भर्खरै :

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मणिग्राममा महिला भेला

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मणिग्राममा महिला भेला

बुटवल, २५ फागुन । ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ रूपन्देही जिल्ला समितिले शनिबार तिलोत्तमा मणिग्राममा महिला भेला तथा नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन सन्देश कार्यक्रम सम्पन्न ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी रूपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले वर्गसङ्घर्षलाई ओझेलमा पार्न खोज्ने प्रतिक्रियावादीहरूले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई ‘महिला दिवस’ मात्र भनेर मनोञ्जनको दिन बनाउन खोेजेको हुँदा मजदुर वर्गीय महिला आन्दोलनलाई अगाडि बढाउन कामदारवर्गका महिलाहरूलाई सचेत बनाउनुपर्नेमा जोड दिनुभयो ।
कामदार महिला वर्गलाई दबाउने शोषक र पुँजीवादी महिला वर्गविरुद्ध सङ्घर्ष गर्नुपर्नेमा जोड दिँदै उहाँले कामदार महिलाहरूलाई शिक्षा र रोजगारीको सुनिश्चितताका साथै व्यक्तित्व विकासमा समान अवसर दिलाउनको लागि समाजवादी आन्दोलन अगाडि बढाउनु अपरिहार्य छ भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनले समाजवादी गणतन्त्र प्रचार अभियानलाई जोड दिएको चर्चा गर्दै उहाँले २४० वर्षीय राजतन्त्र र ३५ वर्षदेखि पुँजीवादी प्रजातन्त्र (गणतन्त्र) भोगिसकेको हुँदा नेपाली जनता पाइला पाइला गरी पुँजीवादी जालझेललाई तोड्दै समाजवादी व्यवस्थातर्फ अगाडि बढ्ने प्रस्ताव महाधिवेशनले पारित गरेको बताउनुभयो ।
उहाँले संरा अमेरिकी साम्राज्यवादले आफ्नै करदाताको पैसाबाट अरु देशहरूलाई सहयोग गरेको नभई दक्षिणी गोलाद्र्धका देशको प्राकृतिक स्रोत, साधन, कच्चा पदार्थ कब्जा गरी धनी बनेको उल्लेख गर्दै कामदार जनताको शोषणबाट धनी बनेको साम्राज्यवादविरुद्ध दक्षिणी गोलाद्र्धको एकता समयसँगै बलियो हुँदै जाने महाधिवेशनले प्रस्ट पारेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ रूपन्देहीका अध्यक्ष सुशीला पौडेलले कामदार वर्गीय महिला आन्दोलन अगाडि बढाउन पार्टीको आठौँ महाधिवेशनले महत्वपूर्ण बल प्रदान गरेको छ भन्नुभयो ।
कार्यक्रममा सुग्रीम साहनी, समिर पोख्रेल, कला थापामगरलगायतले पार्टी महाधिवेशनबारे चर्चा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *