकको अध्ययनबाट पेट मिचिमिचि हाँस्नेछन् । कतिले पुस्तक भित्रको अस्वाभाविक र पूर्ण काल्पनिक तर्कहरूले वामदेवको मानसिक स्वास्थ्यमाथि चिन्ता व्यक्त गरेका छन् । बिल्कुल अमुर्तताको आख्यानजस्तो उक्त पुस्तकको नाम कल्पनालोक अथवा सपनालोक राखेका भए पाठक झुकिंदैनथ्यो । आफ्नो अस्वाभाविक बर्बराहटले पाठकलाई केही समय अल्मलाउने र समय बर्बाद गर्ने बाहेक केही नहुने देखिन्छ । नयाँ पत्रिकामा पुस १५ मा प्रकाशित उक्त पुस्तकको परिचयात्मक लेख मात्र पढ्ने पाठकहरूले पनि भन्दै थिए –‘खुस्क्यो कि क्या हो बुढा !’ गएको चुनावमा वामपन्थी गठबन्धनले जनताबीच ल्याएको महत्वाकांक्षी घोषणापत्र र यस किताब दुई आंैलाको पनि फरक छैन । हावामा महल बनाउन बामदेवले कुनै कसर बाँकी नराखेको देखिन्छ । अर्थशास्त्री, राजनीतिज्ञ, बुद्धिजीवी, लेखकहरूलाई पनि जिल्ल पार्ने उनको लेखमाथि केही चर्चा गरौं ।
वामदेवजीको नयाँ युग निर्माणको कल्पनाले नेपाली जनताको अहिलेको आर्थिक, सामाजिक, राजनीतिक अवस्थाको सम्बोधन गरेको छैन । भोलिको नेपाल आजसँग जोडिन्छ र हिजो सँग पनि । यात्रुहरूलाई गन्तव्यमा पुग्नको लागि जसरी असल चालकको आवश्यकता पर्छ त्यसरी नै सुसंस्कृत, सभ्य र आदर्श समाज निर्माणको लागि देशमा पनि असल नेतृत्वको आवश्यकता पर्दछ । पटक–पटक एमाले, कांग्रेस र माओवादी सरकारमा गइ देशको नेतृतव गरे । गाँसेगुँसे एकैनासे भनेझैं कसैले पनि जनता र देशलाई प्राथमिकतामा राखेनन् । आज आएर वामपन्थी गठबन्धनको सरकार गठन हुने देखिएपछि ‘अब त नेपाली विशेषतायुक्त समाजवादको निर्माण हुन्छ र गौरवबोधले ओतप्रोत नेपाली समाज निर्माण हुन्छ’ भनी उफ्रनुको अर्थ के ? माक्र्स र लेनिनले देखाउनुभएको समाजवाद तर नेपालमा फरक तरिका वा बाटोबाट निर्माण गर्ने भन्नुको तात्पर्य के ? शान्तिपूर्ण संक्रमणको कुरा त गर्न खोजेका होइनन् वामदेवजीले ? स्मरणरहोस् इतिहासमा संशोधनवादीहरू सदा जनताको अन्तर्राष्ट्रिय अदालतमा नाँगिएका छन्, बहिष्कृत भएका छन् ।
हिजो एमाले नेताले नै ल्याएको जबज नीति संशोधनवादी नीति हो भन्ने प्रमाण त नेपालको भताभुङ्ग कम्युनिष्ट आन्दोलन नै हो । आज पनि एमालेले त्यही पथ अँगाल्न नछोड्नु नेपाल र नेपाली जनताको लागि ठूलो दुःख र बिडम्बनाको कुरा हो । वामपन्थी अवसरवाद र दक्षिणपन्थी अवसरवाद, अराजकतावादको धरालतमा उभिएको एमाले र माओवादीको पार्टी एकताको कुरा भइरहँदा के यो दुध र कागतीको एकता त हुने होइन भन्ने आशंका बुद्धिजीवीहरूले गर्न थालेका छन् । अब यस्तो एकताबाट महाअभियान थाल्ने सोच राख्ने वामदेवजीको बुद्धि कुन स्तरको हो छर्लङ्ग हुन्छ । अभूतपूर्व आर्थिक समृद्धिको नेपाल राष्ट्र निर्माण गर्ने वामदेवजीको तर्क एक सिनको पनि वैज्ञानिक र व्यवहारिक छैन ।
अहिले नेपालको कुल बजेट रु. १२७९ खरबको छ । जसमा चालु खर्चमात्र ६२.८३ प्रतिशत पूँजीगत खर्च २६.२१ प्रतिशत र वित्तीय व्यवस्थापन खर्च १०.९७ प्रतिशत छ । वामदेवजीले महाअभियानका लागि करिब रु. ५१७३ खरब (५०० अर्ब अमेरिकी डलर) लगानी गर्ने भनेका छन् । यो रकम हालको कुल बजेटभन्दा कति हो कति गुणा ठूलो हो । यति ठूलो लगानी कहाँबाट जुट्छ स्रोत खुलाइएको छैन । वैदेशिक ऋण र सहायताको भार बढेर यस्तो सानो देशले थाम्न नसक्ने अवस्था भइसकेको छ । भर्खर जन्मेको बच्चादेखि सम्पूर्ण नेपाली जनता २९ करोड ४ लाख ९७ हजार ९ सय ९७ जनसंख्याको टाउकोमा २४ हजार १ सय ४७ रुपैयाँको ऋण भार छ । अझ पनि विदेशीसामु लम्पसार परेर, मागेर देशको लगानी बढाउने सुरमा त छैनन् वामदेवजी ? यदि त्यस्तो हो भने याद रहोस्, अरुसँगको भिक्षाटनले देश कदापि सार्वभौम र विकसित हुनसक्दैन । आफ्नै खुट्टामा उभिने अर्थतन्त्रको विकास आजको टड्कारो आवश्यकता हो ।

नयाँ पत्रिकामा पुस १५ मा प्रकाशित उक्त पुस्तकको परिचयात्मक लेख मात्र पढ्ने पाठकहरूले पनि भन्दै थिए –‘खुस्क्यो कि क्या हो बुढा !’ गएको चुनावमा वामपन्थी गठबन्धनले जनताबीच ल्याएको महत्वाकांक्षी घोषणापत्र र यस किताब दुई आंैलाको पनि फरक छैन । हावामा महल बनाउन बामदेवले कुनै कसर बाँकी नराखेको देखिन्छ ।

 
महाअभियानको १० औं वर्षमा प्रतिव्यक्ति आम्दानी ५ हजार अमेरिकी डलर पुग्नेछ भन्ने निराधार अनुमान गरिएका छन् । २०० अर्ब अमेरिकी डलर लगानीबाट प्रतिवर्ष २० प्रतिशत आर्थिक वृद्धिदर हुने जिकिर गरेका छन् । आर्थिक उँचाइ त्यतिमा सीमित नभइ निरन्तर द्रुत गतिमा बढिरहने दावा समेत गरेका छन् । महाअभियानको ३० औं वर्षमा ३० हजार अमेरिकी डलर प्रतिव्यक्ति आत्न्दा धेरै पुग्ने फलाकोबाजी गरेका छन् । उनको कल्पनालोकबाट वास्तविकतामा झर्ने हो भने हाल नेपालको प्रतिव्यक्ति आम्दानी करिब ८ सय अमेरिकी डलर छ, प्रत्येक वर्षको आर्थिक वृद्धिदर ४ प्रतिशत मात्र हो । ३० वर्ष पछाडिको परिकल्पना गर्ने वामदेवजीलाई थाहा हुनुपर्छ आजभन्दा ३४ वर्ष अगाडि नेपालको आर्थिक वृद्धिदर ९.६ प्रतिशत थियो भने २४ वर्ष अगाडि ८.२ प्रतिशत र आज ७.५ प्रतिशत छ (आर्थिक सर्वेक्षण नेपाल) । नेतृत्व उही, राजनीति संस्कार उही, अनि कसरी पुग्छ ३० वर्षपछि २० प्रतिशतको आर्थिक वृद्धि ? कसरी पुग्छ ३० हजार अमेरिकी डलर प्रतिव्यक्ति आम्दानी ? यसको जवाफ सायद वामदेवजीसँग नहोला ।
नेपाललाई औद्योगिक राष्ट्र बनाउने कल्पना ढोङ्ग सिवाय केही होइन । उनकै पार्टी सरकारमा रहँदा देशका ठूल्ठूला उद्योगहरू कौडीको मोलमा भारतलाई सुम्पेको र निजीकरण गरेको साँचो कुरा कसरी भुल्न सकेका होलान् । कृषिलाई औद्योगिकरण गर्ने त देश कृषिमा आत्मनिर्भर र स्वावलम्बी हुनु जरुरी छ । नेपालमै मल कारखाना स्थापनाको कुरा उठ्दा हुन्न भनेर ज्यादा उफ्रने एमाले नै थियो । वर्षेनी रसायनिक मलको अभावले नेपालका किसानहरू समस्यामा पर्ने गरेको स्थिति छ । पर्याप्त मलको आपूर्ति समेत नभइरहेको बेला वामदेवजी पूर्ण प्राकृतिक र प्राङ्गारिक तवरबाट खाद्यान्न उत्पादन गर्ने भनी चिच्याइरहेका छन् ।
सडक, बजार, जनशक्तिको अभावमा कति खेतीयोग्य जमिन बाँझो छ । देशको मेरुदण्ड मानिने कृषि क्षेत्रको कुल ग्रार्हस्थ उत्पादनमा २८.९ प्रतिशत मात्र योगदान छ । कृषि उत्पादन र खाद्यान्न निर्यातमुखी बनाउने योजनालाई नेपालको कुल व्यापार घाटा ८ खरब ७४ अरब ५ करोडले गिज्याइरहेको छ । अब नेपाल कृषिप्रधान हो भन्न पनि लाज भइसक्यो । मुलुकको आधाभूभागमा घनाजङ्गल बनाउने रे ! हाल नेपालको वन क्षेत्र ३६३६० वर्ग किमिमा फैलिएको छ । यो कुल भू–भागको २५.३७ प्रतिशत मात्र हो । पहिले पो ‘हरियो वन नेपालको धन’ भन्ने उक्ति प्रचलित थियो । अब त ‘हरियो वन तस्करको धन’ भइसक्यो । चारकोशे झाडी नै वन तस्करीले बाँकी रहने हो वा होइन भन्ने शङ्का छ । अब त पर्यावरणीय प्रदूषण ठूलो चुनौती बन्दैछ । वामदेवजीको आधुनिक सुविधा सम्पन्न नगरको कल्पनालाई अहिलेको धुलाम्य, अष्तव्यस्त बस्तीहरूले व्यङ्ग्य गरिरहेको छ । पुरै देशलाई सहरीकरण गर्ने कुराले पाठकलाई भर्खरै जाजरकोटमा झाडापखालाका कारण ज्यान गुमाउनुपर्ने नेपालीहरूको सम्झना दिलाउँछ, आयोडिनयुक्त नुन नपाउँदा बागलुङको नीरीखोला गाउँमा पुरै गाउँभरि अपाङ्गता भएको र कालीकोटमा भाइरल ज्वलरेले मर्नुपरेको समाचारको स्मरण हुन्छ ।
१९.४ प्रतिशत मात्र सहरीकरण भएको वर्तमान स्थितिमा ९५प्रतिशत देश सहरमा रुपान्तरण गर्ने गफ पढ्दा चुनावमा मात्र गाउँ जाने र बाँकी समय राजधानीको भार बन्ने नेताहरूको अनुहार पाठकहरूले झल्झल्ती सम्झने पक्का छ । शिक्षा, स्वास्थ्य, पिउने पानी, आवास, सन्तुलित भोजन, मनोरञ्जन र खेलकूद जनताले निःशुल्क प्राप्त गर्नेछन् अरे! हिजो संसदमा स्वास्थ्य, शिक्षा निःशुल्क हुनुप¥यो, जनताको पहुँचमा लानुपर्यो भन्ने कुरा उठ्दा ‘हुन्न’ भनेर सबैभन्दा पहिला उठ्ने हातहरू एमालेकै थिए । आज आएर वामदेव बर्बराएर के काग सेतो हुन्छ ?
३ वर्षभित्र गरिबी अन्त्य गर्ने कुरा बकवास हो । आज करिब ८० प्रतिशत जनता सापेक्षित रुपमा गरिब छन् भने करिब २५ प्रतिशत जनता निरपेक्ष गरिब छन् । गाँस, बास, कपास पनि जुराउन नसकेर मर्न बाध्य छन् । विनोद चौधरी जस्तो धनाढ्य र भोकले मर्ने श्रमजीवी जनता दुवैको देश यो । आर्थिक असमानताको खाडल दिनप्रतिदिन फराकिलो बन्दै गरेको बेला कसरी समतामूलक समाज निर्माणको चमत्कार ३–४ वर्षमा सम्भव छ वामदेवजी ? तथ्य तथ्याङ्कसहितको विश्लेषण चाहियो ।
बर्सेनी १० लाख युवाहरू श्रम बजारमा आउँछन् । सरकारले काम दिन नसकेर धमाधम विदेशिन बाध्य छन्, खाडी मुलुकको प्रतिकुल मौसममा रगत पसिना बगाउन विवश छन् । उत्पादन श्रमसँग जोडिएको शिक्षा लागु गर्नुको सट्टा शासक दलहरू म्यानपावर कम्पनी खोलेर मानव बेचबिखनमा उद्यत रहँदै आएको पाठकको जानकारीमा छ । अनि स्वरोजगारको कुरा उही शासक दलका नेताले उठाउँदा पाठकमाझ हाँसो हुँदैन ? आज पनि नेपाली समाज छुवाछुत, भेदभाव, कुसंस्कार, अन्धविश्वासमा जकडिएकै छ, महिलाहरू बलातकृत हुन बाध्य छन्, कति त छाउ गोठमै मर्न विवश छन् । शिशु मृत्युदर २.१२ प्रतिशत छ । सरदर आयु ७१ वर्ष छ । बालश्रम शोषण उत्तिकै छ । ५ देखि १४ वर्ष सम्मका करिब २४ लाख ६७ हजार ५ सय ४९ जना बालबालिका श्रम बजारमा छन् । कुल जनसंख्यामा जम्मा ६३.९ प्रतिशतमात्र साक्षर छन् । अनि कसरी सम्भव छ एकाएक वामदेवको नयाँ सामाजिक, आर्थिक समृद्धि ?
समृद्ध भौतिक पूर्वाधारको निर्माण गर्ने अठोट समेत गरेका वामदेवजीले महाअभियानको अवधिमा ५८ हजार ८ सय ६८ मेगावाट विद्युत उत्पादन गर्ने, सम्पूर्ण देशलाई विद्युतीकरण गर्ने, विद्युतको बजारीकरण गर्ने योजना बनाएका छन् । सडक, यातायात अन्तर्गत १७ हजार किमि अत्याधुनिक राजमार्ग निर्मँणसँगै सबै पुराना राजमार्ग, सडक गरी ९८ हजार किमि मर्मत गरी अत्याधुनिक हुन्छ भनिएको छ, चुम्बकीय रेलमार्ग, मेट्रो रेल, विमानस्थल, जलमार्ग सबै सबै कल्पना गर्न भ्याएका छन् । तर हाल नेपालको उत्पादन गरिरहेको विद्युत ९७२.५ मेघावाट हो । देशका ठूल्ठूला नदीनाला भारतलाई सुम्पने दलका नेताले आज कुनै वैज्ञानिक आधारविना देशलाई विद्युतीकरण गर्नेभन्दा कसरी पत्याउने ? भूपरिवेष्ठित देशले पाउने पारवहन अधिकार समेत नलिने दलले जलमार्गको कुरा गर्दा पत्याउने आधार के ? ठेककापट्टामा चुर्लुम्म डुबेको एमालेले चुनावमै पनि ठेकेदार, गुण्डा, कालाबजारीयाहरूलाई उभ्याएको जगजाहेर छ । सडक, पुल, ठूल्ठूला भवनहरूको निर्माणमा ढिलासुस्ती हुनु र निर्माण गुणस्तरको नहुनुको पछाडि राजनैतिक संरक्षण नै हो । देशको सम्पूर्ण भौतिक निर्माणलाई भूकम्प प्रतिरोधक बनाउने भन्ने योजना पार्टीले पालेका र पार्टीलाई पालेका ती भ्रष्ट ठेकेदारहरूलाई नपच्ला कि वामदेवजी ? नेपाल भारतबीच रहेको खुला सिमानाको अवस्था सामप्त गर्ने रे !  यो त अति राम्रो कुरा उठाउनुभएको हो वामदेवजीले, तर नाकाबन्दीमा चुइक्क बोल्न नसक्नु, हालै वीरगञ्जको छपकैयामा भएको सीमा अतिक्रमणको विरोध नगर्नु, सिमानाको दशगजामा भारतीय एसएसबी फोर्स खुलेआम अन्तर्राष्ट्रिय कानुन विपरीत बस्ती बसाइरहँदा, भन्सार कार्यालय बनाउँदा लाटाले केरा हे¥याजस्तै हेरेर बस्नुले पुष्टि गर्छ कि वामदेवको देखाउने दाँत ‘महाअभियान’ र खाने दाँत एमाले हो ।
देश भ्रष्टाचारमुक्त बनाउने अरे! भएभरका भ्रष्टहरूको अखडा बनेको एमालेले नै नेपाललाई भ्रष्टाचारी देशको रुपमा कुख्यात बनाएको हो भन्दा फरक नपर्ला ! ट्रान्सपरेन्सी एजेन्सीको तथ्याङ्कअनुसार १७६ देशमा नेपाल १३१ मा पर्छ । भर्खरै केपी ओलीले स्वास्थ्योपचारका लागि १७ करोड १६ लाख देशलाई घाटा पार्यो भन्ने समाचार प्रकाशित छ । यही माघ १६ गते नेपाल चेम्बर्स अफ कमर्सको कार्यक्रममा खुलेआम ओलीले ‘अवैध धनलाई वैध हुन दिनुपर्ने’ बताएपछि सञचारजगतमा तहल्का मच्यो । गैरकानुनी क्रियाकलापबाट आर्जित सम्पत्ति शुद्धीकरण गर्ने प्रयासलाई गम्भीर आर्थिक अपराध मानी नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय पहल चलिरहेको बेला पूर्वप्रधानमन्त्रीसमेभ भइसकेका ओलीका मुखारविन्दुबाट त्यस्तो तल्लोस्तरको अभिव्यक्ति निस्कँदा के वामदेव सुतिरहेका थिए ? माघ २४ गतेको कान्तिपुर पत्रिकाले एउटा समाचार छाप्यो – शुद्धीकरण अनुसन्धान विभागले अवैध भनिसकेको व्यापारी अजेयराज सुमार्गीको २ अर्ब १९ करोड ८७ लाख ३ हजार १ सय ७७ रुपैयाँ फुुकुवा गरिदिएको छ । यी त देशको अर्थतन्त्रलाई भ्रष्ट र तहसनहस बनाउने केही प्रतिनिधि घटनाहरूमात्रै हुन् । यी र यस्ता अदृश्य घटनाहरू दिनप्रतिदिन बढेकै छ । मेडिकल माफिया, गुण्डागर्दी, ठेक्कापट्टा, अवैध गतिविधि, आपराधिक क्रियाकलापमा राजनीतिलाई डुबाउने एमाले, कांग्रेस, माओवादीको हातमा देश रहेसम्म नेपाली जनताले सुन्दर, सुसंस्कृत र आर्थिक, सामाजिक, राजनीतिक रुपमा समृद्ध नेपालमा बाँच्ने अवसर पाउने छैनन् । आमुल परिवर्तनको निम्ति जनताबाट उठेको क्रान्तिको आवश्यकता छ, समाजवादी क्रान्ति । वामदेवजीको महाअभियानले त जनतालाई आश्वासनको त्यान्द्रोमा झुन्ड्याएको हो भन्ने पुष्टि समयले जरुर गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *